दूधे रंगशालामा प्यारापिट

0
7

सेलिङ केसी,
दूधे ।

शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधेमा सुविधासम्पन्न रंगशालाको लागि प्यारापिट निर्माण शुरु भएको छ ।

शिवसताक्षी नगरपालिकाको भ्याटसहित ६९ लाख ६१ हजार नौ सय २१ रुपैयाँ २७ पैसाको लागतमा सुविधासम्पन्न कार्यक्रम मञ्चसहितको प्यारापिट निर्माण शुरु भएको हो । प्यारापिट निर्माणका लागि इभान्सी निर्माण सेवा कम्पनीले काम गरिरहेको निर्माण कम्पनीका सञ्चालक टंकप्रसाद लुइँटेलले जानकारी दिए ।

मापदण्डमा कुनै पनि सम्झौता नगर्ने समेत बताएका लुइँटेलले बताए । काम सम्पन्न गर्नका लागि २०८१ जेठ १६ गतेसम्म मात्र म्याद भएकाले उक्त समय अवधिमा काम सकिने सम्भावना नभएकाले म्याद थप गरी असार मसान्तसम्ममा काम सकिने निर्माण कम्पनीका सञ्चालक लुइँटेलको भनाइ रहेको छ । उनले तीब्रगतिमा काम गर्दा पनि हालसम्म काम अझ बाँकी भएकाले पूर्व निर्धारित मितिमा काम सक्ने सम्भावना नभएको बताए ।

शिवसताक्षी नगरपालिकाले यो अन्तर्राष्ट्रिय मापदण्डको दूधे रंगशालालाई खुलेरै रकम विनियोजन गरेकाले वर्षेनि मैदानको वरिपरि प्यारापिट बन्दै जाने दूधे बजार विकास समितिका अध्यक्ष तथा युवा व्यवसायी सन्तोष थोप्राले जानकारी दिएका छन् ।

दूधे रंगशाला झापाको गौरव मात्र होइन अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला भएकोले सबैले चासोका रुपमा हेरेको उनको भनाइ छ । निर्माण भइरहेको प्यारापिट मञ्चसहित छ सय दर्शक बस्न सकिने क्षमताको रहेको अध्यक्ष थोप्राले बताए । दूधे रंगशालाको सम्पूर्ण योजना सम्पन्न हुँदा दिनरात खेल्न र दौडिन सकिने कम्प्लेक्ससहितको रनिङ ट्रयाक हुने अध्यक्ष थोप्राको भनाइ रहेको छ भने तत्काल स्थानीय झार पटपटे लगाउने तयारी रहेको बताएका छन् ।

हालसम्म दूधे रंगशालाको नाममा २ करोड ३१ लाख ६१ हजार नौ सय २१ रुपैयाँ २७ पैसा बराबरको काम भइसकेको छ । जसअनुसार संघीय सरकारबाट ४० लाख, प्रदेश सरकारबाट ६० लाख र शिवसताक्षी नगरपालिकाबाट १० लाख रुपैयाँ पहिलो चरणमा खर्च भएको छ भने गुरुयोजना निर्माण गर्दा सात लाख, डिपीआर निर्माण गर्दा २० लाख र ईआईए गर्दा २५ लाख खर्च भइसकेको जनाइएको छ ।

पुरानो योजना अनुसार दूधे रंगशाला निर्माण सम्पन्न हुँदा स्विमिङ पुल, भलिबल कभर्ड हल, कराते कभर्ड हल, पार्किङ र सुविधासम्पन्न प्यारापिट निर्माण गर्ने योजना रहेको छ । जसको लागत सबै काम सम्पन्न हुँदा पुरानो डिपीआर अनुसार ३९ करोड खर्च हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here