एसइईको खस्केको नतिजाको जिम्मा सबैको

0
6

केही दिनअघि शिक्षाविद् डा. विद्यानाथ कोइरालाले एसइईको नतिजा कमजोर आउनुमा पहिलो दोषी शिक्षक भएको बताएपछि शिक्षा क्षेत्रमा उनको अभिव्यक्तिलाई लिएर बहस शुरु भएको छ । शिक्षाविद् कोइरालाले शिक्षकले पढाउन नजानेको, पढाउने कला पनि थाहा नभएको दाबी गर्दै विद्यार्थी परिवर्तन भए पनि पढाउने शैली पुरानै हुनु नै नतिजा कमजोर आउनु पहिलो कारण भएको स्पष्ट पारे । शिक्षकहरूमा विद्यार्थीको रूची केमा छ र कसरी पढाउँदा सहजरूपले बुझ्न सक्छन् भन्ने कुरामा चिन्तन नै नभएको उनको भनाइ छ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सामेल चार लाख ६४ हजार सात सय ८५ जनामध्ये दुई लाख २२ हजार चार सय ७२ जना मात्रै अर्थात् लगभग ४८% कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् भने दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीे कक्षा ११ मा भर्ना हुन अयोग्य ठहरिएका छन् ।

एक कोणबाट हेर्दा डा. कोइरालाको भनाइ ठीकै लाग्छ, तर यथार्थ त्यतिमात्र होइन । मुलुकको वार्षिक बजेटको १० प्रतिशतभन्दा ज्यादा शिक्षामा मात्रै खर्च हुन्छ । हुनुपर्ने त २० प्रतिशत हो । अन्तर्राष्ट्रिय मञ्चहरूमा सरकारी प्रतिनिधिहरू २० प्रतिशतै बजेट विनियोजन गर्ने प्रतिबद्धता गर्न चुक्दैनन् पनि । तर, विनियोजनमा चुक्छन् । त्यसैले त देशभरका सामुदायिक विद्यालयहरूमा शिक्षक दरबन्दी कम छन् । भएका दरबन्दी पनि हजारौंको सङ्ख्याका रिक्त छन् । भवन लगायत पूर्वाधार कमजोर छन् । अर्थात् सरकारले शिक्षालाई पर्याप्त लगानी गरेको छैन। त्यसो त यसपाली नतिजा निकाल्दा अपनाइएको मापदण्ड फरक थियो । सैद्धान्तिकतर्फ पनि ३५ अङ्क ल्याएकै हुनुपर्ने लगायत मापदण्डका कारण धेरै विद्यार्थी कक्षा ११ मा भर्ना हुन अयोग्य हुने भएका हुन् । तर, खासगरी हाम्रो पठनपाठन र शैक्षिक प्रणाली नै कमजोर छ भन्न हिच्किचाउनु पर्दैन । मुलुकका कतिपय गाउँपालिकाभरिकै सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत शून्य पनि देखियो । कतिमा जम्मा एकजना मात्रै उत्तीर्ण भए । यसले देशको विद्यालय शिक्षाको हालत देखाउँछ । सहरी जिल्लाकै थुप्रै सामुदायिक विद्यालयमा पनि अत्यन्तै कमजोर नतिजा आएको छ । निजी विद्यालयको नतिजा उत्कृष्ट आउने र सामुदायिकको कमजोर हुने भनेको देशकै लागि लज्जाको विषय हो ।

सरकारले गरेको लगानीबाट प्रतिफल नआउनु भनेको निकै ठूलो विडम्बना हो । तर, यो प्रतिफलका पछि बहुआयामिक कारण रहेका छन् । अभिभावकको कम चासो, अपर्याप्त लगानी, स्थानीय सरकारको बेवास्ता, शिक्षकलाई नियमित तालिमको अभाव, कमजोर पूर्वाधार, अयोग्य, दम्भी, कमजोर क्षमताका प्रधानाध्यापक, स्थानीय राजनीतिक हस्तक्षेप, शैक्षिक तथा शैक्षणिक सामग्रीको अभाव, भाषिक समस्या, विद्यार्थीको घरदेखि विद्यालयसम्मको दूरी, शिक्षक अभाव, कमजोर आर्थिक धरातलबाट आएका विद्यार्थीलाई सुविधा नहुनु, कतिपय शिक्षकमा राजाको काम कहिले जाला घाम भन्ने प्रवृत्ति हावी हुनु, विद्यालयमा शिक्षक र शिक्षक तथा शिक्षक र विद्यालय व्यवस्थापन समितिबीच द्वन्द्व, प्रश्न निर्माणको क्षेत्रमा भएको कमजोरी आदि धेरै कारणबाट आजको एसइईको नतिजा आएका कारण सम्पूर्ण दोष शिक्षकको थाप्लोमा हाल्ने शिक्षाविद् डा. कोइरालाको भनाइको आफैँ खण्डन हुन्छ । यो नतिजाको जिम्मा सबैले लिनुपर्छ । अर्कालाई पानी छ्यापेर आफू ओभानो बन्न कसैलाई छुट छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here