किसानलाई उच्च गुणस्तरीय कृषि सामग्रीे उपलब्ध गराउन कांग्रेसको माग

0
6

बिर्तामोड।

नेपाली कांग्रेस झापाले किसानलाई उच्च गुणस्तरीय विऊविजन, मलखाद र कृषि सामग्रीे सर्वसुलभ रुपमा उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्लाका पदाधिकारी, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ–नगर सभापति, निर्वाचित जनप्रतिनिधि एवं पालिका तहका उम्मेद्वारहरुको जिल्ला पार्टी कार्यालयमा सोमबार सम्पन्न बैठकले खेतीपातीको मुख्य सिजन भइसक्दा पनि किसानहरुले गुणस्तरीय विऊ विजन एवं मलखादको अभाव भोगिरहनुपरेको भन्दै समयमै गुणस्तरीय विऊविजन र मलखाद उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको हो ।

धान रोपाईका लागि विऊ राख्ने मुख्य सिजन भएपनि किसानहरुले उच्च गुणस्तरको विऊ एवं रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । नेपालीहरुको मुख्य पेशा कृषि नै रहेको र समयमा विऊ विजन, मलखाद नपाउँदा एवं सिंचाईंको ब्यवस्था नहुँदा राष्ट्रको कुल गार्हस्थ उत्पादनमा नै असर पुग्ने निष्कर्ष निकाल्दै बैठकले किसानका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको हो ।

बैठकले झापाका १५ वटै पालिकामा ‘पार्टी समन्वय र सहजीकरण संयन्त्र’ गठन गर्ने निर्णय गरेको छ । जनताका काम सर्वसुलभ ढंगले सञ्चालन गर्दै स्थानीय आवश्यकताको प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न जनप्रतिनिधिहरुसँग समन्वयात्मक भूमिका खेल्ने उद्देश्यका साथ झापाका १५ वटै पालिकामा ‘पार्टी समन्वय र सहजीकरण संयन्त्र’ गठन गरिएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय समितिको निर्देशन बमोजिम उक्त संयन्त्रमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पालिका तहका पार्टीका उम्मेद्वारमध्येबाट तीनजना, पार्टीका पालिकातहका सभापतिसहित पार्टीबाट तीनजना एवं पार्टीका शुभचिन्तक वा सामाजिक ब्यक्तित्वमध्येबाट तीनजना गरी ९ सदस्यीय संयन्त्र गठन गरिएको सचिव नवीन विमलीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here