मेरो प्रगतिशील यात्रा

0
25

वि.सं. २०१६ साल तिरको कुरा हो । म त्यो बेला त्रि–मोहन हाई स्कूल मूलपानी (आठराई संग्राती)मा आठौं कक्षामा पढ्थँे । मूलुकमा आम चुनाव भएर नेपाली कांग्रेसको सरकार बनेको थियो । राजनीतिक सङ्गठनहरु खुलेका थिए । त्यहीबेला तेह्रथुमबाट हाम्री ठूली आमाका छोरा अभि सुवेदी (अभि नारायण) जो नेपाल विद्यार्थी फेडरेसनको स्थापना गराउन हाम्रो स्कूलमा आए । मेरो सम्झनामा नेपाल विद्यार्थी फेडरेसन खुलाउन उनी आए । घण्टौंसम्म छलफल भयो । फेडरेसन त त्यो बेला खुलेन । तर, हामी विद्यार्थीहरु माझमा ठूलो छलफल भयो । मलाई फेडरेसनको सभापति हुन साथीहरुले सल्लाह दिए । तर, फेडरेसन भने खुली हालेन । त्यो बेलादेखि मलाइ हाम्रा सरहरुले फेडरेसनवाला भन्न थाले । तर, त्यो बेला फेडरेसनको भित्रि कुरा हामीलाई थाह थिएन । तर, सरहरुले विद्यार्थीहरुलाई कित्ताकाट गरेर राखेछन् ।

त्यो भन्दाअघि स्कूलमा हुने प्रत्येक क्रियाकलापमा मेरो नेतृत्वमा काम हुन्थ्यो । त्यहीबेला जस्तो लाग्छ । नेपाली कांग्रेसका नेता प्रेमराज आङ्दाम्बेको हाम्रो स्कूलमा भ्रमण भयो । उनको स्वागत गर्ने क्रममा म विद्यार्थीहरु मध्ये पढाइमा श्रेष्ठ भएकाले स्वागत गर्न तयार थिए । तर, त्यो काम मलाई गर्न नदिएर बुद्धिप्रसाद सिटौला (भरतमणि)लाई दिए । मेरो मन खिन्न भयो । तर, मैले खासै वास्ता पनि राखिनँ । त्यहीबेला विष्णुभक्त प्रसाईको घरमा नेपाल कम्युनिष्ट पार्टीको कार्यालय खुल्यो । सि.एम.कन्दङ्वाले हसिया हथौडा भएको झण्डा फहराएर उद्घाटन गरे । त्यो दिनदेखि विष्णुभक्त प्रसाई पनि कम्युनिष्ट भए ।
हामी फेडरेसन समर्थक विद्यार्थीहरु पनि त्यही कार्यालयमा भेला हुन थाल्यौ । बिस्तारै हामीमा राजनीतिक चेतना भरिन थाल्यो । पछि आठराई पोखरी माविमा मादीका वल्लभमणि दाहाल आएपछि संंग्रातीमा हाट लाग्ने महिनाको पहिलो दिन विष्णुभक्त प्रसाईका घरमा ठूलै राजनीतिक बहस हुन थाल्यो । कांग्रेस र कम्युनिष्ट पार्टीको सिद्धान्तका बारेमा छलफल हुन थाल्यो । नेपाली कांग्रेसका डिल्लीप्रसाद सिटौला, नेपाल कम्युनिष्ट पार्टीका सि.एम. कन्दङ्वा, वल्लभमणि दाहाल, विष्णुभक्त प्रसाई आदिका बहसले महिनाको पहिलो दिन संंग्रान्तीको दिन बजारमा निकै भीड लाग्थ्यो । हामी कुरा सुन्थ्यौ मात्र । वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले संसद भंग गरेर सत्ता आफ्नो हातमा लिएपछि सुवर्ण शम्सेरले नेपाली कांग्रेसको तर्फबाट क्रान्ति शुरु गरे ।

म त्यसबेला डिल्लीप्रसाद सिटौलाको घरमा डेरा गरेर बस्थे । उनका घरमा राजा महेन्द्रको बिराधमा पर्चा पम्प्लेटहरु बोराका बोरा आउन थाले । मेरो साधारण बुद्धीले ती पर्चाहरु बोकेर क्लासमा लगेर साथीहरुलाई बाँडे । उनीहरु रिसाए । मैले पनि रिसको झोकमा संग्रान्ती प्रहरी थाना अगाडि पिसाब फेर्ने छुट्टीमा लगेर छरे । सरहरुले थाह पाएर मलाई पक्रनबाट बचाए । तर, राजाको कदमको विरोध गर्नेलाई धमाधम पक्रन थाले । तत्कालीन प्र.अ. गणेशबहादुर प्रसाईले हामीलाई पढ्नमा नै लगाए ।

वि.सं.२०१८ मा परीक्षा लेखेर मैले एसएलसी पास गरेर त्रिचन्द्र कलेजमा साइन्स पढ्न थाले । त्यो बेला मेरा सम्पर्क नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ताप्लेजुङका रुद्रकुमार शाक्यसँग हुन गयो । उनले थुप्रै कम्युनिष्ट पार्टीका पत्रपत्रिका र पुस्तकहरु दिएर मलाई कम्युनिष्ट पार्टीको सदस्य बनाए । यसरी समय क्रममा म प्रगतिशील फाँटको व्यक्ति बन्न पुगे । रुद्र शाक्यले मलाई थुप्रै कम्युनिष्ट लिट्रेचरका किताबहरु दिए । यी मध्ये म्ष्भिअतष्अब िःबतभचष्कm (द्वन्द्वात्मक भौतिकवाद) भन्ने पुस्तक मुख्य थियो । त्यसमा वर्ग संघर्षका बारेमा सबिस्तार वर्णन गरिएको थियो । त्यसले मलाई हाम्रो समाजका बारेमा पनि बुभ्mन सजिलो भयो । नेपालमा पार्टीहरुलाई बन्देज लगाएको बेला भएकाले गोप्य रुपमा ती किताबहरु पढ्नु पर्दथ्यो । लगभग दुई वर्ष जति काठमाडौंमा बस्ता धेरै कम्युनिष्ट लिट्चरेचर पढियो । डेढ वर्षपछि बिरामीका कारणले मैले काठमाडौं छाडे ।

वि.सं. २०२१ सालपछि म विराटनगर मोरङ कलेजमा वाणिज्य शास्त्र ९ऋयmmभचअभ० पढ्न थाले । विराटनगरमा पनि रसियन कम्युनिष्ट पार्टीका पत्रपत्रिकाहरु बेच्ने बाड्ने पसलहरु थिए । तिनमा म्याक्सिम गोर्कीका जीवनी सम्बन्धी किताबहरु पढ्न पाइन्थ्यो । त्यो बेला विद्यार्थीहरुका हकहितमा काम गर्ने विद्यार्थी युनियन प्रतिबन्धित थिए । २०२२÷०२३ तिर विराटनगर मोरङ कलेजमा कलेज फि लाई लिएर ठूलो आन्दोलन भयो । त्यसमा कृष्ण पोख्र्रेल जस्ता थुप्रै साथीहरुको नेतृत्वमा आन्दोलन अघि बढयो । बाहिरी रुपमा विद्यार्थीको आन्दोलन भएता पनि भित्रिरुपमा भरतमोहन अधिकारी, कमल कोइराला जस्ता कम्युनिष्ट पार्टीका नेताहरुको संलग्नता थियो । लगभग हप्तादिन विद्यार्थीहरु थुनामा राखिए पछि कृष्ण पोख्रेलहरुको अगुवाइमा त्यो आन्दोलन रोकियो । तर, त्यो आन्दोलनलाई तत्कालीन विराटनगरमा ठूलो प्रगतिशील आन्दोलनका रुपमा सरकारले स्वीका¥यो । त्यसमा म पनि थुनामा परे ।

हामीलाई कम्युनिष्ट शिक्षा दिने अर्थशास्त्रका प्रोफेसर राजकुमार पोख्रेल थिए । उनी अशल थिए र बीच–बीचमा पढाउँदा वर्ग संघर्षका कुराहरु हालेर पढाउँथे । म भने कसो कसो प्रगतिशील बन्दै गए । वि.सं. २०२४ सालमा मैले वि.कम. पास गरे । केही काल विराटनगरमै बसे त्यो बेला डि.पि. अधिकारी कम्युनिष्ट नेता उनको घर तीन पैनीमा थियो । उनले हामी जस्ता युवकलाई वर्ग संघर्षका बारेमा शिक्षा दिन्थे । उनको शिक्षाको कारण म पुरै प्रगतिशील लेखक बनेर दाङ्गमा पुगेर ‘हड्तालै हड्ताल, जुलुशै जुलुश’ नामको उपन्यास पनि लेखे । उनले त्यही बेला ‘धरती अझै बोल्दैछ’ भन्ने उपन्यास लेखे । हड्तालै हड्ताल, जुलुशै जुलुश नामको उपन्यास लेखेको कारणले सरकारको वक्रदृष्टिमा परेकाले म दाङ्गको घोराई बजार छाडेर पुस्तकको पाण्डुलिपि लिएर काठामाडौं गए । काठमाडौंमा भवानी घिमिरेसँग भेट भयो । उनलाई पुस्तकको पाण्डुलिपि देखाए । उनले तत्काल नछाप्ने सल्लाह दिए । उनले त्यो बेला मेरो सम्पर्क कम्युनिष्ट नेता केशरजङ् रायमाझी सित गराए । उनी त्यो बेला रायमाझी कम्युनिष्ट पार्टीमा आवद्ध भएका रहेछन् । म भने तटस्थ नै रहे ।

त्यो पाण्डुलिपिको लिएर म विराटनगर आए । मेरा अनन्य मित्र बद्री घायल मधेशा झोडाको जनता माविमा थिए । उनले मलाई त्यो स्कूलमा अंग्रेजी शिक्षकमा लगे । तर, त्यहाँ पनि त्यो उपन्यासका कारणले मलाई मुस्किल प¥यो । उनले त्यो पाण्डुलिपि उनको बाबुको डेरा जोगमनीमा थियो । त्यही लगेर राखे । उनले पनि डरले जोगमनीमा भारतका एक व्यापारीकोमा लगेर राखे । त्यही बसेर पढाउँदै गर्दा घायलजीले सुनसरी बकर्लौरीमा एकदिन प्रगतिशील श्रष्टाहरुको भेला पारेर कार्यक्रम गराउने भए । धरानका बेनु आचार्य, कृष्ण पाख्रिन, हृदयराज आचार्य आदि भेला भएका थियौ । प्रहरीले चाल पाएर हाम्रो कार्यक्रम स्थल घेरामा हालेछ । भूमि सुधारका खरदार योगेन्द्र चुडाल (गर्ग)ले चाल पाएर हामी भाग्न सफल भयौ । त्यो बेलाका इनरुवाका मोहन बिरही, कर्णबहादुर मगर आदि साथीहरु पनि कलम चलाउँथे ।
एक वर्ष जति म त्यहा बसेर २०२९ साल माघमा म झापामा आए । त्यो बेला झापामा सिपि मैनाली, केपी ओलीहरुको वर्ग संघर्ष चलिरहेको थियो । वि.सं. २०२९ फागुन २१ गते झापा जेलबाट इलाम सरुवा गर्ने निहँुमा रामनाथ दाहाल समेत पाँच जनालाई सुखानी जङ्गलमा पञ्चायती कालो सरकारले गोली ठोकेर हत्या ग¥यो । त्यो बेला म धुलाबारी माविमा शिक्षकका रुपमा काम गर्दै थिए । हाम्रा साथी तेजराज खतिवडाले सुखानी हत्याकाण्डको बिरोध गरे । मैले समर्थन गरे । तेजराजजीलाई त्यही काण्डमा सरकारले पक्रेर जेल चलान ग¥यो । मेरो जागिर सकियो । पछि कसो–कसो भएर मलाई शनिश्चरे माविमा नियुक्त गरियो । कम्युनिष्ट पृष्ठभूमिबाट आएको हुनाले दुई वर्षसम्मको परीक्षण कालमा राखेर स्थायी बनाइयो । तर, ३१ वर्षसम्म काम गर्दा पनि मावि तेस्रो दर्जाको शिक्षक भएर म निवृत्त भएँ । यसैबीच २०४६ सालको देशव्यापीरुपमा पञ्चायती सरकारको बिरुद्धमा चलेको आन्दोलनबाट बहुदलीय व्यवस्थाको पुनः स्थापना भयो ।
वि.सं. २०४६ तिर झापामा लीला उदासीको संयोजकत्वमा प्रगतिशील लेखक संघ गठन गरियो । त्यसको उपाध्यक्षमा म छानिए । त्यो बेला केन्द्रको प्र.ल.सं.मा मिनु चापागाँई प्रमुख थिए । त्यो कार्यकालमा झापाको आयोजना र केन्द्रको संयोजकत्वमा माक्र्सवादी सौन्दर्य चिन्तन विषयमा बिर्तामोडको अतिथि सदनमा मिनु चापागाँईको कार्यपत्रमा ठूलो छलफल भयो । राम्रै उपलब्धि पनि भयो । तर, त्यो बेला प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष श्यामप्रसादलाई नेपाल प्रज्ञा प्रतिष्ठानले सम्मान स्वरुप एक लाख रुपैयाँको पुरस्कार दिएको थियो । त्यस विषयमा प्र.ले.सं. का सदस्यहरुका बीचमा केही वैमनश्यता जस्तो देखियो । त्यसमा रुद्र खरेल र जनक हुमागाँईहरु लगायत झापाली सबै प्रगतिशील लेखकहरु श्यामप्रसाद शर्माका पक्षमा खडा भएर संस्थापक अध्यक्षको सम्मान ग¥यो । लीला उदासीपछि वि.सं. २०४९ मा प्रगतिशील लेखक संघ झापाको अध्यक्ष म भएँ ।
केन्द्रिय अध्यक्षमा गोविन्द भट्ट र सचिवमा गंगाप्रसाद उप्रेती रहेका थिए । हाम्रो टिमले सुखानी पत्रिकाको पहिलो अङ्क निकाल्यो । त्यो कममा चुडामणि रेग्मी, कमल गुरागाँईको सक्रिय सहभागिता थियो । मेरै कार्यकालमा वि.सं. २०५३ मा झापाको शनिश्चरेस्थित प्रगति माविको भवनमा दुई दिने मितेरी कवि गोष्ठी र सम्मेलन भयो । त्यसमा संस्थापक अध्यक्ष श्यामप्रसाद शर्मा, संस्थापक सदस्य भवानी घिमिरे, प्रगतिशील नेपालका केन्द्रिय अध्यक्ष गोविन्द भट्ट, महासचिव गंगाप्रसाद उप्रेती, कोषाध्यक्ष मोहन दुवाल केन्द्रिय सदस्य लीला उदासी वरिष्ठ प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौला, रुद्र खरेल आदि नेपालका सबै प्रगतिशील श्रष्ठाहरु र भारत सिलगढीका मोहन दुख्नुम अनिरुद्र तिम्सिना, तुलसी भट्टराई, ज्ञानेन्द्र खतिवडा, युवराज काफ्ले आदिको उपस्थिति थियो । त्यही सम्मेलनबाट जन्मेको गोकुल जाशीको शालिक घैलाडुब्बामा बनाउने निर्णय पनि भयो ।

वि.सं. २०६७ सालमा मेरो उपन्यास ‘हड्तालै हड्ताल, जुलुशै जुलुश’ छापिएपछि मलाई प्रगतिशील लेखकको रुपमा नरेन्द्र चापागाँई, अनिरुद्र तिम्सिना, उपेन्द्र पागल, चुडामणि रेग्मी, होम सुवेदी आदि आलोचकहरुले प्रमाणित गरे । नेपाल प्रज्ञा प्रतिष्ठानले पनि नेपाली भाषा र साहित्यमा २०७२ को सम्मान स्वरुप वि.सं.२०७३ मा रु. एक लाखसहित सम्मान पत्रद्वारा सम्मान गरे । यसपछि दीर्घ साहित्य सेवा पुररस्कार द्वारा अर्जुनधारा नगरपालिकाबाट रु. ५१००० सहित सम्मान र जयिन्द्र प्रसाई साहित्य समाजले पनि सम्मान गरेको छ । हाल आएर २०८१ साल जेठ १२ गतेका दिन प्रगतिशील लेखक संघ नेपाललले मलाई सम्मान गरेको छ । यस सम्मानले म मेरो ६८ वर्ष लामो साहित्यप्रतिको प्रगतिशील लेखन नै सम्मान भएको ठानेको छु । यस सुअवसरमा प्रगतिशील लेखक संघ नेपालललाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । मेरो स्वास्थ्यले भ्याएसम्म प्रगतिशील लेखनमा लागि रहने प्रण गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here