थप्पड खाएकी पाकिस्तानी शिक्षिकालाई अवार्ड

0
6

पाकिस्तान विकास पथमा निकै अगाडि बढिसकेको देश हो । त्यहाँका जनताहरु निकै शिक्षित हुँदै आइसकेका छन् । त्यहाँ स्तरीय स्कूल कलेजहरु छन् । दक्षिण एशीयामा भारतपछि पाकिस्तान नै धनी देश हो । यति भइकन पनि पाकिस्तानमा अझै पनि कडा रुढीवादी पनका अवशेषहरु बाँकी नै रहेका छन् । खासगरी छोरीलाई शिक्षा दिने कुरामा पाकिस्तानमा, भारत या नेपालमा जस्तो सहज स्थिति छैन । त्यहाँ शिक्षिकाहरुलाई निकै गाह्रो छ । बालिकाहरुलाई पढाउने शिक्षिकाहरु त झन् आक्रमणमा पनि पर्ने गरेका घटना सार्वजनिक हुने गरेका छन् । तर, पाकिस्तानमा रुढीवादी पन मौजुद भए पनि कतिपय शिक्षिकाहरु बहादुरीका साथ शिक्षण गरिरहेका छन् । पाकिस्तानमा एक जना शिक्षिका जसले निकै बाधा अवरोधबीच पनि शिक्षण गरेर सफलता हासिल गरेकी छन् । यहाँ यस्तै एक शिक्षिकाको सफलताको कथा प्रस्तुत गरिन्छ ।

युनिसेफ, संयुक्त अरब इमिरेट्स (युएई)को विश्वव्यापी परोपकारी संस्था दुबई केयर्स र भार्की फाउन्डेसको सहकार्यमा ‘ग्लोबल टिचर अवार्ड २०२३’ बाट, पञ्जाब (पाकिस्तान)को गुजरानवाला जिल्ला निवासी ‘रिफत आरिफ’ (जसलाई सिस्टर जैफको नामले पनि चिनिन्छ)लाई सम्मान गरिएको छ । स्कुल स्थापना, विपन्न बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिएवापत उनलाई सम्मानित गरिएको हो । यस अवार्ड अन्तर्गत जैफले १० लाख अमेरिकी डलरको पुरस्कार राशि पनि प्राप्त गर्नेछिन् । उनले कुन परिस्थितिमा बच्चाहरूलाई पढाउने आफ्नो मिसन शुरु गरेकी थिइन् र उनी कसरी त्यसो गर्न सफल भइन् ? भनेर जान्नका लागि पत्रकार मोहम्मद जुबैरले जैफसँग एक विशेष अन्तरवार्ता लिएका थिए । जसको सार यसप्रकार छ । जसबाट सिस्टर जैफको सफलताको कथा जान्न सकिन्छ ।

स्कूलमा शिक्षकहरूको पिटाई र हप्काइ–दप्काइका कारण जैफ स्कूल जान छोडेकी थिइन् । परिवारमा उनीहरु चार बहिनी छन् । कान्छी बहिनीको जन्म हुँदा पनि उनीहरुका आमालाई बुबाका परिवारका सदस्यहरूले हिंसाको सिकार बनाएका थिए । किनभने उनीहरु छोरा चाहन्थे । यसकारण उनीहरुको परिवार बुबाको आफ्नो पैतृक क्षेत्र, घर छोडेर आमाको पैतृक क्षेत्र सरगोधामा बस्न गए । जैफका बुबा एक राम्रो कारीगर थिए र उनले सोचे कि कुनै पनि समयमा हाम्रो आर्थिक स्थिति राम्रो हुनेछ । तर, अचानक जैफका बुबा धेरै बिरामी भए र काम छोडेर घरमा बस्नुपर्ने भयो । यो कठिन परिस्थिति थियो, त्यसैले जैफकी आमाले जैफलाई पनि साथै लिएर आम्दानीका लागि कडा परिश्रम गर्न थालिन् । आमा मानिसहरुको घरमा काम गर्थिन् र खाना पनि पकाउँथिन् ।

जैफका बुबा शिक्षित थिए । बुबाका ती विशेषताहरू पनि जैफमा आए । किताब पढ्दा जैफलाई प्रश्न गर्ने बानी परिसकेको थियो । सोधपुछ गर्ने बानीका कारण जैफलाई स्कूलका शिक्षकहरूले पिट्थे र हप्काउँथे । जैफले लामो समयसम्म यो अवस्था सहन सकिनन् र स्कूल जान छाडिन् । त्यसपछि उनले महिलाहरुले लगाउने पहिरनमा सिल्क स्टारको रूपमा काम गर्न सिकिन् र काम पनि गर्न थालिन् । त्यही बेला उनले आफ्नो स्वअध्ययनलाई पनि अघि बढाइरहेकी थिइन् । पढाइप्रतिको उनको लगाव पूरा गर्न उनको घरको आँगनमा बालबालिकालाई पढाउन थालिन् ।

समय व्यतित भएसँगै उनले सन् २००० मा प्राइभेटबाट म्याट्रिक पास गरिन् । त्यसपछि उनका लागि पहिलो जागिरको बाटो खुल्यो । जागिरको दौरान पनि, उनी आफ्नै घरको स्कूलमा बच्चाहरूलाई पढाउँथिन्, साथसाथै निजी एफए (प्लस ट्र, दुई वर्षको पाठ्यक्रम)को लागि तयार गर्थिन् । जब जैफले सन् २००३ मा एक निजी एफए प्राप्त गरिन् उनलाई त्यही कम्पनीमा पदोन्नति गरियो । अब उनी बि.ए. पढाईको तयारी गरिरहेकी थिइन्, यसको साथसाथै उनको घरको आँगनमा निर्माण गरिएको टहरोको विद्यालयमा बच्चाहरुको संख्या पनि बढिरहेको थियो, जसका कारण उनले यस क्षेत्रमा पनि केही ध्यान दिइरहेकी थिइन् । उनले प्राप्त गरिरहेको तलबको केही हिस्सा उनकै घर नजिकको विद्यालयमा अध्ययनरत् बालबालिकाको आवश्यकतामा खर्च गर्दथिन् । समयबित्दै जाँदा उनले बी.ए. पनि पास गरिन् र पीटीसीएल (पाकिस्तान दूरसञ्चार लिमिटेड)मा ग्रेड १७ को जागिर पाइन् । उनको दैनिकी केही सहज भएर आयो ।

जैफले पत्रकारसँग भनिन्– मेरो आँगनमा रहेको टहरो विद्यालयमा एक सय २० जना केटाकेटी थिए र गर्मी र जाडोमा हामीले धेरै कठिनाइहरूको सामना गर्नु परेको थियो । म सामाजिक सञ्जालमा बालबालिकालाई पढाउने बारे पोष्ट गर्थेंं र यो समयमा अष्ट्रेलियाबाट मेरो एक साथीले मलाई स्कुलको लागि पचास डलर पठाउँथे । त्यो बेला विद्यालयको सबैभन्दा ठूलो खाँचो राम्रो टहरो बनाउनु थियो । साथीबाट पाएको पचास डलरले मैले पठनपाठन स्पेसका लागि आँगन ढाक्न एउटा त्रिपाल किनेँ, तर यो त्रिपाल धेरै दिन टिकेन । एकदिन ठूलो आँधीबेहरी आयो र बाँससँगै त्रिपाल पनि उडाइदियो । त्यसपछि मैले मेरी आमासँग मिलेर धेरै लुगा फोल्ड गरेर त्रिपाल जस्तो चीज बनाएँ र त्यसलाई फिट गरेँ र जब ठूलो आँधीबेहरी र वर्षा आयो, मेरी आमा र म त्यसलाई समातेर उभिन्थ्यौँ ताकि त्यो उड्न नपाओस् र हामीलाई फेरि हानि नपुगोस् ।

एकदिन, मैले थाहा पाएँ कि वल्र्ड प्लसले महिला संघर्षका कथामा एउटा प्रतियोगिता आयोजना गर्दैछ । शुरुमा मलाई रुचि भएन तर पछि मैले यस प्रतियोगितामा भाग लिएँ । मैले यसमा पहिलो पुरस्कार पनि पाएँ र यसको साथसाथै मैले सामाजिक सञ्जालमा महिलाहरूको लागि काम गर्ने प्रस्ताव पाएँ । मेरो आँगनको स्कूलको खर्च जुटाउने यो मेरो लागि राम्रो अवसर थियो र मैले त्यो प्रस्ताव स्वीकारेँ । मेरा केही साथीहरूले केही थप पैसा जुटाए, जसबाट मैले मेरो घर छेउमा ठाउँ (स्पेश) भाडामा लिएँ र त्यहाँ एक शिक्षा र प्रशिक्षण संस्था बनाउने काम शुरु गरेँ । यस संस्थामा व्यावसायिक केन्द्र र कम्प्युटर सेन्टर पनि सञ्चालन गरियो । यो त्यो समय थियो जब मेरो कामले मान्यता पाउन थाल्यो, तर यसको साथसाथै धेरै समस्याहरू निम्तिए र धेरै कठिन परिस्थितिहरू पनि उत्पन्न भइरहेका थिए ।

एकपटक म एक्लै कतै जाँदै थिएँ, मोटरसाइकलमा दुई जना युवक आए । उनीहरूले मलाई बालिकाहरुलाई पढाएकी भनेर दुव्र्यहार मात्र गरेनन् कि थप्पड पनि हाने । धम्क्याए पनि । मेरा लागि त्यो निकै डरलाग्दो घटना थियो । धेरै दिनसम्म मैले के भएको हो भनेर बुझ्न सकिनँ, तर मेरो सङ्कल्प एकदमै बलियो थियो । मैले आफूलाई यो अवस्थाबाट बाहिर निकालेर आफ्नो काममा फर्किएँ । घरको आगनमा पठन पाठनका लागि थप दुई कोठा बनायौँ । यसका साथै, मेरो व्यावसायिक केन्द्रको मद्दतले मैले धेरै केटीहरू र केटाहरूलाई उनीहरूको खुट्टामा उभ्याउन सफल भएँ । धेरैले आफ्नो आर्थिक अवस्थाबाट बाहिर निस्केर मद्दत पाए । तर, स्कूल बन्द गर्नु भनेर आउने धम्कीहरू समाप्त भएनन्, तर त्यस क्षेत्रका सबै समुदायहरू मेरा समर्थक बने । मेरो स्कूल र केन्द्रमा पढ्ने बच्चाहरूका आमाहरू मेरो साथमा उभिन्थे । यसरी मैले स्कूल सञ्चालन गरे सकेँ । उच्च विद्यालय औपचारिक रूपमा दर्ता गर्न सफल भएँ । दुई सय बच्चाहरू पूर्णरूपमा निःशुल्क शिक्षा प्राप्त गरिरहेका छन् । शिक्षकलाई नियमित तलब दिइन्छ । व्यावसायिक केन्द्र र कम्प्युटर सेन्टरबाट तालिम पूरा गर्नेहरूलाई पनि रोजगारीको अवसर दिइन्छ ।

मैले शिक्षाको क्षेत्रमा गरेको काम सायद राम्रो भयो । त्यसैले मेरो जीवनमा एक चमत्कार भयो । जब यो पुरस्कारको घोषणा भयो, मैले पनि मेरा केही साथीहरूको सल्लाहमा आवेदन दिएँ । त्यहाँ १० जना शिक्षकहरू छानिएका थिए, त्यो मेरो लागि निकै खुशीको अवसर थियो । जब म दुबई गएँ र समापन समारोह अघिका चरणहरूमा भाग लिएँ, मैले महशुस गरेंँ कि मेरो कथा र संघर्ष, यसको एक हिस्सा भएका व्यक्तिहरू भन्दा फरक छ । त्यसैले जब मञ्चमा नाम बोलाइयो, म यसको लागि तयार भएँ । यस अवसरमा पाकिस्तानका राजदूत र केन्द्रीय शिक्षामन्त्रीले मेरो प्रशंसा गरेको र त्यहाँ पटक–पटक पाकिस्तानको नाम उल्लेख गरिएकोमा म निकै खुशी भएँ । हो, जब दुबईको मञ्चबाट मैले यस वर्षको ग्लोबल टिचर अवार्ड जितेको घोषणा गरियो, म धेरै आश्चर्यचकित भएको थिइनँ किनभने मलाई पहिल्यै थाहा थियो कि यस पुरस्कारका लागि छानिएका नौ जनामध्ये कोहीसँग पनि मेरो संघर्षको समान कथा छैन । जैफले बताइन् ।

पुरस्कारको रकमबाट सिस्टर जैफले यस्तो विद्यालय निर्माण गर्ने योजना बनाएकी छन् जहाँ खाँचोमा परेका बालबालिकालाई बिना भेदभाव शिक्षा दिन सकियोस् । उनले अनाथ बालबालिकाका लागि आश्रयस्थल बनाउने योजना बनाएकी छन्, र उनीहरूलाई सिकाउन विश्वका सबै भागका शिक्षकहरूलाई आमन्त्रित गरिने छ । जैफ, आफ्ना बच्चाहरूलाई शिक्षित गर्ने परिवारहरूलाई आर्थिक सहायता पनि प्रदान गर्छिन् । उनको व्याबसायिक केन्द्रले महिलाहरूलाई आईसीटी, टेक्सटाइल र अंग्रेजी भाषामा सीपहरू प्रदान गर्दछ ।

शिक्षाले मात्र जनतालाई आफ्नो र आफ्नो देशको लागि ख्याति प्राप्त गर्न र उनीहरूलाई राम्रो नागरिक बनाउन सक्छ भन्ने चेतले उनले बालबालिकाहरुलाई शिक्षा दिने अभियान थालेकी हुन् । जैफ अहिलेको अवस्थामा आईपुग्न उनले आठ घण्टा काम गरेर विद्यालयलाई आर्थिक सहयोग गरिन्, त्यसपछि थप चार घण्टा विद्यार्थीलाई पढाइन् र रातको समयमा आफैलाई पढाउँथिन् । २६ वर्षको संघर्षपछि नयाँ भवनमा रहेको विद्यालयले दुई सयभन्दा बढी विपन्न बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ ।

सिस्टर जैफले सन् १९९७ मा, मात्र १३ वर्षको उमेरमा आफ्नो घरको आँगनमा, पढाईका लागि अभिभावकले शुल्क तिर्न नसक्ने बालबालिकाका लागि विद्यालय स्थापना गरेकी थिइन् । भार्की फाउन्डेशन ग्लोबल टिचर प्राइजकी बिजेता पाकिस्तानी शिक्षिका ‘रिफत आरिफ उर्फ सिस्टर जैफ’ ९ नोभेम्बर २०२३ मा पेरिसको प्रेसिडेन्सियल एलिसी प्यालेसमा आयोजित छैटौँ पेरिस शान्ति मञ्चमा सहभागी राष्ट्र तथा सरकार प्रमुख तथा अन्तर्राष्ट्रिय संस्थाका नेताहरूको सम्मानको अवसरमा पनि उनलाई निमन्त्रणा गरिएको थियो । सिस्टर जैफको संघर्ष कथाबाट विद्याको उज्यालो छरिरहेका शिक्षा सेवीहरुका लागि केही प्रेरणा मिल्ने विश्वास लिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here