झापा गोल्डकपद्वारा डोमालालको परिवारलाई एक लाख सहयोग

१९ फाल्गुन २०८०, शनिबार मा प्रकाशित

बिर्तामोड ।

झापा गोल्डकपले डोमालाल राजवंशी रंगशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।

डोमालाल राजवंशी रंगशालामा आजदेखि शुरु भएको छैटौं झापा गोल्डकपको उद्घाटनका अवसरमा जग्गादाता राजवंशीको परिवारलाई सो नगद प्रदान गरिएको हो ।

समाजसेवी विवेक प्रसाई र संगीता प्रसाईद्वारा उपलव्ध गराइएको एक लाख नगद राजवंशी परिवारलाई प्रदान गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए ।

उनले झापा गोल्डकपको बजेटबाट एक लाख रुपैयाँ सहयोग गर्न अपुग भएपछि सहयोगी खोजी गरी डोमालालका नाति भीम राजवंशीलाई प्रदान गरिएको जानकारी दिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चेक हस्तान्तरण गरेका थिए । अध्यक्ष बस्नेतले सहयोगी प्रसाई दम्पत्तीलाई धन्यवाद दिएका छन् ।

यसअघि झापा गोल्डकपले जग्गादाता राजवंशीको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।गत फागुन ८ गते राजवंशी विकास प्रतिष्ठानको अगुवाईमा दाता डोमालाल राजवंशीको परिवारको निम्न अबस्थाका कारण कम्तीमा पाँच लाख रुपैयाँ उपलव्ध गराउनु पर्नेलगायतका माग गरिएको थियो ।

स्वर्गीय डोमालालकी छोरी सम्पत्ति र नातिनी बुहारी ललिता राजवंशीको उपस्थितिमा प्रतिष्ठानले झापा गोल्डकप र बिर्तामोड नगरपालिकालाई चारबुँदे ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा जग्गादाता डोमालाल राजवंशीको शालिक निर्माण गरिनु पर्ने , डोमालाल राजवंशीले दिएको जग्गामा करोडौको बजेटमा प्रतियोगिता गराइरहँदा दाता परिवारको हालको अबस्थालाई मनन गरी यसै गोल्डकपमा कम्तीमा ५ लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने , डोमालाल राजवंशी रंगशालासंग सम्बन्धित गोल्डकप आयोजक समिति,संरक्षण समितिलगायतका समितिहरुमा दाता परिवारका एकजना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने र डोमालालको परिवारले चर्चेको जग्गा उनीहरुकै स्वामित्वमा हस्तान्तरण गरिनु पर्ने माग उल्लेख गरिएको थियो ।

ती मागप्रति गोल्डकपका अध्यक्ष बस्नेत सकारात्मक देखिएको प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले बताए । डोमालाल राजवंशीले रंगशाला भएको ठाउँमा करिव १३ विगाह जग्गा दान दिएका थिए । अहिले भूमिहीन बनेका डोमालालको परिवारले मजदुरी गरी गुजारा गरिरहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here