५० शय्याको अस्पतालमा छैन एक्स– रे

0
4

झापा।

कोशी प्रदेश सरकारको मातहतमा कमल गाउँपालिकास्थित लखनपुरमा करिव २ बर्ष अघिदेखि प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा छ ।

पायल्स, फिस्टुला र फिसर जस्ता रोगको क्षारसूत्र बिधिबाट शल्यक्रिया गरिँदै आएको आयुर्वेद अस्पतालमा दैनिक ५० देखि ७० जना बिरामी आउने गरेका अस्पतालका सूचना अधिकारी अविकेशर सिग्देलले जानकारी दिए । उक्त आयुर्वेद अस्पतामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट बिरामी आउने गरेका छन् । ५० शैयाको उक्त अस्पतालमा सामान्य एक्स–रे नभएका कारण बिमा सञ्चालन गर्न नसकेको सूचना अधिकारी सिग्देलको भनाइ छ ।

बिभिन्न दाताहरुले २ बिगाहा एकधुर जग्गा अस्पतालका लागि प्रदान गरेपछि संघीय सरकारले भौतिक संरचना निर्माण गरेको अस्पताल कोशी प्रदेश सरकार अन्तरगत स्वास्थ्य मन्त्रालयको मातहतमा सञ्चालनमा छ । १९ जनाको दरबन्दी रहेको अस्पतालमा केही कर्मचारीको संख्या बढाउन सके अन्य सेवासँगै छिटो र छरितो तरिकाले सेवा दिन सकिने सूचना अधिकारी सिग्देलले बताए ।

अस्पतालमा ओपिडी सेवा, क्षारसूत्रबाट शल्यक्रिया, पञ्चकर्म सेवा, भीडीयो एक्सरे, ल्याव सेवा, निःशुल्क औषधि बितरणलगायतका सेवा दिइँदै आएको बताइएको छ । यता कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको मातहतमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद विधिबाट गरिने सवै सेवा दिँदै आएको छ । झापाको भद्रपुर –१० मा रहेको केन्द्रले बिरामी परीक्षण तथा परामर्श सेवा, निःशुल्क औषधि वितरण, पायल्स र फिस्टुलाको क्षारसूत्र बिधिबाट उपचार दिँदै आएको छ ।

त्यस्तै पञ्चकर्म चिकित्सा, सहायक कर्म, पिचु, पूर्वकर्महरु फिजियोथेरापी सेवा, प्राकृतिक चिकित्सा सेवा, प्याथोलोजी सेवा र सशुल्क फार्मेसी सेवा दिँदै आएको छ । केन्द्रमा वाथ, ग्याष्ट्रिक, दम, रुघाखोकी, प्यारालाइसिस पायल्स, फिस्टुला, फिसर जस्ता रोगको पनि क्षारसूत्र विधिबाट उपचार साथै अप्रेशन गरिने केन्द्रका डा.अनिलकुमार यादवले जानकारी दिए । केन्द्रमा दैनिक ३० देखि ५० जना बिरामीहरु आउने गरेको उनले बताए ।

केन्द्रको मातहतमा झापाका ६ वटा स्थानीय तहमा नागरिक आरोग्य सेवा दिँदै आएको डा. यादबले बताए । कचनकवल, बिर्तामोड, कनकाई, हल्दीबारी, दमक र गौरीगञ्जमा नसर्ने रोग नियन्त्रण तथा रोकथामका लागि जनचेतनामूलक कार्यक्रम गर्न आरोग्य सेवा दिँदै आएको डा. यादवले बताए । आरोग्य सेवा अन्तरगत टोल, समुदाय, गाउँ, वडा र नगरमा मानिसको दिनचर्या र खानपिनका बारेमा सूचित गराउँदै सामान्य जाँच गरेर निःशुल्क औषधिसमेत वितरण गरिने गरेको छ ।

आर्थिक बर्ष २०८०/०८१ का लागि कोशी प्रदेश सरकारमार्फत ६३ लाख ८४ हजार रकम आएको डा. यादबले बताए । ‘धैरै जसो बिरामी अन्य अस्पतालमा उपचार गराएर पार नलागेपछि मात्र आयुर्वेद अस्पताल आउँछन् । डा. यादवले भने –भएको पैसा अन्य अस्पतालहरुमा सकिएपछि मात्र आयुर्वेद अस्पताल सम्झिन्छन् । त्यतिबेलासम्म रोग पनि भयावह अवस्थामा पुगेको हुने र सामान्य उपचारले ठीक नहुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here