गोसा झापालीको “नीलि“ बारे

0
12


सन् १९७५ को दशक ! एउटा युवा विद्यार्थी प्रवेशिका परीक्षा उत्तीर्ण गरी नेपालबाट भारतको शिलगढी पुग्छ; उच्च शिक्षा अध्ययनका लागि । संगीतप्रति अथाह रुची भएको त्यो युवा बिस्तारै कलेजको हिरो बन्छ । अध्ययन र संगीत दुबैमा अब्बल त्यो विद्यार्थी आफ्नै कलेजकी सहपाठी सङ्ग बिस्तारै प्रेम सम्बन्धमा बाधिन पुग्छ । अनि कथा शुरु हुन्छ ‘नीलि’को ।

बङ्गाली परिवारकी नीलि र नेपाली ब्राह्मण परिवारको गगन प्रेममा चुर्लुम्म डुबेर एकर्काको प्रतिभालाई उजागर गर्न थल्छ्न् । नायिका फिल्म क्षेत्रमा र नायक संगीत क्षेत्रमा आवद्ध हुन्छन् । नेपालको धुलाबारी, काँकरभिट्टा र भारतको दार्जिलिङ, कोलकाता अनि मुम्बईको आन्चलिकतामा उपन्यास घुमेको छ । दुबै प्रेमी–प्रेमिका विवाह बन्धनमा पनि बाँधिन्छन् । व्यापारिक घराना कि नीलि र सामान्य कृषक परिवारको गगनबीचको यो सम्बन्ध अनौठो लाग्छ । प्रतिभाका कारण जोडिएका यी दुई संगीत र सिनेमाको क्षेत्रमा अब्ब्ल बन्न सफल हुन्छन् । ४२२ पृष्ठमा समेटिएको यो रुमानी प्रेमकथाले सन् १९७० को दशकको भारतीय चलचित्रको प्रभाव बोकेको छ ।

समाजलाई सादगी, निष्कलङ्क, अध्यात्मिक, निरामिस र प्रेममय बनाउनु यो उपन्यासको ध्येय रहेको बुझिन्छ । प्रयोगात्मक शैलीमा प्रस्तुत यो उपन्यास अन्त्यमा चलचित्रको पर्दामा हेर्न सकिन्छ । शुरूवातको सरलता बिस्तारै जटिलतातिर उन्मुख हुन्छ अनि प्रयोगात्मक बन्दै जान्छ ।

उपन्यासमा नायक जहिल्यै अपराजेय लाग्छ । ऊ संघर्षमा जहिल्यै बिजयी हुन्छ । असम्भव पनि जहिले सम्भव देखिन्छ । यो सकारात्मक सोचको प्रभाव हो । आफूभित्र रहेको अध्यात्मिक दर्शनले पुरै प्रभावमा राखेको छ स्रस्टालाई । स्वतन्त्र रहन नदिएको झैं लाग्छ । तर, तर्कहरु बलिस्ठ छन् । धेरै  प्रविधिको विकास नभएको युगमा प्राप्त साधनको उपयोग गरेर तात्कालिन परिवेश समेटेर लेखिएको यो कृति आधुनिक युवा जगतका लागि अचम्म लाग्न सक्छ । यो मेरो बाबु पुस्ताको कथा हो ।

यो उपन्यास हो गोसा झापालीको । उमेरले ७० नाघिसकेका झापा, धुलाबारी निवासी पेशाले मेडिकल व्यवसायी गोपाल सापकोटा एकजना अध्यत्मवादी, सादगी व्यक्तित्व हुन् । औषधी व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका उनको यो युवा लेखनी समावेसी भाषामा आधारित छ । उनकै घोषणा पनि हो यो प्रविधि । पुस्तकको पाण्डुलिपि पढ्दै गर्दा सम्वादको जटिलता मैले पनि अनुभव गरेको हु ।

लेखनमा प्रविधि, दर्शन अनि वैचारिकताले पार्ने प्रभाव निकै महत्वपूर्ण हुन्छ । सकारात्मक प्रभावको अनुभूति बोकेको ‘नीलि’ उपन्यास पठनीय छ । आदर्शवाद यसको एउटा दर्हो पक्ष हो । यो उपन्यास मात्र होइन श्रव्य दृश्यको एउटा अनौठो प्रस्तुति पनि हो । जब उपन्यास पढेर सकिन्छ नि । त्यो बेला कुनै फिल्म हलबाट बाहिरिएको अनुभूति हुन्छ । अब आउने कृतिहरु यात्रा, चिठी र हिन्दी भाषामा लेखिएको हरिद्वार शसक्त हुन् । शुभकामना आदरणीय स्रष्टा गोसा झापालीलाई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here