अव्यवस्थित तार र बिजुलीका पोल हटाइँदै

0
4

दमक ।

दमक नगरभित्रका अव्यवस्थित तार र बिजुलीको पोल हटाउने काम शुरु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बिजुलीका पोलमा अव्यवस्थित रूपमा टाँगिएका इन्टरनेट, टेलिफोन र केवल टेलिभिजनको तार हटाउन थालेको प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले बताए । उनका अनुसार प्राधिकरणले आफ्नो स्वामित्वका विद्युतीय पोलमा टाँगिएका केवल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थित गर्न यो काम थालेको हो ।

प्राधिकरणले चार सय भोल्ट लाइनको नाङ्गो तार र अन्य सेवा प्रदायकले टाँग्ने तारबीच ८० सेन्टिमिटरको दूरी हुनुपर्ने जनाएको छ । यस्तो तार र पैदलमार्गबीच दुई दशमलव चार मिटरको दूरी (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ ।

त्यसैगरी, चार सय भोल्टको ‘इन्सुलेटेड’ तार र अन्य तारबीच ३० सेमीको दूरी र यस्तो पोलमा पैदलमार्गसँग तारको दूरी पाँच दशमलव पाँच मिटर कायम गर्नुपर्ने प्राधिकरणले जनाएको छ । उनले तार हटाउने कार्यसँगै सडक मापदण्डअनुसार दुई सय ९० वटा पोल समेत हटाइने जानकारी दिए । अहिले ठूला पोल गाड्ने काम भएकाले सोही पोलमा अन्य कम्पनीका तारहरु सार्न लगाइएको उनले बताए । आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन र शहरी सुन्दरता कायम राख्न यो काम थालिएको उनको भनाइ छ ।

केवल, इन्टरनेट, टीभीलगायत तारहरु नयाँ पोलमा सार्न नगरपालिकामार्फत व्यवसायीलाई अनुरोध गरिएको छ । उनले भने– तोकिएको समयमा व्यवस्थापन नगर्ने÷नगराउने सेवा प्रदायकहरूको केबललगायत उपकरण नेपाल विद्युत् प्राधिकरण ऐन ०४१ बमोजिम प्राधिकरण आफैँले हटाउने र यसबाट हुनसक्ने नोक्सानी सम्बन्धित सेवा प्रदायक स्वयम् जिम्मेवारी हुनुपर्ने यसअघि पटक–पटक सूचना जारी गरिएकाले अहिले सोही अनुसार काम भइरहेको छ ।

एघार केभी र ३३ केभी लाइनमा विद्युत्को तार र अन्य तारबीचको दूरी दुई मिटर, चार सय भोल्टका उपकरण र तारबीचको दूरी ७५ सेमी हुनुपर्ने प्राधिकरणको नियमावलीमा उल्लेख छ । प्राधिकरणले राउटर, रिपिटर, एक्ट्याक्टर, अप्टिकल फाइबर वितरण बक्स, जोइन्ट क्लोजरजस्ता उपकरण पोलको एकातर्फ क्रम मिलाएर नहल्लिने, नझर्ने गरी क्लीप ब्यान्डको प्रयोग गरी राख्न निर्देशन दिएको छ ।

दमक नगरपालिकाको पहलमा विद्युत् प्राधिकरणले बजारभित्रको विद्युत् आपूर्ति व्यवस्था गर्न सडकको दुवै किनारमा विद्युत् पोलसहितको तार जडान गर्ने काम भइरहेको दमक नगरप्रमुख रामकुमार थापाले बताए । विद्युतीय पोल प्रयोग गरी जथाभावी झुण्ड्याइएका उपकरणले शहरलाई कुरुप बनाएको उनको भनाइ छ ।

आगलागी लगायत विद्युतीय दुर्घटना बढ्दै गएको र विद्युतीय सेवा अवरोध हुने भएकाले अव्यस्थित तार र पोल हटाउन थालिएको हो– उनले भने– अहिले दमक नगरका चोकबजारका तारहरु हटाउने कार्य शुरु भएको छ, अब नगरभरि यो अभियान चलाइन्छ । दमकमा विभिन्न नाममा सञ्चालित ३२ वटा कम्पनीले तार जडानको काम गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here