सत्ता र्फेन माहिर प्रचण्ड

0
9

काठमाडौं ।

आफू सत्तामा रहिरहन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माहिर देखिएका छन् । एमालेसंगको सहकार्यमा सत्ताको बागडोर सम्हालेका प्रचण्डले प्रधानमन्त्री भए लगत्तेै विश्वासको मत लिएपछि कांग्रेसको शरणमा पुगेर एमालेलाई लात हानेका थिए । कांग्रेस, माओवादी र समाजवादी बीच आलोपालोमा सहमति गरेर डेढ वर्ष सहकार्य गरेका प्रचण्डले कांग्रेस र समाजवादीलाई धोका दिदैं एमालेको शरणमा पुगेर आफ्नो पद सुरक्षित गरेका छन् ।

कांग्रेस महासमिति बैठकपछि सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रबीच बढेको आशंका र अविश्वासले २०८० फागुन २० गते आइतबार साँझ नै अन्तिम रुप लियो । २०८० फागुन २० गते आइतबार साँझदेखि राष्ट्रिय राजनीतिको विकसित घटनाक्रमले निकै तताएको बालुवाटार, बुढानीलकण्ठ, पेरिसडाँडा, बालकोट र वनस्थलीमा नेताहरुले महसुस गरेको रापको दाउरा बनेर वर्तमान गठबन्धन सरकार स्वाहा भएको छ ।

रातभरी जागै बनेको बालुवाटार, बालकोट र बुढानीलकण्ठको व्यस्तताको परिणाम अन्ततः एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग माओवादीको तीन दलीय नयाँ सत्ता समीकरण बनेर देखिएको छ । प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमाले र रास्वपाको साथ पाउने भएपछि कांग्रेसलाई किक हान्न कत्ति पनि समय लगाएनन् । वर्तमान सत्ता गठबन्धन ढलेर आजै नयाँ समीकरणको सरकार गठन भएको छ ।

दलहरुले नयाँ समीकरण बनाए पनि कसको भागमा कुन मन्त्रालय र के के पर्छ भन्ने प्रष्ट हुन बाँकी छ । यसले नेपाली सत्ता राजनीतिको आगामी चित्र कस्तो हुने छ भन्ने कुरा पहेर्न बाँकी नै छ । गठबन्धनको भविष्य समाप्त पार्ने कारणमध्ये कांग्रेसका दुई मन्त्रीलाई फिर्ता बोलाउने र राष्ट्रिय सभा अध्यक्ष लिन कांग्रेस माओवादीको आ–आफ्नो अडान नछाडेको विषय सतहमा देखिए पनि पछिल्लो समय माओवादी उपमहासचिव वर्षमान पुनको सक्रियतालाई नजरअन्दाज गर्न सकिँदैन । यसमा उत्तर अघि बढ्यो कि दक्षिण पछाडि प¥यो भन्ने विस्तारै स्पष्ट हुँदै जाला ।

तर, माओवादी केन्द्रका अध्यक्ष दाहालले भने ३२ सिटको खुब फाइदा उठाइरहेका छन् । तेस्रो दल भएपनि चौथो पटक प्रधानमन्त्री बन्ने सौभाग्य दाहालकै माथामा परेको छ । एमालेलगायत ७ वटा राजनीतिक दल र केही स्वतन्त्र गरी १ सय ६९ सांसदको समर्थनमा २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहाल वर्तमान गठबन्धन फुटाएर अब कम्युनिष्टसँग नयाँ गठबन्धनको नेतृत्व गर्दै राजनीतिक यात्रामा चौथो पटक प्रधानमन्त्री बन्नेछन् ।

वर्तमान गठबन्धन सत्ता साझेदार कांग्रेससँगको खटपटपछि नयाँ गठजोड गरेका दाहालले एमाले र रास्वपालाई साथमा लिएर तीन दल सम्मिलित सत्ता गठबन्धनको तत्कालीन नयाँ मोडल बनाएका छन् । प्रधानमन्त्रीको चौथो पटक उपमा लिन केही पाइलामात्रै पछि रहेका दाहालका लागि वर्ष २०७९ पुस १० गते सरकारको नेतृत्व लिने हिसाबले धेरै हदसम्म सफल पनि रह्यो । २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले कांग्रेस लगायतसँग मिलेर सरकारको नेतृत्व गरेको २०८० फागुन २१ गते सोमबार १ वर्ष दुई महिना ११ दिन पुगेको छ ।

संयोग के भने २०८० पुस १० गते सोमबार प्रधानमन्त्रीको शपथ लिएका दाहालले २०८० फागुन २१ गते सोमबार नै नयाँ कार्यकालको प्रधानमन्त्रीका लागि नयाँ मोडल तयार पारे । तर त्यसलाई एमालेले आफ्नो हिसाबले अझै अनुमोदन गरिसकेको छैन । एक वर्ष २ महिना मै कांग्रेससँगको गठबन्धन टुटाएर दाहालले आफ्नै नेतृत्वमा पुनः कम्युनिष्टसँग मिलेर नयाँ सरकार बनाउने भएसँगै यतिबेला केन्द्रदेखि सातै प्रदेशको राजनीतिको समीकरण फेरिने अवस्थामा पुगेको छ । कोशीमा बाहेक सबै प्रदेशका मुख्यमन्त्री धरापमा छन् नै । अस्थिर राजनीतिले देशलाई कता लैजाने हो जनजनमा कौतुहलता पैदा गरेको छ ।

प्रतिनिधिसभामा हाल एमालेका ७८, माओवादीका ३२, रास्वपाका २० गरी नयाँ गठबन्धनमा १ सय ३१ जना सांसद छन् । जसपाको १२ सिट जोड्दा नयाँ गठबन्धनमा १४३ सिट हुन जान्छ । नागरिक उन्मुक्ति र जनमत पार्टीले पनि सरकारमा सहभागी हुने प्रस्ताव राखेका छन् भने माओवादी अध्यक्ष प्रचण्डले माधव नेपालको नेतृत्वको १० सिटे दललाई समेत साथै लिएर हिड्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here