एसईईलाई स्वर्णद्वार बनाऔं, फलामेद्वार होइन

१६ चैत्र २०८०, शुक्रबार मा प्रकाशित

माध्यमिक शिक्षा परीक्षा एसईई–२०८० संस्करण चैत १५ गते बिहीबारदेखि शुरू भयो । एसईईलाई १४–१६ वर्ष समूहका विद्यार्थीका लागि फलामे ढोकाको रूपमा चित्रण गरेर त्रासको भीमकाय हाउगुजी बनाइएको छ । हुन त फागुन चैत महिना भनेको पनि खासगरी विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीका लागि परीक्षामय बनेको हुन्छ । सरकारी निकाय विभिन्न तर्क दिएर एसईईको औचित्य पुष्टि गर्न तत्पर देखिएको छ । तर, वास्तविकता भने त्यस्तो छैन । सबैजसो विद्यार्थीमा मानसिक त्रास छ । पठनपाठनका कुरामा पटक्कै ध्यान नदिने तर परीक्षालाई कडाइ गर्ने अवैज्ञानिक नीति छ नेपालमा । जसका कारण नेपाली शिक्षा वेरोजगार उत्पादन गर्ने कारखानाका रूपमा परिचित छ । एसईईमा परिणत भएपछि गोल्डेन गेट बन्न खोजे पनि पुरानै ढर्रामा परीक्षा सञ्चालन गर्ने निर्णयले एसईई पुनः आइरनगेट वा फलामे ढोका बन्ने तरखरमा छ । नेपालको सन्दर्भमा राष्ट्रिय आवश्यकता र परिवेशले सिर्जना गरेको आवश्यकता अनुरूप शिक्षा हुने गरेको छैन । यसै वर्षदेखि लागू हुने गरी कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउन नसक्ने विद्यार्थीलाई नन्ग्रेडिङ (फेल) उपाधि दिने निर्णय गरिएको छ, जुन निकै प्रत्युपादक हुने निश्चित छ ।

राष्ट्रिय आवश्यकता र औचित्य पुष्टि गर्न नसकिएको अवस्थामा परीक्षा प्रणालीमा गरिएका यस्तो परिवर्तनलाई स्वाभाविक र सान्दर्भिक मान्न सकिँदैन । नेपाली शिक्षा क्षेत्रमा पटक–पटक यस्तै अपरिपक्व र अनौठा किसिमका परीक्षणहरू हुने गरेका छन् । कहिले विद्यालयलाई उत्पादनसँग जोड्ने नाममा कारखाना बनाउने नारा सुनिन्छन् भने कहिले नमूना विद्यालयका नाममा निजी क्षेत्रका विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने केही विद्यालय स्थापना गरिन्छन् । अनि दूरदराजका विद्यालयहरूले पाउँदै आएका अनुदान कटौती हुन्छन् । भूकम्पले क्षतिग्रस्त संरचना बन्न नसकेका धेरै विद्यालय पूर्वाधारको अभावमा स्तरीय शिक्षा दिन वञ्चित छन् । वर्षा लागेपछि र हुरीबतास चल्दा बन्द हुने विद्यालय पनि धेरै छन् ।

औचित्यहीन परीक्षा सञ्चालन गर्न खर्च गरिने करोडौं रुपैयाँ त्यस्ता विद्यालयको भौतिक संरचना निर्माणमा प्रयोग गरे प्रभावकारी हुनेछ । एसईई विद्यार्थी, अभिभावक, विद्यालय एवम् शिक्षक सबैका लागि महŒवपूर्ण भनेर प्रचारित छ । विगतका एसईईका नतिजालाई हेर्ने हो भने अधिकांश विद्यार्थी गणित, अङ्ग्रेजी, सामाजिक र विज्ञानमा कमजोर देखिएका छन् । यी विषयमा विद्यार्थीको सिकाइस्तर कमजोर देखिएको छ । विगतमा एसएलसीको रूपमा परिचित यो परीक्षा हाल एसईई बनेको छ । तर, विद्यार्थीको टाउको माथिको तलवार अहिले पनि उसरी नै झुण्डिरहेको छ, जसरी विगतमा झुण्डिने गथ्र्यो । त्रासको डेमोकल्स शोर्ड अर्थात् शिरमाथि झुण्ड्याइएको तलबारको मानसिकता अझै पनि हामीबाट गएको छैन । परीक्षा भनेको विद्यार्थी सिकाइ परीक्षणको धेरै साधनमध्ये एक साधन हो, तर हाम्रो वार्षिक परीक्षा पद्धतिका माध्यमबाट सबै नै एसईई हो भन्ने मान्यता स्थापित गर्न खोजिएको छ । यसमा पुनर्विचार जरुरी छ । एसईईलाई स्वर्णद्वार बनाऔँ, फलामेद्वार होइन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here