चौरासी पूजाको खर्च राष्ट्रिय आविष्कार केन्द्रलाई

0
6

चितवन,

यहाँका एक ज्येष्ठ नागरिकले चौरासी पूजामा लाग्ने खर्च राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–२ क्षेत्रपुर घर भएका खिमानन्द पौडेलले आफ्नो ८४ पूजामा गरिने खर्च आविस्कार केन्द्रलाई सहयोग गर्नुभएको हो । उहाँले रु तीन लाख ६५ हजार केन्द्रका सञ्चालक समितिका सदस्य हरि सिलवाललाई हस्तान्तरण गर्नुभयो । राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न पौडेल परिवारले एक औपचारिक कार्यक्रम गरेको थियो । तामझाम र रूढिवादी संस्कृतिबाट टाढा हुनुपर्ने सन्देशसहित ८४ पूजाको खर्च केन्द्रलाई हस्तान्तरण गरिएको हो ।

पौडेलले नयाँ खोज, अनुसन्धान र आविष्कारका लागि सहयोग होस् भनेर चौरासी पूजाको खर्च आविष्कार केन्द्रलाई प्रदान गरेको बताउनुभयो । लेखक खगेन्द्र सङ्ग्रौलाले समय क्रमसँगै संस्कृतिप्रति सबै कालखण्डमा विश्वास नरहन सक्ने बताउनुभयो । धर्म र संस्कृतिका नाममा परम्परादेखि चलिआएको अन्धविश्वास, विभेद, खर्चिलोपन, ढोङ, पाखण्डलाई मान्नुपर्छ भन्ने आवश्यकता नभएको उहाँ बताउनुहुन्छ ।

पौडेलका ज्वाइँ प्रेम रिमालले संस्कृतिलाई पच्छ्याउने नाममा पछौटेपनलाई अङ्गाल्नु नहुने भन्दै तडकभडक छाडेर यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । राष्ट्रिय आविष्कार केन्द्रका सिलवालले सामाजिक दबाब नपर्नेगरी सिर्जनशील काम गर्नु सामाजिक अन्वेषण रहेको बताउनुभयो । यहाँबाट आएको सहयोगबाट केन्द्रले ऊर्जा प्राप्त गर्ने उहाँको भनाइ थियो ।

पौडेल परिवारले कार्यक्रममा आउनेलाई दक्षिणा, भेटी नल्याउन आग्रह गरेको थियो । कार्यक्रमस्थलमा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न दानपेटिका राखिएको थियो । त्यसमा सङ्कलन भएको रकम पनि सबै केन्द्रलाई प्रदान गरिएको थियो ।

सो अवसरमा पूर्वमन्त्री विक्रम पाण्डे, नेकपा एमालेका नेता विजय सुवेदी, नेकपा माओवादीका नेता रामचन्द्र अधिकारी, बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा, साहित्यकारहरु डिआर पोख्रेल, इन्द्रप्रसाद रेग्मीलगायतले पौडेल दम्पतीलाई शुभकामना दिनुभएको थियो । पौडेलका छोरा सुदर्शन र बुहारी गायत्री पौडेलले चौरासी पूजाका अवसरमा बुबाआमालाई सम्मान गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here