बिर्तामोड नगरपालिकामा टोलटोलमै न्याय सम्पादन,छलफलबाटै टुङ्ग्याइन्छ अधिकांश उजुरी

0
3

झापा।

बिर्तामोड नगरपालिकाको न्यायिक समितिले टोलटोलमै पुगेर न्याय सम्पादन गर्दै आएको छ ।

सबैका लागि न्याय सुनिश्चित गर्दै न्यायिक समिति प्रतिको जनआस्था र विश्वास कायम गराउन बिर्तामोड नगरपालिकाले टोलटोलमै पुगेर न्याय सम्पादन गर्दै आएको हो । वडाको मेलमिलाप केन्द्रदेखि नै सरल र गुणस्तरीय सेवा प्रदान गरी न्यायमा सबैको पहुँच स्थापित गराउन मेलमिलाप केन्द्रका पदाधिकारीलाई पर्याप्त तालिम दिएर परेका उजुरी माथि छलफल हुने गरेको छ ।

वडामा पर्ने उजुरीहरु मेलमिलाप गराउन बिर्तामोड नगरपालिकाका १० वटै वडामा मेलमिलाप केन्द्र गठन गरी वडामा परेका उजुरी माथि न्यायिक कारवाही हुने गरेको बिर्तामोड नगरपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए ।

न्यायिक समितिमा पर्न आउने विवादको कारवाही प्रक्रियामा सूचना प्रविधिको प्रयोग गरी फैसला लेखन, मिलापत्र लेखन लगायतका मुद्दाको प्रक्रियागत कामलाई छिटो छरितो र चुस्तदुरुस्त राख्ने गरिएको न्यायिक समिति संयोजक संग्रौलाको भनाइ छ । प्रभावकारी रुपमा न्यायिक सम्पादन गर्दै आएको बिर्तामोड नगरपालिकाको न्यायिक समितिले मानव अधिकारको संरक्षण गरी समाजमा हुने हिंसाजन्य घटना र अन्य विवादहरुको न्यूनीकरण समेत छलफल बाटै टुङ्ग्याउने गरेको छ । जसका लागि हरेक टोलटोलमा कानूनी सचेतना कार्यक्रम सञ्चालन समेत गर्दै आएको संग्रौलाको भनाइ छ ।

बिर्तामोड नगरपालिकाको न्यायिक समितिले वडामै मेलमिलापको लागि पहिलो चरणमा उजुरी लैजानुपर्ने व्यवस्था गरेको छ । वडामा मेलमिलाप नभएका मुद्दा मात्रै नगरपालिका आउने गरी परिबन्द मिलाइएको छ । कतिपय मुद्दाको प्रकृति अनुसार सिधै नगरको न्यायिक समितिमा आउन पनि बाटो खुल्ला गरिएको बताइएको छ ।

बिर्तामोड नगरपालिकाले टोेलटोलमै पुगेर न्याय सम्पादन थालेसंँगै नगरमा उजुरी कम परेको बताइन्छ । बिर्तामोड नगरपालिकाको न्यायिक समितिमा अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा एक सय ७ वटा उजुरी परेका थिए भने १५ वटा उजुरी जिम्मेवारी सरी आएका थिए । दायित्व सरी आएका र नयाँ मुद्दाका उजुरी गरी आर्थिक वर्ष २०७९÷०८० मा न्यायिक समितिमा भएका उजुरीको संख्या १ सय २२ थियो ।

तर, यो आर्थिक वर्षको हालसम्म ७४ वटा मात्र मुद्दा संख्या रहेको बताइएको छ । जसमा जिम्मेवारी सरेर आएका ३३ वटा मुद्दा थप गर्दा न्यायिक समितिमा भएका मुद्दाको संख्या एक सय ७ हुन आउँछ । यो आर्थिक वर्ष हालसम्म ३५ वटा मुद्दा फछ्यौट भएको नगरपालिकाकी उजुरी प्रशासक टीकामाया लामिछानेले बताइन् ।

ज्येष्ठ नागरिकहरुको पालनपोषण सम्बन्धी उजुरी

न्यायिक समितिमा ज्येष्ठ नागरिकहरुको पालनपोषण सम्बन्धी उजुरीहरु पर्न थालेको पाइएको छ । यस अघि जग्गा – सीमा विवाद, लेनदेन, घर बहाल जस्ता उजुरी न्यायिक समितिमा पर्ने गरेपनि पछिल्लो समय ज्येष्ठ नागरिकका उजुरी पर्न थालेको उजुरी प्रशासक लामिछानेले बताइन् ।

ज्येष्ठ नागरिकलाई परिवारले हेला गर्ने, पैतृक सम्पत्तिमा हक जमाउने, अंश वापत घरमूलीले ज्यूनी राखेको जमिनको भोगचलन गर्ने जस्ता समस्या लिएर ज्येष्ठ नागरिकहरु न्यायिक समितिमा आउने गरेको लामिछानेको भनाइ छ ।

घर वहाल सम्बन्धि उजुरी बढ्दै

बिर्तामोड नगरपालिकामा घर बहाल सम्बन्धी समस्या बढेर गएको छ । बिर्तामोड नगरपालिकाको न्यायिक समितिमा आएका उजुरीहरुको आधारमा विगतका वर्षभन्दा यो वर्ष घर बहाल समस्या बढेर गएको देखिएको छ ।

न्यायिक समितिका अनुसार केही वर्षअघिसम्म घर बहाल सम्बन्धी समस्या न्यायिक समितिसम्म पुग्दैन थियो । अहिले घरधनी र बहालवाला बीचको समस्या उजुरीको रुपमा दर्ता हुन थालेको छ । घरधनीले थाहै नपाई बहाल लिनेले विक्री गरेका उजुरी धेरै पर्ने गरेको बताइन्छ । सम्झौता नगर्ने, विभिन्न बहानामा भाडा नदिने, घर खाली गर्न नमान्ने र घरधनीलाई थाहै नदिई भाडा लगाउने, विक्री गर्ने जस्ता समस्याहरु न्यायिक समितिमा आएको लामिछानेको भनाइ छ ।

घर बहाल सम्बन्धी उजुरी होटल, सहकारी, व्यवसायीहरुको विरुद्धमा परेका छन् । सहकारी बन्द गरेर भाडा नतिरी छाडेको उजुरी समेत न्यायिक समितिमा पर्न थालेको बताइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को ४७ (१) बमोजिम त्यस प्रकारका उजुरी दर्ता भएको लामिछानेले बताइन् । घर बहाल सम्बन्धी मुद्दा आउँदा बहाल कर संकलनमा समेत सहयोग पुगिरहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here