नेपाली भाषाको सम्मान : भानुभक्तको सम्मान

0
18

नेपाली भाषा साहित्यका आदिकविका रूपमा प्रख्यात भानुभक्त आचार्यको यस पटक २११औं जन्मजयन्ती भानु सप्ताहको रूपमा मुलुकभित्र र मुलुक बाहिर नेपाली भाषीवीच भव्य ढङ्गले मनाइँदैछ । नेपाली भाषा नेपालको मूल भाषा, कार्यालयको भाषा, अन्य भाषाभाषीका लागि सम्पर्क भाषाको रूपमा स्थापित छ । आफ्ना मातापिताबाट प्राप्त भाषा नै मातृभाषा हो । त्यसका जरा हुन्छन्, स्मृति र विम्ब पनि हुन्छन् । मातृभाषाले एउटा बेग्लै प्रकारको सांस्कृतिक आचरण प्रदान गर्दछ, तर अरू कुनै आयातित भाषाबाट त्यस्तो सम्भव हुँदैन । मातृभाषासँग केही यस्ता तत्व जोडिएका हुन्छन्, जसले यसको सम्प्रेषणीयता त्यो भाषा बोल्नेहरूका लागि अधिक मार्मिक हुन्छ । यो प्रश्न इतिहास तथा संस्कृतिको वहनसँग पनि सम्बद्ध छ, जुन कुरा सम्प्रेषणका क्रममा निर्मित हुन्छ । नेपाली भाषा नेपालीका लागि हृदयको भाषा हो । वैदेशिक हस्तक्षेपको आक्रमणको तारो भाषा र संस्कृति हुने गर्छ । साम्राज्यवादले सबैभन्दा पहिला सांस्कृतिक धरातलमा आक्रमण गर्ने गर्छ । उसले अन्य भाषालाई अवमूल्यन गर्न थाल्छ । स्थानीय जनताले बोल्ने भाषालाई हीन भाषा भन्ने गर्छ । त्यसक्रममा मानिस आफ्नै मातृभाषा बोल्न पनि हिचकिचाउन थाल्छन् र विश्वका अपरिचित भाषाको प्रभुत्वको महिमामण्डन गर्न थाल्छन् । नेपालीको चेतनास्तर अत्यन्त कम भएको र शिक्षाको विकास नभएको समयमा साहित्य रचनाको अभिव्यक्तिको माध्यम नेपाली भाषा बनाएर भानुभक्तले नेपाली भाषा साहित्यको सेवा गरे । भानुकृत रामायण नेपालको सांस्कृतिक एकीकरणको प्रमुख आधार बन्न पुगेको इतिहाससिद्ध कुरा हो ।

भानुभक्तका कतिपय रचना स्त्रीद्वेषी, सामन्तवादको पक्षधर, अन्धविश्वासी रहेको विश्लेषण पनि छ, तर हरेक रचनाका सीमा रहेकोमा मतभिन्नता हुन जरुरी छैन । एउटा विशिष्ट सामाजिक तथा मनोवैज्ञानिक बनावटको आधारमा रचनाको विशिष्टता हुन्छ भने सामाजिक अस्मिताको रचना पनि समयको प्रतिबिम्बको रूपमा भएको हुन्छ । आत्मअन्वेषणको जुन गहिराइ मातृभाषासँग जोडिएको हुन्छ, त्यो अरू भाषासँग हुँदैन । हो, अन्य भाषामा पनि कुरा गर्न या भन्न सकिन्छ, तर त्यो मातृभाषामा भनेजस्तो मार्मिकता त्यसमा सम्भव हुँदैन। यो भाषाको वैज्ञानिक तथा सांस्कृतिक तथ्य पनि हो । तसर्थ, भानुभक्तका तमाम सीमा र कमीका बाबजुद मातृभाषा संरक्षणमा उनको कलमले गरेको सेवा अत्युच्च रहेको स्वीकार्न हरेक नेपाली तयार हुन्छ । निश्चय नै नेपाली भाषाको समृद्धीकरणका प्रक्रियामा सुदृढरूपमा काम भएको वा पर्याप्त रूपमा राज्यपक्षबाट तत्परता नभएकोमा वादविवाद हुनसक्छ । साहित्य र संस्कृतिका सकारात्मक, मानवीय र लोकतान्त्रिक तत्व पनि प्रकट हुन्छन् । आफ्ना संस्कृतिको जरामा नै गएर हामीलाई आफ्नो आत्मीयताको अनुभूति हुन्छ ।

नेपाली भाषा जनआकांक्षाको परिपूर्तिको संवाहक हो । नेपालीका लागि नेपाली भाषामा धरतीको जुन सुगन्ध हुन्छ, कल्पनाशीलताको जुन पारम्परिक शृंखला हुन्छ, त्यो अन्य भाषामा सम्भवै हुँदैन । हामी नेपाली भाषामा जति तीव्रता र तीक्ष्णताका साथ आफ्नो कुरा भन्न सक्दछौं, त्यसरी अन्य भाषामा भन्न कदापि सकिँदैन । भानुभक्तको सम्मान उनको तस्बिरमा माल्यार्पण गरेर हुँदैन, न उनको शालिकमा फूल चढाएर हुन सक्छ । नेपालीको दृष्टिकोण तथा विचारधाराको वाहक बनेको नेपाली भाषाको संरक्षण र समृद्धीकरण गर्दै औपनिवेशिकताले आक्रान्त पार्दै लगेको परिवेशबाट सतर्क रहन आवश्यक छ । नेपाली भाषामा ज्ञानविज्ञान, सामाजिक विज्ञान सिक्ने वा ज्ञानार्जन गर्नमै सङ्कोच गर्नुपर्ने नमिल्दो र नमिठो आजको अवस्थामा परिवर्तन ल्याउन जरुरी छ । भानुभक्तप्रतिको सच्चा श्रद्धाञ्जली भनेको हाम्रो अस्मिता, साहित्य, सिर्जनात्मकताको सर्वोच्च वैभव नेपाली भाषाको संरक्षण र विकास हो । नेपाली भाषाको वैज्ञानिकता जोगाउन जरुरी छ । भानुभक्तको सम्मान नेपाली भाषा र साहित्यको सम्मान हो भन्ने यथार्थ मनन गरौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here