सानो समूहका मानिसहरुको हितका निम्ति समूहमा आबद्ध सबैको समान सहभागिता र अपनत्वसहित गठन भएको संस्था नै सहकारी हो । यसलाई व्यवस्थित ढङ्गले, वैधानिक तथा असल मनसाय र सबैको हित गर्ने गरी सञ्चालन गर्नु सहकारीको लक्ष्य पनि हो । यसको आदर्श, मूल्य–मान्यता, लक्ष्य भनेकै समुदायको हित गर्नु रहेकाले सहकारीलाई सञ्चालन र व्यवस्थापन गर्नेहरुको नियत सफा रहुञ्जेल यो देशको अर्थतन्त्रको एउटा अभिन्न अङ्ग हुन्छ । तर, पछिल्लो समय ‘झरीको च्याउ’ सरह विस्तार हुन थालेपछि र यसको आदर्श, मूल्य र मान्यता विपरीतका गतिविधि बढ्दै गएपछि सहकारीको साख गिर्न थालेको छ ।
पूर्वीय दर्शनले कलियुगको शक्ति नै संगठन भनेको छ । समुदाय एउटै लक्ष्य र गन्तव्यमा गोलबद्ध हुँदा कठिन काम पनि सहजै पूरा गर्न सकिन्छ भन्ने यही मान्यतालाई टेकेर स्थापित सहकारी ठूला–ठूला आर्थिक कारोबार गर्ने संस्थाका रुपमा सक्रिय रहँदा यस्तो अवस्था आयो । त्यही नै सहकारीका लागि प्रत्युत्पादक भएको छ । सहकारी कै मान्यता अनुसारको अनुशासनको पालना नगर्दा, वाणिज्य बैंक सरहको निक्षेप संकलन र ऋण प्रवाह गर्दा अप्ठ्यारोमा परेका सहकारी बन्द हुने अवस्थामा पुगेको विश्लेषण भएको छ । अर्थात् कोरोना कालले निम्त्याएको आर्थिक मन्दीको प्रभाव सहकारीमा पनि प¥यो जसका कारण तिनले बचतकर्ताको निक्षेप फिर्ता गर्न सकेनन् र समग्र सहकारी संस्था नै दोषको भागिदार बनिए ।
समुदायका कम आय भएका, वृद्धवृद्धा, अपाङ्गता भएका र विपन्न वर्गका जनताको दुःखले बचत गरेको रकम हिनामिना भएको छ । यसले सहकारीका सञ्चालकहरु अनुशासनबाट बरालिएको पुष्टि हुन्छ । उनीहरु उद्देश्यबाट विमुख हुँदा यसबेला धेरै सहकारीहरु सङ्कटग्रस्त छन् । कति सहकारीहरु बन्द भएका छन् भने कति सञ्चालकहरु फरार छन् । केही पक्राउ परेका पनि छन्, तर यतिले बचतकर्ताको पीडामा मल्हम लाग्दैन । सहकारी बैंकहरु जस्तो नाफामुखी संस्था होइन, नाफा कमाउने यसको लक्ष्य नै होइन, त्यसैले यसलाई पवित्र भावनाले सञ्चालन गर्नुपर्छ । सदस्यको कल्याण गर्नु सहकारीको मुख्य आदर्श हो, त्यसकारण सञ्चालक तथा सदस्यहरुले स्वनियमको पालना गर्नुपर्छ । सहकारीको नाममा ठगी गर्ने जोकोहीलाई कानूनको परिधिमा ल्याउनुपर्छ । मान्यता विपरीत जानु ठगी हो त्यसलाई दण्डित गर्नुपर्छ । त्यसकै लागि हुनसक्छ सहकारी विभागले एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारीको सञ्चालक हुन नपाइने निर्देशन दिएको छ । त्यस्तै ऋणीहरुलाई समेत राहत पुग्ने गरी केही प्रावधान थपेको छ । यसले विद्यमान वित्तीय आतंक मत्थर पार्न सघाउँछ, जो इमानी ऋणीका लागि सहायक बन्न सक्छ । अनि पनि सहकारीमा रहेको विकृति र विसंगतिको अन्त्य गर्न भने सञ्चालक र सदस्यहरुले स्वनियमन, स्वनियन्त्रण र स्वानुशासनभित्रै बस्नै पर्छ । नभए सबै सहकारीमाथिको विश्वास उठ्न सक्छ ।