बिराटनगर,
मोरङको सुन्दरहरैचा नगरपालिका – ३ गछियामा रहेको जुपिटर इंङ्लिस स्कुलले बाल दिवसको अवसर पारेर पूर्व विद्यार्थी प्राश्ना पराजुलीलाई सम्मान गरेको छ।
जुपिटर इंङ्लिस स्कुलबाट २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्क ल्याई उच्च शिक्षा अध्ययनको क्रममा नेपाल मेडिकल काउन्सिलबाट लिईएको २०८१ को एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रवृति प्राप्त गरी स्कुलको नाम राख्न सफल भएको भन्दै पराजुलीलाई सम्मान गरिएको स्कुलका प्रिन्सिपल हरिशचन्द्र ढकालले बताए।
पराजुलीले एमबीबीएसको प्रवेश परीक्षामा कोशी प्रदेश प्रथम,नेपाल भरीमा छात्राहरुको साटतमा द्वितीय, देश भर ६ नम्बरमा नाम निकाल्न सफल भएको प्रिन्सिपल ढकालले बताए। ६० औ बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम सहित अन्य विद्यार्थीहरुलाई पनि सम्मान गरेको छ।
बाल दिवसको अवसर पारेर सेश नारायण धाम पुगेर गुरुकुलमा अध्ययनरत १० जना शिष्यहरुलाई कपि,कलम लगायतका स्टेसनरी समान वितरण गरिएको छ। प्रिन्सिपल ढकालका अनुसार उक्त बिद्यालयमा अध्ययन गरेका धेरै विद्यार्थी अमेरिका,जापान लगायतका देशमा पुगेका छन् भने धेरैले विभिन्न सरकारी कार्यालयहरुमा सेवा दिईरहेको बताए।
गत बर्षको एसईई परीक्षामा पनि उक्त स्कुल बाट परीक्षामा सामेल भई उत्कृष्ट नतिजा सहित शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको प्रिन्सिपल ढकालले बताए। अत्याधुनिक प्रविधिबाट पढाई हुने उक्त स्कुलमा पछिल्लो समय थप विद्यार्थीहरुको रोजाईमा पर्दै आएको छ। उक्त स्कुल कक्षा १० सम्म पढाई हुँदै आएको छ।