हरेक वर्ष आजको दिन अर्थात् सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । सन् २००३, सेप्टेम्बर १० का दिन भियनाबाट यो दिवस मनाउन शुरु गरिएको हो । मानव जीवन अमूल्य हुन्छ यो जान्दाजान्दै पनि मानिस आफैं मर्न तयार हुन्छ । आफ्नो मनमा निराशा बढ्दै जाँदा मानिस मर्ने कुरा सोच्न थाल्छ, योजना बनाउन र मौका खोज्न थाल्छ र त्यसकै नियन्त्रणमा पुगेर आफ्नो जीवनलाई समाप्त पार्छ । यसैलाई स्वेच्छाले मृत्युवरण वा आत्महत्या भन्ने गरिएको छ । आत्महत्या एक प्रकारको मानसिक अवस्थालाई सन्तुलनमा राख्न नसक्ने परिस्थितिको परिणाम हो, जसलाई संवादबाट उनीहरुको मनस्थितिको उपचारबाट र उत्प्रेरणा जगाएर निवारण गर्न सकिने मनोविद्हरुको विश्लेषण छ ।
आज पनि विश्वमा प्रत्येक वर्ष नौ लाखभन्दा बढीले आत्महत्या गरिरहेका छन् । प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन् । १५ देखि २९ वर्ष उमेर समूहका मानिसको मृत्युको दोस्रो कारण आत्महत्या हुने गरेको अध्ययनले देखाएको छ । पचहत्तर प्रतिशत मानिस आज पनि आत्महत्याको जोखिममा छन् । खासगरी कम तथा मध्यम आय भएका राष्ट्रमा यसको जोखिम उच्च छ । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी छन् । मानव जीवनमा दिनहुँजसो आइपर्ने क्षति, शोक, पीडा र वियोग तथा शारीरिक, मानसिक, सामाजिक रहेको विश्लेषण गरिएको छ । नेपालकै सन्दर्भमा पनि प्रत्येक वर्ष सात हजारभन्दा बढी मानिसले आत्महत्या गरिरहेका छन् । त्यसैलाई रोक्न नेपाल सरकारले दिगो विकासको लक्ष्यमा समेत सन् २०३० सम्ममा आत्महत्याको दरलाई १६.५ बाट घटाइ ४.७ प्रतिशतमा ल्याउने भनिएको छ । तर, अझै यो दर प्रति लाख २३.४ मा छ र यो चुनौतिको विषय बनिएको छ ।
आत्महत्या रोकथाम दिवस विश्व स्वास्थ्य संगठनकै संयोजनमा मनाउन थालिएको हो । यसको उद्देश्य भनेको सरकार र सरोकारवाला निकायलाई आत्महत्याको मुद्दामा ध्यान केन्द्रित गर्न, कंलक घटाउने र आत्महत्या रोक्न सोचतना जगाउनु रहेको छ । आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संघद्वारा आयोजित तथा विश्व स्वास्थ्य संगठनद्वारा समर्थित यो दिवसले आममानिसमा आत्महत्याका कारण प्रति सचेत हुँदै यस्तो अप्र्रिय तथा अपूरणीय क्षति कम गर्न प्रेरित गर्नुपर्छ । आत्महत्या विनाशकारी छ यसले जोकोहीलाई पनि प्रभावित गर्न सक्छ । त्यसैले विश्वकै लागि चुनौतिको विषय बनिएको आत्महत्या वा स्व–इच्छा मृत्युको दरलाई कम गर्दै विभिन्न कारणले ‘डिप्रेसन’मा पुगेकाहरुलाई परिवार र समाजमा प्रतिस्थापित गर्न सरकार र सरोकारवाला निकायलाई यो दिवसले ऊर्जा र जिम्मेवारबोध गराउनुपर्छ ।