रामजानकीको आयव्यय सार्वजनिक

0
6

बुधबारे ।

बुद्धशान्तिमा रहेको रामजानकी मन्दिरको २५औं वार्षिक उत्सवको अवसरमा आयोजित पुराणको आयव्यय सार्वजनिक गरिएको छ ।

गत बैशाख ५ गतेदेखि १३ गतेसम्म सञ्चालित श्रीलिङ्ग महापुराणको आयव्यय सार्वजनिक गरिएको मन्दिरका अध्यक्ष टंक विकल्प काफ्लेले जानकारी दिए ।

पुराणमा सहयोगवापत दुई लाख ८९ हजार पाँच सय रुपैयाँ, नयाँ सदस्य शुल्क वापत एक लाख २३ हजार २१ रुपैयाँ, अक्षयकोष वापत नौ हजार दुई सय रुपैयाँ र जिन्सी सामान बिक्रीबाट चार हजार चार सय ६० रुपैयाँ संकलन भएको थियो ।

पुराणमा पूजा सामग्री खरिदमा ५० हजार चार सय ६९, खाद्य तथा अन्य सामग्री खरिदमा ८६ हजार ७५ रुपैयाँ, यातायात तथा प्रचारप्रसारमा १३ हजार रुपैयाँ, निमन्त्रणा, ब्यानर, सम्मानपत्र लगायतका छपाइका क्रममा ३१ हजार एक सय ९० रुपैयाँ, दानदक्षिणा वापत एक लाख ३९ रुपैयाँ, साउण्ड सिस्टम टेण्ड तथा नौमति बाजालाई ५४ हजार पाँच सय रुपैयाँ प्रदान गरिएको जनाइएको छ ।

त्यस्तै भान्सा तथा अन्य कार्यका लागि खटिएकालाई पारिश्रमिक स्वरुप ५९ हजार पाँच सय रुपैयाँ प्रदान गरिएको, विविध खर्च तीन हजार रुपैयाँ खर्च भएको अध्यक्ष काफ्लेले जानकारी दिए । २५औं वार्षिक उत्सव तथा रजत वर्षको अवसरमा मन्दिरको प्राचीन इतिहासदेखि वर्तमानसम्मको चिनारीका साथै बुद्धशान्तिभित्रका अन्य मठमन्दिरको संक्षिप्त परिचय एवम् आध्यात्मिक जागरण सम्बन्धी विषयहरु समेटिएको रामजानकी दर्पण स्मारिका प्रकाशित गरिएको थियो ।

उक्त स्मारिकाको पुराणकै अवसरमा लोकार्पण गरिएको थियो । आचार्य मुकुन्द नेपालले प्रमुख ब्यासको रुपमा कथा वाचन गरेका थिए भने पाठपारायण पण्डित खगेन्द्र निरौलाले गरेका थिए । अनुष्ठानमा भक्तिसंगीत किशोर ढुंगाना, भरत प्रणामी र अनिषको रहेको थियो । सोही अवसरमा अनुष्ठानमा मन्दिरका लागि श्रम र समय प्रदान गर्ने पूर्व कर्मचारीद्वय खगेन्द्र अधिकारी र हेमप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा नयाँ सदस्यता लिने, आजीवन तथा श्रेयष्कर सदस्यहरुलाई समेत सम्मान गरिएको अध्यक्ष काफ्लेले जानकारी दिए । रामजानकी मन्दिरले हरेक वर्ष पुराणको आयोजना गर्दै आएको र आगामी वर्ष श्रीरामचन्द्र भगवानले शिवधनु उठाइ तादो चढाएको र माता जानकीले स्वयम्वरको माला लगाइ रामसीताको स्वयम्वर हुन लागेको धातुको प्रतिमा स्थापना गर्ने लक्ष्यका साथ पुराण आयोजना गरिने अध्यक्ष काफ्लेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here