हस्तान्तरणको प्रक्रियामा ‘भ्यू टावर’

0
3

झापा ।

राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको झापाको दमकमा निर्माण गरिएको ‘भ्यू टावर’ हस्तान्तरणको प्रक्रियामा रहेको छ ।

झण्डै डेढ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको भ्यू टावरको हस्तान्तरणको प्रकृया थालिएको सघन शहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख सुदीप पौडेलले जानकारी दिए ।
भ्यू टावर निर्माण सम्पन्न भएसँंगै सरसफाईको काम भइरहेको बताइएको छ । व्यापरिक केन्द्र सहितको भ्यू टावरले पूर्वी नेपालको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । संघीय सरकारको बजेटमा निर्माण भएको टावर नेपालकै नमूना र फरक डिजाइनमा तयार भएको छ । नयाँ प्रविधिमा निर्माण गरिएको १८ तले भ्यू टावर १ सय मिटर अग्लो रहेको छ ।

दमक नगरपालिका–३ स्थित दापगाछीमा २०७६ साल असार २७ गते बाट निर्माण शुरु गरिएको भ्यू टावरको ३० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । चिनियाँ कम्पनी सिजिआइइसी र आशिष ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएका थिए । कोभिड–१९ को महामारीको दुई लहर, कन्स्ट्रक्सन होलिडे र बजेट अभावका कारण यसको निर्माण कार्य अवधि थपिएको थियो ।

दमक बजारबाट झण्डै तीन किलोमिटर पश्चिम उत्तरमा निर्माण गरिएको भ्यू टावर राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको छ भने लगानीको दृष्टिकोणले नेपालको दोस्रो ठूलो टावर हो ।

भ्यू टावर निर्माणका क्रममा कतिपय अवस्थामा भारतबाट विशेषज्ञ झिकाएर उच्च स्तरीय प्रविधिमा टावर निर्माण गरिएको निर्माण कम्पनी ओम साइराम कन्ट्रक्सनका प्रबन्ध निर्देशक इञ्जिनियर विजय शाहले बताए । भ्यू टावर निर्माणमा रु. एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ रुपैयाँ लाग्ने शुरुको सम्झौता भए पनि पछि नौ प्रतिशत लगानी बढेर कूल लागत भ्याटबाहेक रु. एक अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ रुपैयाँ रहेको र सम्पूर्ण लागत नेपाल सरकारले व्यहोरेको बताइएको छ ।

भ्यू टावरको नेस्ट, पिकासो र नेपाल आर्किटेक्चर कम्पनीले नक्साङ्कन गरेको थियो । भ्यू टावरको भवन निर्माणसँगै परिसरको टिकट काउन्टर, कोशेली घर, चिल्ड्रेन पार्क, सार्वजनिक शौचालय र खुला ठाउँ थिएटरको निर्माण सम्पन्न भइसकेको छ । टावरको हरेक तला चार मिटर उचाइको रहेको छ । भवनका सबै तलामा पिउने पानी पु¥याउने प्रशोधन प्लान्ट जडान गरिएको छ भने शौचालयमा प्रयोग भइसकेको पानीलाई प्रशोधन गरेर बगैँचामा प्रयोग गर्न सकिने बताइन्छ ।

विस्तृत परियोजना प्रस्ताव (डीपीआर) अनुसार निर्माणाधीन भ्यू टावरको भुइँतलामा ४० वटा चारचक्के र दुई सय वटा दुईचक्के सवारीसाधन अट्ने क्षमताको पार्किङस्थल रहेको छ । चारवटा तलामा व्यापारिक प्रयोजनका पसलहरु, पाँचौँ तलामा सेमिनार हल, छैटौँदेखि नवौँ तलासम्म बैंक, वित्तीय संस्थालगायत व्यापारिक केन्द्र, दशौँदेखि चौधौैँ तलासम्म कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, पन्ध्रौँ र सोह्रौँ तलामा रेस्टुरेन्ट र लज रहने र सत्रौँ तथा अठारौँ तलामा दृश्यावलोकन उपकरणसहितको कक्ष रहने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here