सभ्यता र संस्कारभित्रका स्वरुपहरु

0
86

सन्दीप र रमाशंकर आ–आफ्नो पढाइतर्फ लागे । संदीप सामाजिक अभियन्ता पनि थिए । उनले आप्mनो पढाइको साथमा काठमाडौंको समाजलाई अध्ययन गर्न शुरु गरे । समाजभित्रका गतिविधिलाई नियाल्न थाले । सन्दीप र सम्भावनाका बीचमा चिठीपत्रहरु बाक्लै रुपमा आदान प्रदान हुन थाले । सन्दीपले आप्mनो प्रत्येक चिठीमा काठमाडौंको भौगोलिक वातावरण, प्रकृतिक वातावरण रहन–सहनका साथै अन्य विविध पक्षका बारेमा जानकारी गराउँदै गए । छोटो समयमै सन्दीपले काठमाडौंको गहिरो अध्ययन गरे । अध्ययनबाट प्राप्त नतिजा सम्भावना समक्ष प्रस्तुत गर्दै गए ।

सन्दीपले देखे, काठमाडौं विकास भएको देशको राजधानी रहेछ । विकास नहुने कुरै भएन । तर, काठमाडौं विकास मात्र भएको देखे सन्दीपले । सुधार भएको देखेनन् । सन्दीपलाई लागेको थियो, विकास र सुधारमा फरक हुन्छ । विकास भनेको परिवर्तनसँग सम्बन्धित हुन्छ । काठमाडांै उपत्यका पनि हो । यो उपत्यका समय, काल र परिस्थिति अनुकूल परिवर्तन हुँदै आएको छ । विकास हुँदै आएको छ । मञ्जुश्रीले देखेको यो उपत्यका टौदह थियो । जसलाई उनले बस्न योग्य हुने देखे । गोपाल वंशीले देखेको यो उपत्यका गौचरण थियो । जहाँ उनीहरुले ग्वालाको पहिचान दिँदै संगठित भएर शासन चलाउन सकिने अवस्था देखे । किरातवंशीले देखेको यो काठमाडौं आदिवासीहरुको संगमस्थल थियो । जहाँ उनीहरुले वंशानुगत र पुस्त्यौनी राज्य सञ्चालनमा किरात वंशको पनि आवश्यकता रहेको देखे ।

पुस्तौंपुस्तासम्म राज्य सञ्चालन गरे । लिच्छवीकालमा विशेषगरी मानदेव, अंशु वर्मा आदिले स्वर्णीम युग देखे । जहाँ उनीहरुले राजा र प्रजा दुबैको विश्वास जित्ने शालीन र सभ्य शासन सञ्चालन गर्न सकिने परिकल्पना गरे । जसले गर्दा राज्यमा शक्ति सञ्चय पनि नहुने युद्ध र भयको त्रास पनि नहुने । प्रशासनमा हस्तक्षेप नहुने देखे । सूर्यवंशीका यी राजाले अत्युक्तम शासनको रुपरेखाभित्र र स्वर्णकालीन युग देखे । मल्लकालीन समयमा मल्लहरुले उद्यमशीलता, कला, कौशल, संस्कृति र साहित्यको विकास देखे । साथै वर्ग विभाजनको रुपमा स्थापित जाति प्रथा र कुटिल चाल भएका भारदार वर्गको अभ्यूदय पनि देखे । जसका कारणले आफ्नै वंश विनासको बाटो रोज्न बाध्य भएको देखे ।

शाहाकालमा विशेषगरी पृथ्वीनारायणले नेपाल राष्ट्रको विस्तार गर्न सकिने सपना देखे । रीतिथिति बाँध्न कठिन देखे पनि चार जात छत्तीस वर्ण फूलबारीको गोडमेल गर्नका लागि उपयुक्त र सहज हुने ठाउँ उपत्यका देखे । बहादुर शाह र राजेन्द्र लक्ष्मीले पूर्वमा टिस्टा र पश्चिममा कांगडासम्म बृहत्तर नेपालको अभियान चलाउने सपना देखे । कालु पाण्डे र भिमसेन थापाले वीरता प्रदर्शन गर्ने कलाका साथ राज भक्ति र स्वाधिन नेपाल देखे । राणा शासनमा पजनी प्रथाको आडमा प्रशासनिक हस्तक्षेप गर्दै शक्ति सञ्चय गर्न सकेमा निरंकुशता जग बलियो बनाउन सकिने देखे । जसबाट आप्mनो परिवार लामो समयसम्म शासनमा टिक्न सक्ने अवस्था देखे । राजा त्रिभुवनले प्रजातन्त्रको अभ्यूदय देखे । राजा महेन्द्रले विश्वसामु नेपालको पहिचान बनाउनका साथै विकासका साथ परिवर्तनशील नेपाल बनाउने सकिने सपना देखे । राजा विरेन्द्रले शान्ति क्षेत्र घोषित नेपालभित्र र नेपाल र नेपालीको उज्ज्वल भविष्य सपना देखे । सन्दीपले संक्षेपमा प्राचीनकाल, मध्येकाल र आधुनिककालको ऐतिहासिक चित्र सम्भावना सामु प्रस्तुत गरे ।

सन्दीपले सम्भावनालाई नेपालको ऐतिहासिक पृष्ठभूमिका साथमा विकास एकपछि अर्को हुँदै जान्छ भन्ने कुरा स्पष्ट पार्न खोजे । उनी भन्दै गए विकास चरणबद्ध हुन्छ । काठमाडांै पनि चरणबद्ध रुपमा विकास भएको थियो । विकासको गति हुन्छ । सिद्धान्त हुन्छ । नियम हुन्छ । यो सरल रेखामा हिँड्छ । वक्ररेखामा हिँड्छ । हिँडी नै रहन्छ । न टुङ्गिने यात्रामा हिँड्छ । अविरल गतिमा हिँड्छ । जसले आज भन्दै भोलि भन्दै नयाँ नयाँ संरचना सिर्जना गर्दै हिँड्छ । विकास ज्यूँदो हुन्छ । जसले निर्जिव भएर पनि बाँचेर देखाउँछ । विकास क्षणिक हुन्छ । बल्छ अनि निभ्छ । निभ्छ फेरि बल्छ । आप्mनो गतिको परिवर्तन भनेर क्रमिक रुपमा बढी नै रहन्छ । क्रम भंग गर्छ । टुटाउँछ । क्रम जोड्छ । फेरि तोड्छ । फेरि पनि जोडिन्छ । आप्mनो मौलिकपनमा इँटा थपेर वा परिवर्तन नै ल्याएर भए पनि विकासले आप्mनो पहिचान बनाउँछ । तर, यो पहिचान आजका शासकले लत्याउँदै रहेछन् । शासक र शासित बीचमा खाडल खन्दै रहेछन् । जनता भेडा बनाइए छन् । कार्यकर्ता पालनपोषणको छायाँमा परे छन् । नीति छ । नियम छैन । राज्य सञ्चालनमा शक्ति सञ्चय गरिँदोरहेछ । प्रशासनमा हस्तक्षेप हुँदो रहेछ । राज्यका अंग पंगु बनाइएका छन् । सबै आ–आप्mनै दौडमा छन् । स्वार्थमा छन् । अन्त्यमा भन्नुपर्दा हिजो अस्तीकोभन्दा आज विसंगति र विकृतिका गति समात्ने पहिचान काठमाडौंले बनाउँदै रहेछ ।

सम्भावना काठमाडौंको विकास जुन गतिमा छ । सो अनुरुप सुधार भएको रहेन छ । सुधार भनेको अझ राम्रो बनाउने हो । संरक्षण गर्ने हो । मञ्जुश्रीको योगदानले बस्न योग्य भएको काठमाडौं । यसपछिका राजा महाराजाले आ–आप्mनो समय र सन्दर्भ अनुरुप केही न केही सुधारका पद चिन्ह छाडेर गए । ती पदचिन्हहरुमा कहीँ न कहीँ सुधार भएका थिए । सुधार गर्नु शासकको भूमिका पनि हो । भएको वस्तुलाई राम्रो बनाउनु सुधार हो । संरक्षण गर्नु सुधार हो । विगतका कमि–कमजोरीलाई पहिल्याउँदै सबल र दुर्बल पक्षलाई पहिचान गर्नु हो । पहिचान गरिएको सबल पक्षको निरन्तरताका साथ आजको समय अनुरुप अशल बनाउनु सुधार हो । तर, आज यो प्रकृतिको छैन । हिजोका वस्तुमा टेकेर आजका शासक रम्नु रमाइरहेका छन् । न सुझाव सुन्छन् । न अन्तरक्रिया गर्छन् । गर्छन् त आप्mनै स्वार्थमा आफ्नो अनुहार कसरी देखिन्छ । आफन्तको अनुहार कसरी देखिन्छ । कार्यकर्ताको आवाज कसरी थुन्न सकिन्छ । लाग्छ जनता सबै एकै हुन् । तर, यहाँ जनता–जनताका बीचमा विभेद छ । जनता र कार्यकर्ताका बीचमा विभेद छ । त्यसैले काठमाडौंमा विकास भएको छ । तर, सुधार भएको छैन । बाहिर सुन्दर छ भित्र खोक्रो रहेछ ।

सम्भावना ! मैले देखेको काठमाडांैमा मानव–मानवका बीचमा पनि विभेद रहेछ । मानव–मानवको बीचमा पहिचानको अभाव रहेछ । एक कोठाको व्यक्तिले अर्को कोठाको व्यक्तिलाई चिन्दो रहेन छ । एकले अर्कोलाई सद्भाव जनाउने ज्ञानको समेत अभाव हुँदो रहेछ । मानिस व्यस्त, शहर व्यस्त, सडक व्यस्त रहेछ । प्रदुषित वातावरणका मुख्य सड्क, भित्रि सडकमा पनि सवारीसाधनको भीड हुँदो रहेछ । मानिस दौडिरहेका छन् । दौडिने मानिसको पनि भीड छ । आपसमा सोधपुछ छैन । कुराकानी छैन । एकअर्कामा नियन्त्रण छैन । कोही कसैको बसमा छैन । पुरुष महिला सरोवरी दौडिरहेछन् । महिला हिंसाका घटना, यौन हिंसाका घटना पनि सहज र सरल ढंगबाट हुँदा रहेछन् । छुत र अछुतका धारणाको जरा मानिस–मानिसका बीचमा, घुम्ती–घुम्तीमा, गल्ली–गल्लीमा, चोक–चोकमा मात्र नभएर सरल र जटिल मोडमा समेत फैलिएका रहेछन् ।

सम्भावना ! मलाई लागेको थियो । शहर भनेको सभ्यता र संस्कृतिको केन्द्रविन्दु हो । सभ्यता र संस्कृति मानवमात्रको साझा प्रयत्नको परिणाम हो । जसको गति, यति र लय सामुहिक हुन्छ । तर, यहाँ सभ्यता एक्लै दौडिरहेछ । आफ्नै प्रकतिका पहिचान र विशेषता बोकेको हुँदो रहेछ । नेवारी समाजका संस्कृति भने विशिष्ट प्रकृतिका हुँदा रहेछन् । संस्कृति कुनै जात वा व्यक्ति विशेषमा सिमति घेरामा हुँदैन, तर पनि मानव जातिका आ–आप्mनै प्रकृतिका खान–पान रहन–सहन, आचार–विचार अनुरुपका पनि हँुदा रहेछन् । हरेक समाज वा राष्ट्रका पनि आ–आप्mनै प्रकृतिका संस्कृति भएका हुन्छन् । तर, पनि लामो समयको अभ्यास पछि कलान्तरमा आएर संस्कृतिले साझा स्वरुप लिएका हुन्छन् । यही विशिष्टता सहरमा रहेछन् ।

फलतः यहाँ शताब्दीयौँदेखि बसोबास गर्ने आदिबासीहरुकोे त्याग र तपस्याबाट स्थापित भएका संस्कृतिहरु नै आजका दिनमा भने राष्ट्रकै पहिचान र गहना बन्न पुगेका रहेछन् । सम्भावना ! तिमीलाई थाहै छ, सभ्यता भनेको कुनै पनि समाज वा राष्ट्रको सर्वाङ्गीण पक्षको प्रगतिको खाकाको स्वरुप हो । सभ्यता वास्तवमा समाज वा देशको भौतिक पक्षको विकास हो । सभ्यताभित्र शिष्टता हुन्छ । भद्रता हुन्छ । सभ्यता मूर्त हुन्छ । जसलाई सजिलै देख्न सकिन्छ । छाम्न सकिन्छ । हेर्न सकिन्छ । उचाल्न सकिन्छ । पछार्न सकिन्छ । प्रत्यक्ष अनुभव गर्न सकिन्छ । तर, पनि सभ्यताले मात्र मानव जीवन पूर्णरुपमा सार्थक बन्न सक्दैन रहेछ । मानव जीवन सार्थक बन्न मानसिक पक्षको पनि विकास हुनु पर्दछ । मानसिक पक्षको गति पहिल्याउन हामीले अतितको खोजी गर्नु पर्दछ । अतितभित्रको खोजीमा सांस्कृतिक पक्षको महत्व लुकेर बसेको हुँदो रहेछ । संस्कति अमूर्त हुन्छ । अदृष्य हुन्छ । अदृष्य शक्तिको संस्कृतिले मानसिक पक्षको विकास गर्ने मुख्य उद्देश्ये बोकेको हुन्छ । यसैले काठमाडौंभित्रको संस्कृतिले विश्वमा आफ्नो छुट्टै पहिचान बनाएको रहेछ ।

सभ्यताको नमूना भने सहर केन्द्रित हुँदो रहेछ । विशेष गरी भौतिक स्वरुपका प्रगतिमा मात्र सिमित हुँदो रहेछ । हामी गाउँ, समाजमा बस्नेहरुका लागि न्यूनतम् रुपमा आवश्यक पर्ने भौतिक सुबिधाको अभाव रहेछ । तर, पनि गाउँ घरमा भद्रता हुँदो रहेछ । शिष्टता हुँदो रहेछ । हो ! हामीले सभ्यताको पाटोमा कमै अनुभव गर्न पाएका रहेछांै । तर, हामीभित्र सद्भाव हुँदो रहेछ । एकअर्कालाई सहयोग गर्ने भावना हुँदो रहेछ । मानिसिक पक्षका संस्कृतिको अनुभवमा भने हामी पनि शहरभन्दा कमी रहेन छांै । सम्भावना ! शहरमा तर पनि खै के नपुगेको हो नुन खोर्सानी र मसला बेगरको सब्जी र अचार जस्तो । यहाँ मानवले मानवलाई हेर्ने दृष्टिको संस्कार भने फरक हुँदो रहेछ । मानव–मानवका बीचमा आपसी सद्भाव र सहयोगीका भावना, दुःख–सुखका कुराहरु साटासाट गर्ने जस्ता पक्ष भने सहरमा मौन हुँदा रहेछन् । यहाँ त अर्म–पर्म, एँेचो–पैँचो, गाह्रो तथा खाँचो टार्ने आदि जस्ता व्यवहारको नामो–निसान नै पाइँदो रहेन छ ।

सम्भावना ! सभ्य हुनु एउटा पाटो हो । सभ्यता अर्को पाटो हो । सभ्य र सभ्यता एक–अर्काका पुरक हुन् । सभ्यता भौतिक स्वरुपका प्रगतिसँग सम्बन्धित हुन्छ । भौतिक प्रगतिको यो स्वरुप सहरको तुलनामा गाउँमा धेरै कमी छ । सभ्य व्यक्तिसँग सम्बन्धित हुन्छ । यसर्थ सभ्य भनेको सज्जन हुनु हो । शिष्ट र भलाद्मी हुनु हो । विश्वासी हुनु हो । यो क्रम शहरमाभन्दा गाउँमा उच्च रहेछ । सभ्यताको विकास सहरमा देखिए तापनि सभ्यको अवस्था भने शहरको तुलनामा गाउँमा नै राम्रो रहेछ । त्यसैले गाउँ सभ्य मानिस उठबस गर्ने थलो रहेछ । संकृति र संस्कारका रुपले सम्पन्न पनि गाउँ नै रहेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here