प्रतिकार्य र तयारी एकसाथ गर

0
5

यस वर्ष झापा जिल्ला बाढीको उच्च जोखिममा रहेको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । प्रक्षेपण अनुसार यो वर्ष अत्यधिक वर्षा हुने र मनसुन पूर्वबाटै प्रवेश गर्ने भएकाले झापाका छ वटा पालिका उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । त्यही प्रक्षेपण र पूर्वानुमानका आधारमा झापामा विपद् व्यवस्थापन समितिले व्यवस्थापनको तयारी तीव्रगतिमा गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिएका छन् । झापाका पन्ध्र वटा पालिकालाई समितिले उच्च, मध्यम र न्यून जोखिम वर्गमा विभाजन गरिएको छ । ती पालिका भएर बग्ने नदी र तिनमा औशत प्रवाह हुने जलस्तरका आधारमा गौरीगञ्ज, कचनकबल, बाह्रदशी, कमल, शिवसताक्षी र भद्रपुर नगरपालिकाहरुमा आपतकालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्न सक्ने घरधुरीको तथ्यांक संकलन गर्ने, फोकल पर्सन तोक्ने र विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सहायक प्रजिअ नेपालले जानकारी दिए ।

मध्यम जोखिममा रहेको मेचीनगर, गौरादह, अर्जुनधारा, दमक र कन्काई तथा न्यून जोखिममा रहेका हल्दिबारी, बुद्धशान्ति र बिर्तामोड नगरपालिका लगायतका जोखिमयुक्त क्षेत्रको पहिचान तथा व्यवस्थापन गर्न समितिले स्थानीय सरकार, प्रहरी, सेना, रेडक्रस लगायतसँग समन्वय गर्दै एकीकृत योजना बनाएको छ । झापाका विभिन्न पालिका भएर बग्ने मेची, निन्दा, विरीङ, कन्काई, रतुवा, मावा लगायतका सानाठूला नदीहरुबाट हुनसक्ने क्षति न्यूनीकरण, उद्धार तथा राहतका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्न सबैको समन्वयकारी तथा सहकार्य हुनुपर्छ । बाढी आएर हुने क्षतिलाई कम गर्न वा सम्भावित मानवीय, आर्थिक तथा भौतिक क्षतिबाट जोगाउन सबैले आ–आफ्नो ठाउँबाट सतर्कता अपनाउनु पर्दछ । वर्षाको समय पहाडमा पहिरो जाने, चुरे क्षेत्र एवम् तराईमा बाढी तथा कटानले बर्सेनि क्षति पु¥याइरहेकोले त्यसलाई रोक्न प्रतिकार्यलाई सरकारले प्राथमिकता दिनु पर्दछ ।

हामीकहाँ बढ्दो जनसंख्याका कारण प्राकृतिक सम्पदामाथि अतिक्रमण भइरहेको छ । नदीलाई नियन्त्रण गर्ने, धार परिवर्तन गर्ने जस्ता कारणले पहिरो र डुबानका घटना बढ्दै गएका छन् । विकासका नाममा हुने गरेको वनजंगल फडानी, नदीजन्य सामग्रीको उत्खनन् आदिलाई नियन्त्रण गर्नुपर्छ । यो सँगै प्रकृतिमैत्री विकास, प्राविधिक सुरक्षाको प्रबन्ध, पूर्वानुमानको वैज्ञानिक प्रविधिको उच्चतम् प्रयोग गरेर यसबाट हुनसक्ने क्षति कम गर्न सकिन्छ । त्यसका लागि साधनस्रोतको व्यवस्थापन, जनसहभागिता, सूचनाको विश्वासनीयता र परिपालना जस्ता पूर्वाधारलाई एकीकृत गर्नुपर्छ । यही समय झापामा मनसुनजन्य विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाएर सम्बद्ध पक्षसँग सहकार्य हुने भएको छ । यसले विगतको जस्तो क्षतिलाई कम गर्ने अपेक्षा गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here