पञ्चायती सत्ता र त्यो बेलाको पत्रकारिता

२२ बैशाख २०८१, शनिबार मा प्रकाशित

 

जनताको सर्वसुलभ सञ्चारमाध्यम र हर समयको साथीको रुपमा सर्वत्र सरकारी सञ्चारमाध्यम रेडियो नेपालको बलियो पहुँच थियो पञ्चायती शासनकालमा । राजाको प्रमुख नायकत्वमा चलेको पञ्चायती व्यवस्थामा प्रेस स्वतन्त्रता नभएका कारण पत्रपत्रिकाको बलियो पहुँ दूर दराजका गाउँघरमा थिएन । नेपाल टेलिभिजन त २०४१ सालतिर स्थापना भएको हो । ४० को दशकमा पत्रकारिता शुरु गरेका हामी जस्ता युवाहरु त्यसबेला पञ्चायत भितर र पञ्चायत इतरका रुपमा क्रियाशिल थियौं ।

देशमा निरंकुश पञ्चायती सत्ता रहेसम्म देश र जनताको मुक्ति हुँदैन, देशको समग्र बिकास पनि हुँदैन । त्यसैले यो पञ्चायती व्यवस्था फाल्न जनतामा चेतनाको दियो बाल्नु पर्दछ भन्ने मिसन प्रजातन्त्रवादी पत्रकारहरुमा थियो भने बामपन्थीहरु पनि २०३६ सालको जनमतसंग्रह पछि पञ्चायती व्यवस्थाको बिरुद्ध जनतालाई संगठित गरमउन लागेका थिए । जब नेपाली कांग्रेसको अगुवाइमा संयुक्त जनआन्दोलनका सर्वेच्च कमाण्डर गणेशमानसिंहको नेतृत्वमा बाममोर्च सम्मिलित भएर २०४६ सालमा आन्दोलन गर्ने निश्चय भयो तब प्रजातन्त्रवादी र बामपन्थी धारका पत्रकारहरु प्रजातन्त्रको पक्षमा र पञ्चायती सत्ताले पालेका सरकारी शाही पत्रकारहरु पञ्चायतको समर्थनमा प्रचारमा उत्रिए ।

सरकारी सञ्चारमाध्यम र राज्यद्वारा पालित–पोषित पत्रकारहरु पञ्चायती सत्ताको रक्षामा तल्लिन थिए भने प्रजातन्त्र चाहने पत्रकारहरु जनताको पक्षमा अनेक दुःख–कष्ट सहेर लेखिरहेका थिए । २०४४–०४५ तिर पत्रकारितामा प्रवेश गरेको म जस्तो २०–२१ वर्षको युवकलाई अग्रजहरुले जनतालाई स्वतन्त्रताको अधिकारबाट गराउने पञ्चायतको बिरुद्ध लाग्नुपर्छ भनेर सिकाउनु भएको थियो । झापामा पञ्चायतकालमा प्रायः पत्र–पत्रिका पञ्चायत व्यवस्थाप्रति समर्पित भएर निस्कन्थे । तर, तारा बरालको सम्पादनमा २०४० सालदेखि चन्द्रगढीबाट प्रकाशित हुने साप्ताहिक विचार पत्रिका भने खुलेर बहुदलको पक्षमा लेख्दथ्यो ।

हामी त्यही पत्रिकामा काम गर्दथ्यौं । म (कृष्ण हुमागाँई) बिष्णु निष्ठूरी, कृष्ण धारावासी, भरत भूर्तेल, गोबिन्दचन्द क्षेत्री, रामनाथ बाँस्कोटा, धर्म गौतम, बिमल बैद्य, लोकराज ढकाल, लेखनाथ परदेशी, ज्ञानमणि भूर्तेल, प्रकाश बुढाथोकी, गोपाल सापकोटा, एसएल शर्मा रश्मिशेखरजीहरु साप्ताहिक विचारमा आवद्ध थियौं । भरत भूर्तेलले पछि श्यामकृष्ण उपाध्यायको आलोक पत्रिका आफैं प्रकाशन गर्न थाल्नुभयो । बामपन्थी भए पनि माधव विद्रोही पनि साप्ताहिक विचारमा लेख्नुहुन्थ्यो । झापामा रहेर केन्द्र (राजधानी काठमाडौं)का पत्र–पत्रिकामा लेख्ने राष्ट्रपुकारमा सीके प्रसाई, केशव धिताल र डिकमान विरही, राजेश ढुङ्गाना, देशान्तरका केशव आचार्य, प्रकाशका चन्द्र भण्डारी, डा. ऋषिकेश उपाध्याय, विमर्शका कृष्ण दाहाल, भरत कोइराला, सन्तोष अग्रवाल, लक्ष्मण ढकाल, दृष्टिका माधव विद्रोही लगायतका त्यसबेलाका बहुदल पक्षधर लेखक, पत्रकारहरुले प्रजातन्त्रको पुनर्वहालीका लागि कलम चलाएको पाइन्छ । द्रोणचार्य क्षेत्री, भवानी घिमिरे, चुडामणि रेग्मी, हिरा आकाश, सूय नेपाल, मिश्र बैजयन्र्ती लगायतका कवि लेखक साहित्यकारले समेत बहुदलीय व्यवस्थाको पक्षमा जनतामा चेतना भर्ने कार्य गर्नुभएको पाइन्छ ।

पञ्चायतको पक्षमा लागेर प्रजातन्त्रको विरोध गर्दै दलमाथिको प्रतिबन्ध हटाइनु हँुदैन भनेर लेख्ने पञ्चायती व्यवस्था समर्थक पत्रिकाको दबदबा त्यस समयमा पञ्चायत समर्थक पत्रिकामा काम गरेता पनि गञ्जबहादुर दाहाल, गोपाल गिरी, राजबाबु शंकरले भने प्रजातन्त्रको विपक्षमा आफूलाई प्रस्तुत गर्नु भएन भन एकमात्र सरकारी टेलिभिजन नेपाल टिभीका सम्वाददाता लक्ष्मी लुइँटेल पनि बहुदल कै पक्षमा हुनुहुन्थ्यो । सरकारी अन्य पञ्चायत समर्थक र वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरुको चर्चा गर्नु यहाँ सान्दर्भिक नहुने ठानेर चर्चा गरिएन । बहुदलको पक्षमा कलम चलाउनेभन्दा ठूलो संख्या पञ्चायत समर्थक पत्रकारहरुको थियो त्यसताका झापामा । पञ्चायत समर्थक पत्र पत्रिकाले सरकारी विज्ञापन सुविधा सजिलै रुपमा पाउने, लोक कल्याणकारी सुविधा सहजै पाउने, पत्रिका पनि सेन्सर नहुने । तर, प्रजातन्त्रवादीहरुले सञ्चालन गरेका पत्र पत्रिकाले पञ्चायती सत्ताबाट सेन्सर गराइरहनुपर्ने, सरकारी विज्ञापन र सुविधा नपाउने, पत्रिका बेला–बेलामा प्रतिबन्धित हुने अनि अदालतबाट प्रतिबन्ध फुकुवाको आदेश पाएपछि पुनः सञ्चालन हुने अवस्था थियो ।

२०४६ अघि कस्तो थियो प्रविधि ?

२०४६ सालको जन आन्दोलन सफल भएर प्रजातन्त्रको पुनर्वहाली भएपश्चात २०४७ सालमा नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा वापन्थीहरु समेत सम्मिलत भएर अन्तरिम सरकार बन्यो । त्यो सरकारले संविधान निर्माण ग¥यो र २०४८ सालमा आम चुनाव भएपछि नेपाली कांग्रेसमा महामन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले पत्र पत्रिकालाई प्रतिबन्ध लगाउन नपाइने गरी छापाखाना तथा पत्र पत्रिका सम्बन्धी ऐन जारी ग¥यो । यो ऐन जारी भएसँगै नेपालमा सञ्चारले उद्योगको रुप लियो र सञ्चारका नयाँ प्रविधिका मेसिन र उपकरणहररु भित्रिए ।

नत्र पञ्चायतकालमा टेलिफोन पनि नगन्य स्थानमा मात्र थियो । भद्रपुर र दमकमा केही लाइन टेलिफोन बाहेक समग्र झापा सञ्चार सम्पर्कविहीन थियो । पत्रिका छाप्ने मेसिन पनि टेलर मेसिन भन्थ्यो, बिजुली जाँदा हातैले ठेलेर छाप्नु पर्दथ्यो । हातले समाचार लेखेर हुलाकबाट पठाउने वा नजिकै भए साइकल कुदाएर पत्रिकाको कार्यालयमा पु¥याउनु पर्दथ्यो । टाढालाई हुलाकबाट खामबन्दी गरेर पठाइन्थ्यो । छापाखाना पनि लेटर प्रेस हुन्थ्यो । सीसाका अक्षरहरु फलामको गेलीमा चाबीवाला स्टीक र सीसा अनि प्लाइकाठको लिडमा कम्पोज गरेर लिथोबाट प्रिन्ट निकालेर प्रुफ हेरिन्थ्यो । क्यामेरा पत्रकारहरुसँग बिरलै हुन्थ्यो । कसैको वा कार्यक्रमको फोटो छाप्नु प¥यो भने भारतको कलकत्ता वा पटना र काठमाडौं जिन्क ब्लक बनाउन पठाउनुपथ्र्यो । पछि भारतको सिलगढीमा फोटोको ब्लक बन्न थालेपछि भने आजको कार्यक्रमको ब्लक पर्सीको पत्रिकामा छाप्न सकिने भयो ।

सरकारी कार्यक्रमको र मन्त्रीहरुका फोटोको ब्लक भने सूचना बिभागले सबै पत्रपत्रिकालाई हुलाक मार्फत उपलब्ध गराउदथ्यो । सिसाको अक्षर केही वर्षमा पुरानो भएर लत्पत हुन्थ्यो, प्रष्ट बुझिँदैनथ्यो । त्यसपछि त्यो सिसालाई भारतको पटना वा कलकत्ता पु¥याएर नयाँ बिभिन्न डिजाइन र साइजका अक्षरहरु रिकाष्टिङ्ग गरेर ल्याइन्थ्यो । टेवलमा अक्षर राख्ने काठको कोठै कोठा भएको केशमा राखेर एक–एक अक्षर छानेर कम्पोज गरिन्थ्यो । ठूला पोष्टर पम्पप्लेट छाप्नु परेमा काठका ७२ र १०० पोइन्टका अक्षर जोडेर सीसाका क्यारेट, कोटेशन ब्लकमा अड्याएर चाबीले फ्रेममा कसेर मेशिनमा राखेर छापिन्थ्यो । त्यो बेला पत्रिकामा पूर्णकालिनरुपमा काम गर्नेहरुले कम्पोज पनि गर्न आवश्यक थियो र म पनि आफैं कम्पोज समेत गर्दथें । अहिलेको जस्तो कम्प्युटरको किबेर्डमा कुन अक्षर कहाँ छ भनेर टाइप गरेजस्तो सजिलो थिएन । केशको प्वालमा कुन अक्षर कहाँ छ त्यो सम्झेर एक–एक अक्षरहरु टिपेर स्टिकमा मिलाउनु पर्दथ्यो ।

प्रजातन्त्रको पुनर्वहालीमा नेपाली प्रेसले अतुलनीय सहयोग गरेको भन्दै २०४७ सालमै कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले पत्रपत्रिका छाप्ने कागजमा सहुलियत प्रदान ग¥यो, नेशनल ट्रेडिङ्ग कर्पोरेशनबाट पत्रपत्रिकाले सहुलियतमा कागज किन्न पाए । नत्र पञ्चायतकालमा पञ्चायत समर्थकलाई पत्रिकालाई कागज खरिदमा सहुलियत माथि सुविधा थपिइरहँदा प्रजातन्त्र पक्षधर पत्रिकाहरुले कागजका लागि भारतीय बजारमा निर्भर हुनुपर्दथ्यो । सानो बजार, सदरमुकाम भद्रपुर–चन्द्रगढी, दमक र धुलाबारी मात्र बजार थियो । बिर्तामोड यति ठूलो थिएन । २०४६ साल अघि बिर्तामोडमा एक लाइन टेलिफोन पनि थिएन । २०४६ पछि वाणिज्य संघले एउटा भिएचएफ टेलिफोन सेटबाट पिसिओ सञ्चालनमा ल्यायो । त्यसबेला काठमाडौं फोन गरेको १५ रुपैयाँ मिनेट र इलामको सात रुपैयाँ तिर्नु पर्दथ्यो । अमेरिका गरेको तीन सय प्रति मिनेटले लिन्थ्यो । आज नेटबाट घटौं निःशुल्क कुरा गर्न सकिन्छ । आजको पुस्तालाई यो कुरा कथा जस्तो लाग्नसक्छ, तर यो यर्थाथ हो ।

आजको प्रविधि र पत्रकारिता

मुलतः २०४६ सालको परिवर्तनपछि नेपाली पत्रकारिताले व्यवसायिक रुप धारण गरेको हो । २०४८ को छापाखाना तथा पत्रपत्रिका सम्बन्धी ऐनले पत्रपत्रिका प्रतिबन्ध नलगाउने प्रत्याभूति गरेपछि कान्तिपुर लगायतका निजी क्षेत्रमा सञ्चारमाध्यमहरु, निजी टेलिभिजन र रेडियो स्टेशनहरु स्थापना भए । अहिले त डिजिटल मिडिया आएको छ । फ्याक्स, टेलिफोन, मोबाइल, कम्प्युटर, ल्यापटप, फोटोकपी, अफसेट प्रेस, डिजिटल कलर प्रेस, हाइ रोजुलेसन डिजिटल क्यामेरा, इमेल, इन्टरनेट, आदिको सुविधाका कारण आज डिजिटल मिडिया सबको हात–हातमा पत्र–पत्रिका, रेडियो र टिभी एकैसाथ छ । आज प्रविधिले पत्रकारलाई सजिलो जति बनाएको छ, त्यति नै अल्छि पनि बनाउँदै लगेको छ ।

छापा माध्यमलाई प्रकाशन प्रविधि र बितरणको केही झण्झटिलो प्रक्रिया पार गर्नु पर्दछ भने रेडियो, टेलिभिजन र अनलाइन पोर्टलहरुलाई छापाको तुलनामा धेरै सजिलो भएको छ, निमेशभरमा संसारभर आफनो उत्पादनलाई पठाउन र पढाउन सजिलो भएको छ । पर्याप्त सवारीसाधनको सुविधा नहुँदा पनि हिजाका दिनमो धेरै पत्रकारहरु फिल्डमा खटिन्थे, तर आज एउटाले दुःख गरेर संकलन गरेको सामग्री फुटेज, फोटो वा टेक्स नै कपी गरेर, केही मोडिफाई गरेर अर्कोले पस्किरहेको पाउँछौं । यसले फिल्डमा खटने पत्रकारको संख्या घटाएको छ । प्रविधिको प्रयोग गरेर घर तथा अफिसमै बसेर पनि समाचार संकलन र सम्प्रेषण गर्न सकिने अवस्थाले जति सजिलो बनाएको छ, त्यति नै जनसम्पर्क र धरातलीय यर्थाथलाई बुझ्न झन् कठिन हुँदै गएको छ । आफू फिल्डमा नगएपछि अरुले संकलन गरेको सामग्री कति सही या गलत भन्ने कुरा फिल्डमा नजाने पत्रकारले छुट्याउन, खुट्याउन सक्ने कुरै भएन ।

आज व्यवसायिक पत्रकारिताका नाममा कर्पोरेट हाउसको स्वार्थमा सञ्चारमाध्यम परिचालित र प्रयोग भएको अवस्था छ । हिजोका दिनमा मिसन प्रजातन्त्र, मानव अधिकार, न्याय, समानता र स्वतन्त्रता थियो । आज मिसन पैसा कमाउ, व्यवसायिक पत्रकारिता भनेको व्यापार गरेर पैसा कमाऊ भने जस्तै हो भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ । विभिन्न स्वार्थ समूहले विभिन्न उद्योग खोल्ने, त्यही समूहले बैंक, लघुवित्त, इन्स्युरेन्स कम्पनी र मिडिया हाउस सञ्चालन गर्ने अनि मिडियाको आडमा ठेक्कापट्टा, बन्द व्यापार, उद्योग कलकारखानमा गरे भएका गडबडीलाई ढाकछोप गर्ने । मिडियाको बलमा राजनीतिलाई मलजल गर्ने, स्वार्थ समूहले जाताले गाँस काटेर जोगाएर राखेको बचत रकम अनाधिकृत रुपमा पैसा अपचलन गरेर मिडियाका नाममा जनताको पैसामा दाइँ गरेको तथ्यहरु एकपछि अर्को गर्दै पटाक्षेप हुँदै गरेको अवस्था छ अहिले ।

पत्रकारितमाा पैसावाला र पहुँचवालाको मात्र बोलवाला हुँदै गएको छ । धनीले सानो कुरा गरे पनि समाचार बन्ने तर गरीबले ठूलै काम गरे पनि, आत्मनिर्भर हुँदै स्वरोजगारी भएर गरीबीबाट मुक्ति पाए पनि त्यो कमै मात्र समाचार बन्ने गलत परिपाटीको विकास गर्न खोजिँदैछ । गरीबले भोग्नु परेका जीवनयापनका समस्यामा कलम चल्न कम भएको छ । गरीबीले देश बिकासमा पारेको बाधा र गरिबी निवारणका उपायहरुका विषयमा कसैले आफ्नो वा परिवारका सदस्यको जन्मदिनमा प्रचारका लागि कुनै संस्थालाई प्रदान गरेको पाँच–दश हजार रकमको समाचारले प्राथमिकता पाएरहेको देखिरहेका छौं हामी वर्तमानमा ।

धनीमानीले आफ्ना, बाउ–बाजेका तिथि सरादमा पशुपंक्षीलाई सडेगलेका खानेकुरा वितरण गरेका र केही छिमेकीलाई बाँडेको प्रसादी र केही सामान्य दान दातब्यको समाचार बन्ने तर गरीबले गरेको श्रमदान अनि गरीबको घरको चुल्हो नबलेर तिनका छोरा–छोरी भोकै सुत्न परेको पीडाको कथाले स्थान नपाउने, गरीबको झुपडीमा बर्खामा पानी चुहिएर अनिदै रात गुजारेको पीडालाई वास्ता नगर्ने, मिटर ब्याजी साहु र बंैकरको ठगीमा परेर उठिबास लागेका मानिसहरुको वेदनाले स्थान नपाउने हामी कस्तो पत्रकारिताको अभ्यास गरिरहेका छौं ? हुनेखानेले गरेका पत्रकार सममेलनमा बाडिने खामको पछि दोडिएको हाम्रो पत्रकारिता कहाँ पुगेर रोकिने हो ? पैसा नहुनेका कार्यक्रममा पत्रकार आउँदै आउदैनन् । यो संसार धनी पुँजीपति वर्ग र तस्कर माफियाकै भयो । यो लोकतन्त्रमा गरीबको झन् हुर्मत भयो भन्ने जनगुनासो चुलिएको तर्फ अब पत्रकारका आँखा र कान खुल्नुपर्छ ।

पत्रकारिता एउटा सामान्य पेशा व्यवसाय मात्र होइन । यो पेशा देश, समाज र जनताको हितकाप्रति संवेदनशील भएर गरिने निष्ठापूर्ण विवेकशील कार्य पनि हो, यसले न्याय, समानता, स्वतन्त्रता र जनहितको पक्षमा आफूलाई उभ्याउनै पर्दछ । अरु पेशामा बुद्धि लगाउँदा हुन्छ, तर पत्रकारितामा विवेक भन्ने कुराले ठूलो महत्व राख्दछ । अरुमा नाफा, फाइदा मात्र हेरिन्छ । तर, पत्रकारितामा मैले गरेको पत्रकारिताले यो देश, समाज र जनताको उन्नति प्रगतिमा के योगदान दियो भन्ने कुरालाई ख्याल गर्नु आजको पत्रकारिताको परम कर्तव्य र दायित्व पनि हो । यस कुरालाई आजको दक्ष, प्रश्क्षिित र प्रविधिमा निपुण पत्रकार साथीहरुले गम्भिरतापूर्वक ध्यान दिइदिए हुन्थ्यो जस्तो लाग्दछ ।

(हुमागाँई नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सभापति हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here