आगामी आर्थिक वर्षको बजेट प्रभावकारी कार्यान्वयनमा जोड

0
5

काठमाडौँ,

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसद कमला पन्तले अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक मन्दीको समाधन खोज्न बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको बताउनुभयो । “सन् २०२५ लाई पर्यटन वर्ष मनाउनेसम्बन्धी कुनै विषय उल्लेख गरिएको छैन, के सरकार यस्ता प्रतिबद्धताबाट पछि हटेको हो ? हामी स्पष्ट हुन चाहान्छौँ”, उहाँले प्रश्न गर्नुभयो ।

सांसद मायाप्रसाद शर्माले आगामी आवको बजेट नयाँ ढङ्गले यथार्थपरकरुपमा आएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम र बजेट वक्तत्व सबै अध्ययन गर्दा गतिशील देखिन्छ । हिजोका दिनमा गर्नुपर्ने प्रतिबद्धतासँगै समस्या पनि उजागर भएका छन् । बजेट कार्यान्वयन प्रभावकारीरुपमा हुनेमा विश्वास लिएको छु ।”

सांसद शारदादेवी भट्टले सरकारद्वारा प्रस्तुत बजेट केही हदसम्म सन्तुलित र चलायमान भएको टिप्पणी गर्नुभयो । उहाँले बजेटको स्वागत गर्दै पूर्ण समर्थन जनाउनुभयो । “बजेट जनता केन्द्रित हुनुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद जयन्तीदेवी राईले आगामी वर्षको बजेट सैद्धान्तिक रुपमा हेर्दा अत्यन्त सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गर्नुभयो । “बजेटमा कृषि लगानीको वर्ष, स्वदेशी उत्पादनलाई प्रोत्साहन, प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सकारात्मक छन् । यसलाई कार्यान्वयनमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here