गर्मीबाट जोगिऔं

0
3

देशभरको तापक्रम असाध्यै बढेको छ । बढ्दो प्रदूषण, वनजंगलको विनाश तथा आगलागी जस्ता कारणले बढेको तापक्रमका कारण गर्मी असाध्यै बढेकाले जनजीवन अति कष्टकर हुन थालेको छ । मौसमविद्हरुले केही दिनअघि नै वर्षा नभएका कारण तापक्रम अझै बढ्न सक्ने भन्दै सबैलाई सचेत गराएको थियो । विभागले गर्मी बढेर ‘लु’ चल्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको थियो ।

अहिले देशभरको तापक्रम ४० डिग्री सेल्सियस नाघ्न थालेको छ । विभागले गर्मी अझै बढ्न सक्ने जनाएको छ । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले यसअघि नै यो वर्ष नेपालमा अनपेक्षित गर्मी हुने जानकारी दिएका थिए । गर्मी बढ्नासाथ मानव स्वास्थ्यमा विभिन्न समस्या आउन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. मिलन बज्राचार्यले बताएका छन् । गर्मी बढ्दा ब्याक्टेरिया तथा भाइरसको वृद्धिविकास हुँदा पानी तथा खानाका कारण झाडापखाला, टाइफाइड, जन्डिस लगायतका स्वास्थ्य समस्या बढ्न सक्ने चिकित्सकले बताएका छन् ।

गर्मीका बेला आउन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै दिउँसो घरमै बस्न, निस्कनै पर्दा छाता ओढ्न, बासी तथा सडेगलेका खाना नखान, पानी प्रशस्त पिउन, फलफूल खान र दिउँसो खेतीपातीको काम नगर्न पनि चिकित्सकहरुले सुझाएका छन् । गर्मी मौसममा एलर्जी र संक्रमणको जोखिम पनि बढी हुन्छ । जसका कारण आँखामा समेत समस्या आउन सक्ने बताइएको छ । यसका साथै गर्मी बढ्दा मुटुको समस्या पनि निम्तिने चिकित्सकको भनाइ छ ।

गर्मीयाममा शरीरबाट पसिना बढी निस्कने भएकाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसले रक्तचाप घट्छ, जसले मुटुरोगीलाई जोखिममा पर्न सक्छ । पानी कम हुँदा डिहाइड्रेसन हुने, बेहोस हुने र मुटुका रोगीको त मृत्यु नै हुनसक्ने चिकित्सकको भनाइ छ । यस्तो अवस्था पछिल्लो वर्षहरुदेखि नै देखिँदै आएको छ । पृथ्वीको तापक्रम वृद्धि भई बढेको गर्मी र त्यसले पार्न सक्ने जोखिमका लागि हामी आफैं जिम्मेवार छौं । बढ्दो जनघनत्व, सवारीको चाप, कलकारखाना तथा भौतिक विकासका नाममा भइरहेको वनफँडानी र मानव उत्सर्जित प्रदूषणले जलवायु परिवर्तन भइरहेको छ । यसको असरबाट विश्वको कुनै कुनामा बसेका मानव जाति जोगिन सक्दैन । त्यसमाथि ठूला तथा विकसित देशले गरेको आणविक हातहतियारको उत्पादन, प्रयोग तथा भौतिक विकासले पारेको असरको क्षतिबाट हामी समेत पीडित हुन थालेका छौं । यस्तोमा जिम्मेवार निकायले बढी गम्भीर तथा प्रभावकारी कदम चाल्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here