नागरिक राहत र उद्धारको पर्खाइमा,कोशीमा अझै बनेन कार्ययोजना

0
8

झापा ।

यो वर्षको मनसुन हुँदा समेत कोशी प्रदेश सरकारले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना’ बनाउन नसकेको पाइएको छ । मुख्यमन्त्रीको अध्यक्षता रहने ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना’ पास नहुँदा विपद्मा कसरी उद्धार र राहत बितरण गर्ने भन्ने विषय नै अन्यौलमा परेको छ ।

संघीय सरकारले विपद् पूर्व तयारीमा लाग्न निर्देशन दिएपनि कोशी प्रदेश सरकार भने कार्ययोजना बनाएर अघि बढ्ने विषयमा नै अन्यौलमा रहेको पाइएको हो । कोशी प्रदेशका पूर्बी हिमाली तथा पहाडी जिल्लामा पहिरोका कारण जनधनमा क्षति हुँदा समेत प्रदेश सरकार भने उद्धार र राहतमा अल्मलिएको पाइएको छ ।

तराइका जिल्लामा डुवान र कटानको समस्याले नागरिक विस्थापित हुन थालेका छन् । तर, प्रदेश सरकार भने कानून बनाएर अघि बढ्नु पर्नेमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्यायोजनाको ड्राफ बनाएर थन्क्याउँदा प्रदेश सरकारले काम गर्न नसकेको आलोचना हुन थालेको छ ।

मनसुन सक्रिय भएसंगै पूर्वी पहाडी जिल्लाहरु संखुवासभा, तेह्रथुम, ताप्लेजुङ र पाँचथरमा परेको अविरल वर्षाको कारण कैयौंको घर बगाएको छ भने सर्याैं विस्थापित भएका छन् । तर प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि गर्नुपर्ने नीतिगत काम नै नगरेको पाइएको हो ।

कोशी प्रदेश सरकारले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना’ बनाउनु पर्ने तर, अहिलेसम्म मुख्यमन्त्री कार्यालयबाट उक्त योजना पारित नहुँ्दा राहत र उद्धारको काम अन्योलमा परेको हो ।

कार्ययोजनाको ड्राफ्ट बनाएर विपद् व्यवस्थापन कार्यकारी समितिबाट पास गरेको भएपनि मुख्यमन्त्रीको अध्यक्षतामा रहने विपद परिषद समितिबाट पास हुन बाँकी रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

प्रदेश विपद परिषदमा पठाएर पास गरेपछि मात्रै प्रति कार्ययोजना पास हुने प्रावधान रहेको छ । प्रदेश विपद् परिषदको अध्यक्ष भने मुख्यमन्त्री हुनेछन् । श्रोतका अनुसार आज असार ६ गते प्रदेश विपद परिषदमा पठाएर पास गर्ने योजना रहेको बताइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपदबाट सबैभन्दा बढी कोशी प्रदेशमा प्रभावित हुने अनुमान गरेको थियो । अघिल्लो वर्ष पनि मनसुन सुरू हुनेबित्तिकै ताप्लेजुङ, संखुवासभा र पाँचथरमा बाढीले क्षति पु¥याएको थियो ।

यसवर्ष पनि मनसुनको क्षतिबाट यि नै जिल्ला प्रभावित हुन थालेका छन्। यस वर्ष कोशी प्रदेशमा ४ लाख ९५ हजार ३५२ जना प्रभावित हुने अनुमान छ । एक लाख १३ हजार ३५३ घरधुरी प्रभावित हुने अनुमान छ । जसमध्ये २२ हजार घरधुरी प्रत्यक्ष प्रभावित र ५ हजार घरधुरीलाई उद्धार र राहत दिनुपर्ने गृहमन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मनसुनबाट चालु आर्थिक वर्षमा नै ७ जनाको ज्यान गइसकेको छ । मनसुन सक्रिय रहँदा सुदूरपूर्वका पहाडी जिल्लाहरूमा लगातार वर्षा भइरहेको छ । मनसुनको सुरुवातमै पूर्वी पहाडका संखुवासभा र ताप्लेजुङमा बाढीपहिरो सुरु भएको हो ।

सरकारले राहत र उद्धारलाई प्रभावकारी बनाउने संघीय सरकारका गृहमन्त्री रवि लामिछानेले दावी गरेपनि विपद्मा परेका नागरिकले लामो समयसम्म राहत र उद्धार पाउन सकेका छैनन् । विपद् परेकाहरुलाई राहत वितरणमा पनि ढिलाइ भइरहेको गुनासो आइरहँदा प्रदेश सरकारको भूमिकासमेत फितलो देखिएको हो ।

विपद्मा परी १७ जनाको मृत्यु

कोशी प्रदेशमा बाढी र पहिरोमा परी चालू आर्थिक वर्षको ११ महिनामा १७ जनाले ज्यमान गुमाउनु परेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ ३२ गतेसम्म बाढी र पहिरोमा परी ७ जना घाइते, ४ जनाको अवस्था अझै अज्ञात र ७ करोड ६३ लाख ४३ हजार ५ सय रुपैयाँ क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवत्ता सुमन कुमार तिम्सिनाले जानकारी दिए।

उनका अनुसार झापामा ७ जना, ताप्लजुङमा ५ जना, भाजपुरमा २ जना, इलामका २ जना र खोटाङमा १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी ताप्लेजुङमा २ जना घाइते, ओखलढुङ्गामा २, इलाम, सुनसरीमा २–१ जना वेपत्ता भएका छन्। संखुवासभामा ४ जना वेपत्ता भएकाहरूको अवस्था अहिले पनि अज्ञात रहेको प्रहरीले जनाएको छ।

३२ जेठमा पहिरोमा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा एक घरका ४ जनाको मृत्यु भयो । फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुवा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७९÷०८० मा बाढी पहिरोमा परी कोशी प्रदेशमा मात्रै २३ जनाले ज्यान गुमाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here