मन्दीले अपराध बढायो !

0
6

बैंकिङ कसूरका मुद्दा पछिल्लो समय व्यापक भइरहेको छ । प्रहरीले यस्ता मुद्दाको चाप दोब्बरभन्दा पनि बढी भएको जनाएको छ । आर्थिक वर्ष ०७९–०८० मा बैंकिङ कसूरका मुद्दा अघिल्लो आर्थिक वर्षको भन्दा एक सय ३५ प्रतिशतले बढेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो वर्ष बैंकिङ कसूरका १२ हजार छ सय ७२ वटा मुद्दा दर्ता भएका थिए । बैंकिङ कसूरका मुद्दा बढ्नुको मुख्य कारण आर्थिक मन्दी रहेको प्रहरीको भनाइ छ । बैंकिङ कसूरका मुद्दा मध्ये ९९ प्रतिशत चेक बाउन्स सम्बन्धी रहेको तथ्याङ्कलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

कतिपय चेक बाउन्सका मुद्दा आर्थिक अपराधसँग जोडिने गरेका छन् । विदेश पठाइदिने, जग्गा मिलाइदिने जस्ता बहानामा ठगी गरेका घटनासँग सम्बन्धित मुद्दा पनि बैंकिङ कसूरको दायराभित्र पर्ने प्रहरीले जनाएको छ । वैदेशिक रोजगार ठगीसँगै चेक बाउन्स बढेको प्रहरीको ठम्याइ छ । आर्थिक अभावका कारण थोरै रिण लिएर खाली चेक दिने अथवा पछि भुक्तानी हुने गरी चेक दिने तर निर्धारित समयमा बैंक खातामा चेकमा उल्लेख भएको पैसा नहुने जस्ता कारण पनि यही मुद्दामा पर्छन् । आर्थिक अपराधका यस्ता घटना दिनहुँ बढ्दै जानुमा आर्थिक मन्दीले उत्पन्न गरेको परिस्थिति नै हो । त्यहीकारण व्यापक भइरहेको यस्तो मुद्दा जिल्ला अदालतबाटै छिन्ने अधिकार दिइएको छ । तर, त्यस्तो प्रक्रिया खर्चिलो र लामो हुने हुँदा अहिले सिधै प्रहरीमा दर्ता हुने गरेको छ ।

देशव्यापी समस्याका रुपमा आएको बैंकिङ कसूरका मुद्दा झापामा पनि वृद्धि भइरहेको झापा प्रहरीले जनाएको छ । गत वर्ष दुई सय ४३ वटा मुद्दा दर्ता भएकोमा चालू आवको मंसीरसम्म ६५ वटा दर्ता भइसकेका छन् । जिप्रका झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालका अनुसार गत वर्ष १५० जना पुरुष र पाँच जना महिला उक्त मुद्दामा पक्राउ परेका थिए, अझै ९६ जना पुरुष र ४५ जना महिला फरार छन् । चेक बाउन्सका अपराध धेरैजसो लेनदेनसँग सम्बन्धित भए पनि प्रहरीको ठूलो जनशक्ति त्यसमै खर्च भइरहेको छ, जसका कारण प्रहरीलाई शान्तिसुरक्षा कायम गर्नेतर्फ चुनौती थपिएको छ । भुक्तानीका लागि दिइएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुँदा चेक बाउन्स हुन्छ । पर्याप्त पैसा नहुँदा, पटक–पटक फिर्ता हुँदा त्यसलाई बैंकिङ कसूर भनिन्छ । हामीकहाँ पछिल्लो समय यस्तो कसूरको दर बढिरहेको छ । यस्ता घटना बढ्नुका पछि सबैभन्दा ठूलो कारण आर्थिक मन्दी नै हो भने सहायक कारणहरुमा मानिसको विलाशितापूर्ण जीवन भोग्ने प्रवृत्ति हो । चार्वाकको भनाइ जस्तै ‘रिण लिएर घिउ खाने’ मानसिकताले यस्ता अपराध बढाउन मद्दत गरेका छन् । जसलाई रोक्न मानसिकतामै परिवर्तन ल्याउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here