म र मेरो निवृत्त जीवन

0
14

जीवन के हो ? कसरी सहजसँग जीवन निर्वाह गर्न सकिन्छ ? यी प्रश्न हिजोआज निकै गम्भीर बनि हाम्रोसामु तेर्सिने गरेको पाइन्छ । मैले जन्मेदेखि हालसम्म आइपुग्दा पनि जीवनको शाब्दिक परिभाषा पाउन सकिरहेको छैन । तर, धेरैले आफ्नो तरिकाले जीवनलाई बुझ्ने र परिभाषित गर्ने नगरेका भने होइनन् । खयर जेहोस्् मेरो अनुभवबाट प्राप्त भोगाईलाई कसरी हेरिन्छ, त्यसलाई अनुभूत गरी आफ्नो निवृत्त जीवनको अनुभव सँगाल्दै भावी कार्यदिशा निर्धारण गर्ने प्रयत्न गरेको छु ।

जीवनको पहिलो दायित्व भनेको शिक्षा आर्जन गर्नु हो । यो घडीमा कयौं उतारचढाव आउने गर्छ । ती सबको सामना गर्दै उपल्लो तहको ज्ञान आर्जन गरी शैक्षिक प्रमाणपत्र प्राप्त गर्नु उसको मुख्य दायित्वभित्र पर्ने भएकाले ऊ त्यसैमा सधैँभरि व्यस्त रहनु हो । जब ऊ शैक्षिक योग्यताका लागि सक्षम हुन्छ । तब मात्र ऊ कुनै सरकारी पेसामा प्रवेश गर्न योग्य हुन्छ । यहीँबाट उसको जीवनको भावी दिशा तय अर्थात् निर्धारण हुन्छ । यहीँ क्रममा मेरो पनि प्राप्त गरेको शैक्षिक योग्यताका आधारमा जागिरे जीवनको बाटो तय भएको हो ।

पिता तेजप्रसाद र माता चन्द्रादेवी अधिकारीको कोखबाट वि.सं. २०२१ सालमा धनकुटा जिल्लाको चानुवामा पाँचौं पुत्रको रुपमा जन्म भएको हो । एक वर्षको उमेरमा नै बसाई सराई गरी झापाको बैगुन्धुरामा आएर वि.सं. २०२२ सालदेखि स्थायी बसोवास गर्दै आएकोमा हाल झापा कै गौरादह नगरपालिकाको वडा नं. २ मावि सं.२०५३ सालदेखि स्थायी रुपमा बसोबास गर्दै आइएको छ । घरमै बसी कक्षा ३ सम्मको अनौपचारिक शिक्षापछि धनकुटाको मारेक कटहरेमा अवस्थित विद्यालयबाट औपचारिक शिक्षा आरम्भ गरी बैगुन्धुराको अमर मावि हुँदै महेन्द्र मावि विराटनगरबाट एसएलसीसम्मको अध्ययन पूरा गरी मोरङको महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसबाट आइए र धनकुटा कै धनकुटा बहुमुखी क्याम्पसबाट स्नातक तहसम्मको शिक्षा आर्जन गरी राष्ट्र सेवामा प्रवेश गरियो ।

वि.सं. २०४५ सालमा धनकुटाको मारेक कटहरेमा अवस्थित श्री ऐश्वर्य प्राविको प्रा. तहको पदमा प्रअको जिम्मेवारीबाट मेरो शैक्षिक यात्रा आरम्भ हुन्छ । झण्डै तीन वर्षको अनुभवपश्चात झापाबाट प्रावि तहमा शिक्षा सेवा आयोगको परीक्षामा उत्तीर्ण गरी सोही जिल्लाको तारावारी प्रावि, दमकमा स्थायी पदपूर्ति भई स्थायी सेवा सुचारु हुन्छ । यही क्रमामा शिक्षण पेसालाई मुख्य पेसा बनाउँदै शिक्षण जीवनकालमा आफ्नो ऊर्जाशील जीवन चलिरह्यो । शैक्षिक पीडा अवतरण गर्ने क्रममा श्री पशुपति प्रावि, दमक, श्री अमर मावि, बैगन्धुरा, श्री गौरिया निमावि, जुरोपानी हुँदै श्री सूर्योदय आवि, गौरादहमा स्थायी निमावि तहको शिक्षक पदबाट शैक्षिक अनिवार्य अवकाश प्राप्त भयो । यस अवधिसम्म आइपुग्दा ३६ वर्षको अनुभव सकुल समाल्न सफल भइयो । ज्ञान, सीप र प्रवृति सँगाल्दै बटुलेको अनुभवले शिक्षण सेवामा कार्यरत रही कयौं बालबालिकाहरुलाई देश निर्माण गर्न सुयोग्य नागरिक बनाइयो । त्यसको यक्किन तथ्याङ्क दिन नसके पनि संख्यात्मक रुपमा धेरै पुग्दछ भने गुणात्मक रुपमा पनि यसको संख्या उलेख्य नै हुन आउँछ । यो पेसाप्रति उत्तरदायी र जवाफदेही बनि निष्ठापूर्वक गरिएको सेवाले सामाजिक उत्तरदायित्वको बोध हुन्छ । शिक्षण एक साधना हो भने परिमाण साध्य हो ।

जीवन एउटा साधना हो । व्यक्ति एउटा साधक हो । यही साधनामा रहेर साधकले साधना गर्नु नै उसको सफल जीवनयापन हो । अतः यही साधनामा रहेर मैले पनि साधकको भूमिकामा रही निर्वृत जीवन व्यतीत गर्ने सोच बनाएको छु । जुन समाजप्रति उत्तरदायी बनेको छ । समाज रुपान्तरणमा पनि अहम् भूमिकामा रहेको देखिन्छ । यही मूलमन्त्र लिएर अघि बढे अवश्य पनि साध्यमा पुग्न सकिँदोरहेछ भन्ने कुरामा म विश्वस्त छु । त्यसैको परिणाममुखी फल हो, आजको निवृत्त जीवन ।

अवकाश भएपछिको निवृत्त जीवन बिताउने सवालमा हरेक व्यक्तिको आफ्नो भूमिका फरक हुन्छ । यसमा यही विधि र नियम छ भन्ने हुँदैन । त्यो खासगरी निवृत्त व्यक्तिको रुचीमा भर पर्ने गर्दछ । जसको रुची जेमा जाग्छ, उसले त्यही नै गर्ने हो । यति चाहिँ पक्का हो, उसले अँगालेको स्थायी पेसाको दाँजोमा यो बाँकी अवधि भने न्यून हुन आउँछ । कोही यस भूमिकामा आइपुग्दा केही नगरी आनन्दित जीवन व्यतीत गर्न चाहन्छन् त कोही सामाजिक सेवा प्रवाह गर्न तल्लीन देखिन्छन् । यी सबै व्यक्तिको लगनशीलता र इच्छाशक्तिले निर्भर गर्ने गर्दछ । शिक्षण पेसामा सेवारत छदै मेरा पनि रुचीहरू धेरै थिए । तर, मैले खासगरी शिक्षण, साहित्य र पत्रकारितालाई भुख्य रुचीमा राखेको थिए । त्यही समयदेखि छनोट गरिएका यी पेसा मेरा लागि अति नै प्रिय थिए । आज अवकाश भएर पनि यिनैलाई अँगालेको छु । यसले मेरो निवृत्त जीवन निर्वाह गर्न एक अभिन्न अङ्ग रुपमा भूमिका निर्वाह गरेको छ भने सामाजिक रुपान्तरणमा पनि उत्तिकै सशक्त बन्दै गएको छ ।

विभिन्न संघ–संस्थाहरुबाट मेरो कामको मूल्याङ्कनको आधारमा हिजोदेखि आजसम्म आइपुग्दा दिएका झण्डै एक दर्जन जति सम्मान र पुरस्कार प्राप्त गरी सकेको छु भने केही राष्ट्रिय स्तरका लेख लेखन प्रतियोगितामा समेत छनोट भई सम्मान र पुरस्कार समेत हात लागेका छन् । यिनले पनि मेरो जीवनलाई सहजरुपमा अवतरण गर्न मार्ग निर्देश गरेका छन् । विद्यालय कालीन समयदेखि नै साहित्यमा कलम चलाउँदै आएको थिए । त्यही समयमा चार वटा पुस्तक पनि प्रकाशित भए । प्रकाशित पुस्तकहरुमा कविता संग्रहका मातृभूमि, वर्तमानका आस्था र खुला आकाश गरी तीन वटा रहेका छन् भने पूर्व प्राथमिक तहका नानीहरूका लागि अंग्रेजी लेखनको लागि अभ्यास पुस्तिका समेत प्रकाशित गरिसकेको छु । यी प्रकाशित कृतिले पनि मेरो निवृत्त जीवन निर्वाहमा पूर्ण सहयोग पुग्ने विश्वास लिएको छु ।

यसैगरी मेरो रुची अनुसार यस जिल्लाभित्रका देखि वाह्य जिल्लामा रहेका पत्र पत्रिकामा स्तम्भ लेख्दै आएको पनि झण्डै दुई दशक नै बित्न लागेछ । त्यहीदेखि जागेको मेरो रुचीले वि.सं. २०६७ सालदेखि मेरै प्रकाशक÷सम्पादनमा प्रकाशित साप्ताहिक ‘कसार’ले पनि मेरो निवृत्त जीवनपछिको बाटो तय गरिदिएको छ । आजसम्म निरन्तर रुपमा प्रकाशित पत्रिकाले मेरो भावी जीवनको गोरेटो निर्माण गरिदिएको छ । सामाजिक रुपमा पनि विभिन्न संघ–संस्थामा गरेको जिम्मेवारी र भूमिकाले भावी जीवनको गोरेटो कोरिदिएको छ । यी र यस्तै प्रतिनिधिमूलक भूमिकामा रहेर गरिने कर्मले आगामी दिनको जीवन यात्रा तय गर्न अग्रणी भूमिका खेल्नेछ । अतः यिनै प्रतिनिधि क्रियाकलापहरुले अब उप्रान्त जीवन साधनाको बाटो तय गरी सध्यामा पुग्न पूर्ण सहयोग मिल्छ भन्ने विश्वासका साथ मेरो निवृत्त जीवन व्यतीत गर्ने तर्फ उद्यत रहने छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here