भौतिक विकास विनाशक नबनोस्

0
5

हामीलाई बाँच्नका लागि तीन वस्तुको आवश्यकता हुन्छ । ती तीन वस्तुहरु मध्ये हावा सबैभन्दा प्रमुख हो । खाना र पानीको अभावमा केही समय, केही दिन बाँच्न सकिन्छ तर हावाको अभावमा एकछिन पनि जीवित रहन सकिन्नँ । त्यस्तो महत्वको हावामा पनि यदि शुद्धता छैन, प्रदूषित छ भने त्यसले जीवनलाई दुष्कर बनाउँछ । स्वस्थ रहनका लागि नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड र आर्गन लगायतको मात्रा मिल्नुपर्छ । यस बाहेक अन्य दूषित विषालु ग्यास हावामा मिसिए वायु प्रदूषित हुन्छ, जो मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

त्यसो त अहिले विश्वभरि नै वायु प्रदूषण बढिरहेको छ । वायुको गुणस्तर मापन गर्ने निकाय आइक्यू एयरले जनाए अनुसार विश्वका एक सय वटा प्रदूषित शहरमध्ये चौरानब्बे वटा दक्षिण एसियामा पर्छन् । यस आधारमा नेपालको वायुमण्डल पनि सुरक्षित रहन सक्दैन जसको प्रमाण बुधबारको मापनले देखाएको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार काठमाण्डूको वायु प्रदूषण उच्च विन्दूमा पुगेको छ । उसले काठमाण्डूको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) दुई सय पैंसठ्ठी पुगेको उल्लेख गरेको छ । यस अनुसार हाम्रो राजधानी काठमाण्डू विश्वको प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा पुगेको छ । अझै यसलाई रोक्न नसकिए राज्यले आपतकालीन अवस्था घोषणा गरी प्रतिरक्षाको उपाय अपनाउनु पर्ने हुन्छ ।

वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले देशभर वन डढेलो, आगजनी बढेका कारण नेपालमा वायु प्रदूषण पनि बढेको बताएका छन् । त्यसबाहेक दाउरा बाल्ने, मेसिन चलाउने, कीटनाशक औषधिको प्रयोग गर्ने, बढ्दो सवारीसाधन र वन विनाशले पनि वायु प्रदूषण बढाउन मद्दत गरेको छ । राजधानी काठमाण्डू लगायत देशका ठूलो शहरहरुमा बढेको धुलो, धुँवा र बढ्दो सवारीसाधनले शहर बजारलाई प्रदूषित बनाइरहेको छ । सवारीसाधनहरुबाट निस्कने नाइट्रोजन, कार्बन डाइअक्साइड, हाइड्रोकार्बन, लिड आदि वायुमण्डलमा मिसिँदा उत्पन्न हुने कार्बन मोनोअक्साइडले मानव स्वास्थ्यलाई हानी पु¥याइरहेको छ । वायु प्रदूषणलाई रोक्न प्रथमतः वन जंगलको विनाश रोक्नु पर्दछ, सरसफाईमा ध्यान दिनुपर्छ, पुराना सवारी सञ्चालन नगर्ने र विषालु धुवा आउने वस्तु नडढाउने जस्ता उपायले पनि प्रदूषण कम गर्न सकिन्छ । यदि त्यसो गर्न सकिएन भने भौतिकताको विकासको परिणाम मानव जाति र मानव सभ्यताकै लागि विनाशक हुनसक्छ । यसतर्फ सम्बद्ध संस्था, निकाय तथा सरकार सचेत र गम्भीर हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here