कमलमा सिप सिकेपछि आएको परिवर्तन

0
7

कमल।

कमल गाउँपालिका–६ की विमला बराइलीलाई यतिबेला एकै छिन फुर्सद छैन । एक वर्ष अगाडिदेखि सिलाइ–बुनाइको सामान्य व्यवसाय शुरु गरेकी बराइली यतिबेला व्यावसायिक रुपमा सिलाइबुनाइ शुरु गरेपछि फुर्सद नै छैन ।
आफूले यसरी व्यवसाय शुरु गरुँला र यस्तो व्यस्तता हुन्छु भनेर सोचेको पनि थिइनन् । ‘समय र परिस्थितिले गर्दा यति व्यस्त भइयो की अहिले साथीभाइ आउँदा बोल्ने फुर्सद छैन ।’ –उनी भन्छिन् ।

विमला एक वर्ष अगाडिसम्म सामान्य दिन कटाउनका लागि घरमै सिलाइकटाई गर्दै आएकी थिइन् । जब गाउँपालिकाले महिलाहरूलाई क्षमता विकास अन्तर्गत तालिम सञ्चालन गर्ने बारेको सूचना पाइन् र वडामा गएर आफ्नो नाम दर्ता गराएपछि तालिममा सहभागी भएकी थिइन् ।

छ महिनाको तालिमपछि दुई–चार महिना घरमै सिलाइकटाइ चलाइन् । अहिले ‘श्री कमल ऊर्जाशील नारी लघुउद्यमी समूह’ नामको फर्म सञ्चालन गर्दै सिक्न चाहनेलाई विमलाले तालिम समेत दिइरहेकी छिन् ।

उनको आर्थिक पक्ष सबल हुनुका साथै दैनिक एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्म कमाइ हुन थालेको छ । यतिमात्र होइन उनीभित्र आत्माबल बढेको छ । समाजले उनलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको उनी बताउँछिन् । दुईचार जनाका अगाडि निर्धक्क आफ्ना कुरा राख्न सक्ने क्षमताको विकास भएको विमला बताउँछिन् ।
विमला त क्षमता विकासले ल्याएको परिवर्तनको एक प्रतिनिधि पात्र मात्र हुन् । कमल गाउँपालिकामा उनी जस्तै आफूलाई स्वरोजगार बनाएर विभिन्न पेशा र व्यवसायमा दर्जनौँ युवा संलग्न रहेका छन् ।

गाउँपालिकाद्वारा सञ्चालन भएको क्षमता विकास तालिमबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै स्थानीय विकास निर्माणका कार्यहरूलाई प्राथमिकतामा राखेर उचित खर्चको व्यवस्थापन गर्दै स्थानीयबासीको क्षमता विकास गर्दै उनीहरूको जीवनस्तर उकास्दै सभ्य समाजको निर्माण गर्न कमल गाउँपालिकामा लागीपरेको छ ।

कार्यक्रम सञ्चालन भएपछि कमल गाउँपालिकाले पालिकाभित्र स्थायीरुपमा बसोवास गर्ने नागरिकका लागि क्षमता विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । तालिम लिएपछि धेरै युवाहरूले आफ्नै व्यवसाय सञ्चालन गरेका छन् भने कतिपय युवा आफूले सिकेको सीप र क्षमतालाई सदुपयोग गर्दै वैदेशिक रोजगारीमा गएर राम्रो आम्दानी समेत गर्दै आएका छन् ।

गाउँपालिकाले गाउँमा रहेका नागरिकको क्षमता विकास गर्न सकेमात्र सिंगो पालिकाको विकास हुने भएकोले हरेक नागरिकलाई सक्षम बनाउन गाउँपालिकाले विभिन्न किसिमका क्षमता विकाससँग सम्बन्धित तालिम सञ्चालन गरिरहेको छ ।

पछिल्लो समय गाउँपालिकाले नागरिकको मागका आधारमा क्षमता विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । जस अन्तर्गत गत आर्थिक वर्षमा एसी फ्रिज मर्मत ४०, कफी बनाउने ६०, एडभान्स ड्राइभिङ ४०, लोकसेवा तयारी कक्षा ४०, ढाका तालिम लगायत बालबालिकाकालाई बालविवाह, बाल संरक्षण, लागूपदार्थ दुव्र्यसनी, उद्घोषणका साथै दलिततर्फ उद्यमशिलता, सिलाइकटाइ, नेतृत्व विकास जस्ता तालिम सञ्चालन गरेको थियो ।

त्यस्तै चालू आर्थिक वर्षमा एडभान्स मोबाइल मर्मत ३२, लोकसेवा तयारी एडभान्स ड्राइभिङ ३४, ब्युटिसियन २३, महिलालाई ठेला वितरण १४, महिला जनप्रतिनिधिलाई क्षमता विकास ४५, साबुन र फिनेल बनाउने ७० जनालाई क्षमता विकास सम्बन्धी तालिम सञ्चालन गरेको छ । तालिम लिएका हरेक युवाले आफूले सिकेको सिपका आधारमा स्वरोजगार बनेका छन् । तालिमले एकतिर व्यक्ति स्वरोजगार बनेपछि उसको जीवन स्तरमा परिवर्तन आएको छ भने अर्कोतर्फ पालिकाको राजस्वमा समेत वृद्धि भएको छ ।

पालिकाले तालिम दिएर स्वरोजगार बनाएका व्यवसायीलाई उनीहरूको व्यवसाय प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न गाउँपालिका सधँै तयार रहेको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए । युवाहरूलाई तालिम मात्र होइन उनीहरूलाई आफूले सञ्चालन गरेका व्यवसायलाई थप विस्तार गर्न पालिकाको स्रोत र साधनले भ्याएसम्म सहयोग गर्ने गरेको अध्यक्ष राईले बताए ।

पालिकाद्वारा सञ्चालित यस्ता तालिमले स्थानीयबासीलाई धेरै फाइदा पुगेको छ । तालिममा सहभागी कतिपय अहिले स्वरोजगार बनेका छन् भने तालिम लिएपछि उनिहरूमा आत्मबल बढ्नु का साथै केही गरौँ भन्ने हिम्मत समेत आएको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य बताउँछन् । सेवा प्रवाह र सेवाग्राहीबीचको सम्बन्धलाई समेत सुमधुर बनाएको छ । सेवा प्रवाह र सेवाग्राही दबैले आ–आफ्नो जिम्मेवारी र कर्तव्य बुझेर सेवा दिने र लिने हुँदा सहज भएको शाक्यले बताए ।

गाउँपालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरेसँगै पालिकाको आवधिक योजना निर्माण, वार्षिक रणनीतिक योजना निर्माण, सूचना प्रविधि, आन्तरिक नियन्त्रण प्रणाली लैङ्गिक समानता, आर्थिक योजना निर्माण लगायतका क्षेत्रमा समेत कार्यक्रमको प्रत्यक्ष प्रभाव परेको छ ।

आगामी दिनमा प्रदेश र स्थानीय तह मिलेर जनताको न्यूनतम आवश्यकताका साथै रोजगारी सिर्जना गर्नेखालका कार्यक्रम कसरी अघि बढाउनुपर्ने स्थानीयको भनाइ छ । अझै पनि पालिकाका आम नागरिकलाई क्षमता विकास सम्बन्धी विभिन्न कार्यक्रमसँग जोड्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको र आगामी आर्थिक वर्षमा यस्ता कार्यक्रमले प्राथमिकता पाउनुपर्नेमा विश्वस्त रहेको स्थानीयको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here