सत्य, अहिंसा र संयम जागोस्

0
4

आज बैशाख पूर्णिमा । यस दिनलाई बुद्ध जयन्ती पनि भनिन्छ । बुद्ध जसलाई भगवानका रुपमा श्रद्धा गरिन्छ, उनले दिएका सन्देशहरु आज विश्वका पैंतीस करोडभन्दा बढी मानिसका लागि मार्गदर्शन बनेको छ । विश्वको चौथो ठूलो धर्म दर्शनका रुपमा स्थापित बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धको उद्गम थलो नेपाल हो । त्यहीकारण नेपाललाई विश्वमै शान्तिको देशका नामले पनि चिनिन्छ । आजको दिन यसकारणले पनि विशेष दिन हो, जुन एउटै तिथिमा उनको जन्म, ज्ञान प्राप्ति र निर्वाण अर्थात् निधन भएको थियो । भगवान बुद्धको जन्म दरबारको सुखसयल भोग्ने कपिलवस्तु जिल्लामा भए पनि सानैदेखि उनी प्राणी एवम् जीवजगतलाई अगाध स्नेह गर्ने स्वभावका थिए । त्यसैले दरबार त्यागेर उनी ज्ञानको खोजीमा निस्किए । त्यही कठोर जीवन भोगाइले उनलाई महाज्ञान प्राप्त भयो । त्यसकै आधारमा उनी आज विश्वभर सम्पूज्य छन् ।

मानव जीवनमा आइपर्ने दुःख, पीडाहरुको निवारणको हुट्हुटीले २९ वर्षकै उमेरमा भर्खरै जन्मिएका सन्तान रपरिवारलाई त्यागेर हिँडेका सिद्धार्थ गौतमले कठोर साधना र तपस्या गरे । त्यसकै बलमा उनलाई सम्यक ज्ञान अर्थात् महाज्ञान प्राप्त भयो । त्यही ज्ञान आफ्ना शिष्यहरु मार्फत संसारलाई बाँडे । सत्य, अहिंसा र धर्मको बाटोमा हिँड्न संसारलाई प्रेरित गरे । अन्ततः उनै सिद्धार्थ गौतम भगवान बुद्धमा रुपान्तरित भए । तिनै भगवान बुद्धको जन्मस्थल लुम्बिनी आज विश्वका बौद्धमार्गीहरु मात्र होइन वैदिक सनातन हिन्दू धर्म मान्नेहरुका लागि समेत पवित्र तीर्थस्थलका रुपमा प्रशिद्ध छ । हिन्दू धर्मावलम्बीहरुले त भगवान बुद्धलाई भगवान विष्णुको दशौं अवतारका रुपमा पूजा गर्ने गरेका छन् ।

भगवान बुद्धका उपदेश र शिक्षाका वाणिहरुलाई सङ्ग्रह गरिएको पुस्तक त्रिपिटक हो । जसमा बुद्धका भौतिक गुणहरुको विस्तारपूर्वक वर्णन गरिएको छ । चौरासी हजार ज्ञानसूत्र सङ्ग्रह गरिएको त्रिपिटकमा बुद्धका दार्शनिक सिद्धान्तहरु समेटिएका छन् । बुद्ध भनेकै अन्तिम सत्यको पहिचान गरेको महामानव हो । आज बुद्धका उपदेश विपरीत देश–देशका बीचमा लडाइँ भइरहेको छ । रङ्ग, सम्पत्ति, भाषा, जाति, भूगोल र धर्मका नाममा विद्वेष र विभेद भइरहेको छ । यस्तोमा बुद्धका सन्देश र शिक्षा सम्पूर्ण मानव जातिका निम्ति झनै सान्र्दभिक छन् । हामीलाई नै बुद्धको शान्ति चाहिएको छ । देशमा भइरहेको विकृति, विसंङ्गति, अनियमितता, अनैतिकता र विखण्डनको पर्खाल तोडेर शान्त, संयमित, धैर्य र उदारतासहितको नेपालको खाँचो छ । त्यही सन्देश विश्वभर प्रवाह गर्ने भगवान बुद्धको विशेष दिन हामी सबैलाई बुद्धको सन्देशले सिञ्चन गरोस् । सबैमा बुद्ध पूर्णिमाको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here