तीन सय दर्शक क्षमताको ‘कभर्डहल’ सञ्चालन

0
5

खोटाङ,

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा निर्माण भएको ‘जालपा कभर्डहल’ सञ्चालनमा आएको छ । नगरपालिकाको रु ७० लाख र स्थानीय उपभोक्ताको श्रमदानबाट निर्माण भएको बहुउद्देश्यीय कभर्डहल आइतबारदेखि सञ्चालनमा आएको हो ।

कभर्डहल तीन सय दर्शक क्षमताको बनेको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताउनुभयो । विसं २०७६ मा निर्माण सुरु गरिएको उक्त कभर्डहल आइतरबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले औपचारिकरुपमा उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टङ्क राई, नगरप्रमुख तीर्थराज भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेता रामप्रसाद दङ्गाललगायतको उपस्थिति थियो । करिब पाँच वर्ष लगाएर सम्पन्न गरिएको कभर्डहलमा खेलकुदसम्बन्धी विभिन्न गतिविधि, सभा, सम्मेलनलगायत कार्यक्रम गर्न सकिने वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

कभर्डहल उद्घाटनको अवसरमा भलिबल र ब्याडमिन्टन प्रतियोगिता, पूर्वखेलाडीलाई सम्मानका साथै साङ्गीतिक कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार यही जेठ १८ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरले जितेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वडा कार्यालय जालपाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा रावाबेँसी गाउँपालिका–१ कुभिण्डेलाई हराउँदै कुइभिरले उपाधि जितेको हो । उपाधि विजेताले रु ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका वडाअध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो भएको रावाबेँसी–१ कुमिण्डेले रु ३० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

विभिन्न जिल्लाका १९ वडाले सहभागिता जनाएको प्रतियोगितामा ऐँसेलुखर्क गाउँपालिका–५ तेस्रो हुँदै रु २० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले खुला वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुषतर्फको खुला डबल ब्याडमिन्टनमा दिक्तेलका पूजन आचार्य र सञ्जय कार्की पहिलो, दिक्तेलका समीर बजिमय र विकास खत्री दोस्रो तथा जालपाका युनिशन राई र रमेश श्रेष्ठ तेस्रो भएका छन् ।

महिलातर्फको डबल प्रतियोगितामा दिक्तेलका रेणुका राई र ममता राई पहिलो, जालपाका अनिता श्रेष्ठ र वर्षा गुरुङ दोस्रो तथा दिक्तेलका कल्पना जोशी (राई) र स्मिता राई तेस्रो भएका छन् । खुला महिला÷पुरुष दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु २० हजार, रु १५, रु १० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् ।

पुरुषतर्फको डबल भेट्रानमा दिक्तेलका राजु श्रेष्ठ र समीर बजिमय पहिलो, जालपाका गोपाल गुरुङ र ज्ञानबहादुर श्रेष्ठ दोस्रो र दिक्तेलका मनविक्रम राई र हरि खत्री तेस्रो भएका छन् । भेट्रानतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु १२ हजार, रु दश हजार, रु आठ हजार पुरस्कार प्राप्त गरेका छन् ।

पन्ध्र वर्षमुनिका पुरुषतर्फको ब्याडमिन्टनमा केपिलासगढी गाउँपालिका–४ का ग्याल्जेन तामाङ र आशिष राई पहिलो, दिक्तेलका संयोग धमला र विवेक आचार्य दोस्रो र दिक्तेलकै योजन दाहाल र अनिशान्त दङ्गाल तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु आठ हजार, रु पाँच हजार र रु तीन हजार ुिरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ ।

कार्यक्रममा भलिबलका पाँच तथा तेक्वान्दो र सितोरियो करातेका दुई÷दुईजना पूर्वखेलाडीलाई सम्मान गरिएको छ । भलिबलका पूर्वक्षेत्रीय खेलाडी बलराम राई, सम्बरबहादुर राई, वीरबहादुर तामाङ, ताराकला राई र जसुदा राई, तेक्वान्दोका पूर्वखेलाडी विकास र सङ्गम गुरुङ तथा सितोरियो करातेका चन्द्रबहादुर राई ‘मदन’, गौतम राई र कैलाश राईलाई सम्मान गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here