प्रतिबद्धता पालना होस्

0
5

आज बालश्रमबिरुद्धको अन्तर्राष्ट्रिय दिवस । प्रत्येक वर्ष विश्वका एक सयभन्दा बढी देशमा जुन १२ का दिन यो दिवस विविध कार्यक्रमका साथ मनाइन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आह्वानमा विश्वका सबै देशमा बालश्रम अन्त्य गर्ने आह्वानमा सन् २००२ देखि यो दिवस मनाइने गरेको हो । सन् २०२५ सम्ममा सबै किसिमका बालश्रम अन्त्य गर्ने लक्ष्यका साथ मनाउन थालिएको यो दिवसले अपेक्षितरुपमा बालश्रम न्यूनीकरण गर्न सकेको छैन । अझै पनि कतिपय बालबालिका सडकमै छन्, होटल, रेस्टुरेन्ट तथा सार्वजनिक सवारी साधनमा काम गर्न बाध्य छन् । दिवसले यो बाध्यतालाई अन्त्य गर्न सकेको छैन र उनीहरुको पीडा पनि कम भएको छैन ।

बालबालिकालाई शारीरिक तथा मानसिक असर पर्ने गरी कुनै पनि काममा लगाउन पाइँदैन । यो दिवसको घोषणा भएयता धेरै सरकारी तथा गैरसरकारी संस्थाहरुले विविध कार्यक्रम गर्दै आएका छन् । बालबालिकाको नाममा कैयौं सभा, सम्मेलन भएका छन्, उनीहरुका अधिकार सुरक्षित गर्न अधिकारकर्मीहरुले आवाज उठाएका पनि छन् । अनि पनि नेपालमा लाखौंको संख्यामा बालबालिकाहरु घर बाहिर र कति घरेलु श्रमिकका रुपमा काम गर्न बाध्य छन् । मोटरसाइकल मर्मत गर्ने ठाउँ होस्, होटल कारखाना तथा सार्वजनिक सवारी जहाँ पनि बालश्रमिक भेटिन्छन् । हाम्रो कानूनले बालबालिकालाई इच्छाबिरुद्ध काममा लगाउन बन्देज गरेको मात्र छैन त्यसो गरिए एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । तर, त्यसको कानूनी उपचार भने ठीक ढंगले भइरहेको छैन ।

आईएलओको तथ्यांक अनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका १६ लाखभन्दा बढी बालबालिका इच्छा विपरीत श्रम बेच्न बाध्य छन् । ती मध्ये छ लाखभन्दा बढी जोखिमयुक्त पेशामा आबद्ध छन् । नेपालको संविधानले बालश्रम प्रयोगलाई पूर्णतया रोक लगाएको छ । संयुक्त राष्ट्र संघको बालअधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेको नेपालले बालअधिकारप्रति प्रतिबद्धता समेत जाहेर गरेको छ । त्यसैले सरकारले संविधान र कानूनको कार्यान्वयनमा प्रभावकारी उपस्थिति देखाउनु पर्दछ । बालबालिकाको खेल्ने, पढ्ने र मनोरञ्जन गर्ने जन्मसिद्ध अधिकार कुनै पनि अवस्थामा कुण्ठित हुनुहुँदैन । बालबालिका परिवार, समाज र देशका भविष्य हुन् त्यसैले उनीहरुको सुन्दर भविष्यका लागि आवश्यक शिक्षा तथा प्राकृतिक विकासको नैसर्गिक अधिकार सुरक्षित गर्नेतर्फ तीनै तहको सरकार सजग हुनुपर्छ । त्यसका लागि महासन्धिहरुको समेत अक्षरशः पालना गरिनुपर्छ । यसले मात्र दिवसले भने जस्तै बालबालिकाको सुदूर भविष्य सुनिश्चित गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here