विद्यालय नमूनाउन्मुख बन्दै

0
7

सुरेन्द्र भण्डारी
झापा, शैक्षिक गुणस्तर सुधारका लागि बिर्तामोड नगरपालिकाले ‘सिकाइ उपलब्धि सुधार अभियान २०८१’ शुरु गरेको छ ।
अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयका विषयगत शिक्षकहरुबाट नगरस्तरीय नौ सदस्यीय विषयगत सञ्जाल तयार गर्दै शैक्षिक सुधार अभियान २०८१ शुरु गरेको हो । समितिले नगरको शैक्षिक गुणस्तर सुधारका लागि के के गर्न सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरी नगर शिक्षा समितिमा पेश गर्नेछ ।

समितिले पेश गरेको प्रतिवेदनका आधारमा नगरपालिकाले शैक्षिक सुधारका कार्यक्रम अघि बढाउने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारीले बताए । शैक्षिकसत्र २०८१ लाई बिर्तामोड नगरपालिकाको ‘शैक्षिक उपलब्धि सुधार अभियान बर्ष’ का रुपमा लिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भण्डारीको भनाइ छ । सिकाइ उपलब्धी सुधार अभियान २०८१ अन्तर्गत शाखा प्रमुख भण्डारीकै संयोजकत्वमा नगरस्तरीय विषयगत सञ्जाल तयार गरिएको छ । सो समितिले शैक्षिक सुधार योजना निर्माणको काम शुरु गरेको बताइएको छ ।
नगरस्तरीय सञ्जालको सदस्यमा लीला भण्डारी (गणित), उमानाथ भण्डारी, टीका पोखरेल (नेपाली), दीपक लुइँटेल (सामाजिक), धर्मेन्द्र भट्टराई (अंग्रेजी), तुलसीराम खरेल (विज्ञान), उत्तम खनाल (प्याव्सन) र सदस्य सचिवमा केशरबहादुर खवास ( बिर्तामोड नगरपालिका) रहेका छन् । नगरस्तरीय विषयगत सञ्जालले बिर्तामोड नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि २१ बुँदे प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेको छ । शिक्षकहरुले विषयगत औसत सिकाइ उपलब्धि न्यूनतम् एक अङ्कले बृद्धि गर्नुपर्ने, पाठ्यक्रमले निर्धारण गरेका विषयगत सिकाइ सक्षमता पूरा गर्न प्रतिबद्ध रहनुपर्ने, विद्यालयको विषयगत समितिमा मासिक रुपमा छलफल तथा अन्तरक्रिया गरी सिकाइ उपलब्धि सुधारमा सक्रिय सहभागी बन्नुपर्ने, शिक्षण सिकाइ क्रियाकलापका नवीनतम् विधि र असल अभ्यासहरुको प्रयोग गर्दै एक अर्कामा आदान प्रदान गर्नुपर्ने, बाल मनोविज्ञान अनुरुप बालमैत्री शिक्षण सिकाइ क्रियाकलापको प्रयोग गर्नुपर्ने प्रतिवद्धता–पत्रमा उल्लेख छ ।
शिक्षण सिकाइमा आइसीटीको अधिकतम् प्रयोग गर्नेछु – प्रतिबद्धतापत्रमा भनिएको छ– विद्यार्थीहरूको बिषयगत क्लब गठन गरी त्यसमार्फत उनीहरूको प्रतिभा तथा क्षमताको प्रष्फुटन गराउन कम्तीमा एकपटक प्रदर्शनीको आयोजना गर्ने, शैक्षिक सामग्री सङ्कलन, निर्माण, उपयोग र संरक्षणमा विशेष जोड दिनुपर्ने, कक्षाकोठामा प्रदर्शन पाटीको व्यवस्था गरी सोको सजावटमा बिद्यार्थीहरूलाई प्रोत्साहन गर्नुपर्ने, विद्यालयको सिकाइ मैत्री वातावरण निर्माणमा सक्रिय सहभागी हुनुपर्नेछ । बिर्तामोड नगर क्षेत्रभित्र रहेका १८ वटा सामुदायिक विद्यालय र दुई वटा धार्मिक विद्यालयमा विषयगत समिति गठन गरी पठाउन नगरपालिकाले सबै विद्यालयलाई निर्देशन दिएको छ ।
नगरपालिकाले साङ्गवेद संस्कृत विद्यालयका शिक्षक झलक प्रसाद काफ्ले (नेपाली), दुर्गा माध्यमिक बिद्यालयका शिक्षक लक्ष्मणप्रसाद शिवाकोटी, (अंग्रेजी), महेन्द्ररत्न माविका शिक्षक लक्ष्मीप्रसाद प्रसाई (विज्ञान), देवी माध्यमिक विद्यालयका शिक्षक कृष्णप्रसाद पौडेल (गणित) र महेन्द्र ज्योतिका शिक्षक सरस्वती दाहाल (सामाजिक) संयोजक रहेको नगरस्तरीय विषयगत समिति समेत तयार गरेको छ । शैक्षिक सुधार अभियान अन्तर्गत नै बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका विद्यार्थीका लागि सिपमूलक तालिम सञ्चालन, संस्थागत बिद्यालयमा शुल्क निर्धारण र कार्यान्वयन, संस्थागत विद्यालयका विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति कार्यान्वयन, प्रारम्भिक बाल शिक्षक र विद्यालय कर्मचारीका लागि पारिश्रमिक व्यवस्थापन, नगरस्तरीय बौद्धिक प्रतिभाको प्रदर्शनी समेत गरेको बताइएको छ ।
बिर्तामोड नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा १२ हजार २ सय ३६ बिद्यार्थी अध्ययनरत् छन् । उनीहरु मध्ये माध्यमिक तह कक्षा ९का विद्यार्थीलाई सिपमा आधारित सिकाइ ( वायरिङ÷प्लम्विङ) व्यवस्था गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भण्डारीले बताए । जसका लागि स्वयमसेवक शिक्षकको व्यवस्थापन गरिएको ् बताइएको छ । बिद्यार्थीलाई वर्षभरि तीस कार्यघण्टाका आधारमा प्रविधिक सिप सिकाउन शुरु गरिएको बताइन्छ ।
बालविकासदेखि कक्षा ५सम्म सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीका लागि नगरपालिकाले निःशुल्क बिद्यालय पोशाकको व्यवस्था गरेको शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख भण्डारीको भनाइ छ । निःशुल्क पोशाक पाउने विद्यार्थीको संख्या तीन हजार आठ सय ८२ रहेको छ । यता शिक्षकलाई प्रोत्साहन गर्न तीन तहका शिक्षकलाई नगद ५० हजार राशि सहित उत्कृष्ट शिक्षकका रुपमा पुरस्कृत गरिँदै आएको बताइएको छ । बिर्तामोड नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाइ गराउँदै आएको छ । जसका लागि आईसीटी तालिम सञ्चालन समेत गरेको छ । बालविकास कक्षामा बालबालिकाको सहज बसाइ व्यवस्थापन तथा शैक्षिक सामग्री राख्न ¥याकको व्यवस्था, शिक्षकका लागि विभिन्न प्रकारका तालिम सञ्चालन गर्दै आएको बताइन्छ ।
त्यस्तै एकीकृत शैक्षिक सूचना प्रणालीको शिक्षकलाई तालिम र मागको आधारमा प्रविधिमा आधारित शिक्षकलाई सिकाइ व्यवस्थापन गराउँदै आएको भण्डारीले बताए । बिर्तामोडका सबै विद्यालय नमूनाउन्मुख बन्दै गएको र अभियान सञ्चालनसंगै थप सिकाइ उपलब्धि हासिल हुने भण्डारीको विश्वास छ । बिर्तामोड नगरपालिका पछिल्लो समय शैक्षिक हब बन्दै गएको छ । बिर्तामोडमा रहेका सामुदायिक बिद्यालयमा अध्ययनरत् ४० प्रतिशत विद्यार्थी नगर बाहिरका हुने गरेको भण्डारीको भनाइ छ । अहिले बिर्तामोडमा सञ्चालित सामुदायिक र संस्थागत विद्यालयमा ४० हजारको हाराहारीमा बिद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् ।
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीको भर्ना दर समेत बढेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भण्डारीको भनाइ छ । बिर्तामोडमा सञ्चालित विद्यालयमध्ये मोहनमाया माध्यमिक विद्यालय, देवी माध्यमिक विद्यालय, महेन्द्र–रत्न माध्यमिक विद्यालय, शहीद लक्ष्मी आधारभूत विद्यालय, लक्ष्मीनारायण आधारभूत विद्यालयलाई नमूना विद्यालयका रुपमा लिन सकिने भण्डारीको भनाइ छ । बिर्तामोडमा सञ्चालित अन्य विद्यालयहरु समेत नमूना उन्मुख बन्दै गएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here