ईश्वरले बनाएको जोडी

0
7

स्मृति, सम्मान र सत्प्रेरणालाई मूलमन्त्र बनाएको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले हास्यविधाका शिखर पुरुष महजोडीलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ । बिर्तामोडमा बुधबार आयोजित कार्यक्रममा यसै वर्षदेखि प्रारम्भ भएको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानद्वारा महजोडीका रुपमा स्थापित बहुमुखी व्यक्तित्व मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरिएको हो । भारतीय नेपाली प्रशिद्ध नाट्यकर्मी, कवि, गीतकार, राजनीतिक चिन्तक तथा साहित्यकार सीके श्रेष्ठले महजोडीलाई नगदसहित ताम्रपत्र प्रदान गर्दै नाट्यकर्मी मात्र नभएर प्रतिष्ठान नै बनिएका महजोडीलाई सम्मान अर्पण गर्न पाउँदा आफू समेत हर्षित भएको बताएका थिए । नेपालको प्रगतिमा विश्वभरका नेपालीले गौरवको अनुभूति गर्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले विश्वमा छरिएका नेपालीलाई फलफूलको संज्ञा दिँदै नेपालीको जरा नेपाल भएकाले जरा स्वस्थ रहनुपर्नेमा जोड दिए ।

झापा बिर्तामोडका समाजसेवी टुङ्गबहादुर बस्नेत र उनकी धर्मपत्नी पूर्णकुमारी बस्नेतको स्मृतिमा स्थापित पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानद्वारा संयोजित अक्षयकोष मार्फत समाज रुपान्तरणमा विशिष्ट योगदान दिने व्यक्तित्वलाई पहिलोपटक सो सम्मान वितरण गरिएको थियो । जनेप्रले दुई दशकदेखि विभिन्न दाताहरुको सहयोगमा जिल्लामा उत्कृष्ट सेवा गरेका विविध क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । त्यस्तै सत्प्रेरणाको लक्ष्य अनुरुप विद्यार्थीहरुलाई विभिन्न नाममा प्रोत्साहन पुरस्कार वितरण गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, समाजसेवा जस्ता महŒवपूर्ण क्षेत्रमा उल्लेख्य योगदान दिँदै आएका बस्नेतको चाहना अनुरुप जीवनकालमै स्थापित कोषबाट सम्मान वितरण गर्न छोराहरु गोपालकुमार बस्नेत, श्याम बस्नेत, जीतेन्द्र बस्नेत तथा छोरीहरु समेतको संयोजनमा सम्मान वितरण गरिएको हो ।

नेपाली नाट्य क्षेत्रमा अद्वितीय र अनुकरणीय योगदान दिएका, सहयात्रा र सहकार्यका अनुपम उदाहरण महजोडीको झण्डै साढे चार दशक लामो मित्रता नेपाली नाट्य विधाको सम्पत्ति हो । एकअर्काका पर्याय झैं बनिएको महजोडीको मित्रता दीर्घकालसम्म नमूना बन्ने पक्का छ । हाम्रा देशका सञ्चालकहरुको मित्रता दुई महिनामै भङ्ग भइरहेको सन्दर्भलाई महजोडीको सहकार्यले कला क्षेत्र र कलाकारिता स्फटिक जस्तै पवित्र र पारदर्शी हुन्छ भन्ने प्रमाणित गरेको छ । महमध्येको मदनकृष्णले भने जस्तै ईश्वरले पठाएको हरिवंश र उनको जोडीको स्नेह, सम्मान र सद्भाव युग–युगसम्म जीवन्त रहोस्– शुभकामना प्रकट गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here