लागुऔषध दुर्व्यसन र ओसारपसारविरुद्ध चेतना फैलाउनुपर्ने

0
20
काठमाडौँ, 
आधुनिकताका नाममा बालबालिका एवं किशोरकिशोरी लागुऔषध दुर्व्यसनमा फस्नेक्रम वृद्धि भएकाले यसविरुद्ध जनचेतना फैलाउनुपर्नेमा जोड दिइएको छ ।
लागुऔषध दुरुपयोग र अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले ‘द सेलिब्रेसन कोएडको’ सहयोगमा एक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा सहभागी शिक्षक एवं अभिभावकले ‘मोबाइल गेम’ र ‘भेप’ को दुव्र्यसनबाट बालबालिका एवं किशोरकिशोरीलाई बचाउनुपर्नेमा जोड दिएका छन् ।
‘मोबाइल गेम’मा बालबालिका र किशोर किशोरीलाई रु एक सयसम्म जिताउने र नियोजित तरिकाले हार्न लगाइ गुण्डा लगाएर पैसा असुल गर्ने जस्ता घटना बढ्न थालेको अभिभावकको भनाइ थियो । यस्ता विषयमा नियमनकारी निकायले ध्यान दिनुपर्ने उहाँहरुको सुझाव छ । कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर फुयाँलले जिम्मेवार निकाय र समुदायले सामूहिकरुपमा यस्ता विषयमा अभियान चलाउनुपर्ने बताउनुभयो ।
शान्ति समाजका केन्द्रीय सभापति रामकृष्ण बरालले लागुपदार्थ दुव्र्यसन र अवैध ओसारपसारविरुद्ध कानुन भए पनि सहीरुपमा कार्यान्वयन नहुँदा समस्या विकराल बन्दै गएको बताउनुभयो । प्रहरीको तथ्याङ्कमा लागुपदार्थ प्रयोग र ओसारपसारका घटनामा वृद्धि भइरहेको उल्लेख गर्दै उहाँले कतिपय घटनामा प्रहरीको  मिलेमतो रहेको आरोप लगाउनुभयो ।
कार्यक्रममा शान्ति समाजका पूर्वसभापति उत्तम पुडासैनी, द सेलिब्रेसन कोएडका प्रधानाध्यापक महेन्द्र भट्टराई, सहायक प्रधानाध्यापक सागर दाहाल, शान्ति समाजका काठमाडौँ सभापति भगवान् पुडासैनीलगायतले सामुदायिक एवं संस्थागत विद्यालय र नागरिक संस्थाबीच समन्वयात्मकरुपमा अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
प्रत्येक वर्ष २६ जुनका दिन यो दिवस मनाइन्छ । सन् १९८७ को १७ देखि २३ जुनसम्म अष्ट्रियाको भियनामा सम्पन्न लागुऔषध दुरुपयोग र अवैध ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले यससम्बन्धी महत्वपूर्ण दुई दस्तावेज ग्रहण गरेको थियो । त्यसै सम्मेलनले सिफारिस गरेअनुसार यो दिवस मनाउन थालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here