विगत एक वर्षदेखि भारतको मणिपुर जातीय द्वन्द्वको चपेटामा परेको छ । अहिलेसम्म शान्ति कायम हुन सकेको छैन । भारतको उत्तर पूर्वी राज्य मणिपुरमा बहुसंख्यक मइतेई समुदाय र अल्पसंख्यक कुकी समुदायबीच जातीय हिंसा भड्किएको एक वर्षभन्दा बढी भइसक्दा पनि तनाव कायमै छ । राज्यका बासिन्दाका अनुसार अझै शान्ति कायम हुन सकेको छैन । यही सेप्टेम्बर १ मा पनि हिंसाको घटना भएको थियो ।
अधिकारवादी समूहहरूले द्वन्द्वरत् समुदायलाई एक ठाउँमा ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । गत वर्ष पहिलो पटक राज्यको राजधानी इम्फाल र आसपासका क्षेत्रमा बसोबास गर्ने मइतेई समुदाय र आसपासका पहाडमा बसोबास गर्ने कुकी एकअर्कासँग भिडेका थिए । यस द्वन्द्वका कारण अहिलेसम्म दुई सय २५ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । ६० हजारभन्दा बढी मानिस बिस्थापित भएका छन् ।
द्वन्द्वका एक कारण :
मइतेई समुदायले आधिकारिक रूपमा आदिवासीको दर्जा पाउनुपर्ने माग गरेपछि कुकीहरूले त्यसको विरोध गरेका थिए । यसैकारण मइतेई र कुकी समुदायबीच द्वन्द्व चर्र्किएको थियो र पछि एकापसमा भिडेका थिए । जसले जातीय द्वन्द्वको रुप लिन पुगेको थियो । लैङ्गिक अधिकार र महिलाको नेतृत्वमा हुने निःशस्त्रीकरण आन्दोलनलाई केन्द्रित गर्ने एक प्रख्यात मानव अधिकारवादी बिनालक्ष्मी नेप्रामले यसलाई मणिपुरको इतिहासमा सबैभन्दा अँध्यारो अवधिको संज्ञा दिएकी छिन् । नागरिकको सुरक्षा सुनिश्चित गर्नु राज्यको विशेषाधिकार भएको उनको भनाइ छ । अत्याधुनिक हतियार, बुद्धिमत्ता र प्रविधिको बलमा भारतले देशको एउटा सानो भागको स्थितिलाई कसरी नियन्त्रण गर्न सकिरहेको छैन ?
यो विवाद १६ महिनादेखि चलिरहेको छ । हरेक मणिपुरीले यही प्रश्न गरिरहेका छन् । द्वन्द्वको कारण समानरुपमा सुविधा र विकासको अभाव ? चुराचन्दपुरका कुकी विद्यार्थी नेता तेलाङ लेटमिनलेन हाओकिपले आफ्नो समुदायमाथि दशकौँदेखि विभेद हुँदै आएको र जातीय तनाव अझै गहिरो रहेको बताए । उनले भने– ‘हामी आर्थिक र राजनीतिक रुपमा शोषित भएका छौँ । पहाडमा बस्ने र उपत्यकाका बासिन्दाबीच ठूलो अविश्वास छ । पहाडमा विकास निर्माणका काम कमै मात्र हुन्छन् । सबै राम्रा पूर्वाधार उपत्यकामै छन् र हामी विकास र अवसरका स्रोतबाट वञ्चित छौं ।’
मइतेई जातीय समूहका ४० वर्षीय सुरजितले जातीय विभाजनलाई विस्फोट भएको टाइम बम भनी वर्णन गरेका छन् । उनले मइतेईहरू पहाडमा जग्गा किन्नबाट बञ्चित भएको र वर्षौंदेखि म्यानमारबाट कुकीहरूको अवैध बसाइँसराइले द्वन्द्व बढाएको उल्लेख गरे । ‘हामी अनुसूचित जनजातिको दर्जा चाहन्छौँ, ताकि हामी पहाडमा जमिन किन्न सकौँ, जुन अहिले हामी सक्दैनौं ।’
भारतको संविधान अन्तर्गत विशेषाधिकार र सकारात्मक कार्य लाभ प्रदान गर्ने आधिकारिक पदनामलाई इंगित गर्दै उनले भने । मणिपुरमा, म्यानमारबाट अवैध आप्रवासनको समस्या पनि छ । म्यानमारबाट अवैधरुपमा आउने कुकीहरू अफिम खेती र लागूऔषध ओसारपसारमा संलग्न छन् । इम्फालबाट लागूपदार्थबिरुद्धको अभियानको एक अभियानको रूपमा अफिमका बगानहरू नष्ट गर्ने प्रयास गरिए । तर, कुकीहरू महशुस गर्छन् कि घाँटीमा बस्ने मइतेईहरूले उनीहरू माथि अन्याय गरेका छन् । तर, मेरो विचारमा राज्यका मानिसहरूले लागूऔषधको सिकार हुन सक्ने कुनै पनि कुरालाई नष्ट गर्नु गलत होइन, सुरजितले भने ।
छिप्पिएको द्वन्द्व :
सन् १९४९ मा भारतको हिस्सा बनेको मणिपुरका लागि द्वन्द्व नौलो होइन । दशकौँदेखि विभिन्न जातीय समुदायहरूबीच एक अर्काबिरुद्ध युद्ध र पृथकतावादी विद्रोहको चक्रबाट राज्य आक्रान्त छ । विज्ञहरूका अनुसार नयाँ दिल्लीको पावर करिडोरमा शासन गर्नेहरूले ऐतिहासिक रूपमा उपेक्षित गरेको राज्यमा द्वन्द्वको मूल कारणलाई सम्बोधन गर्न एकपछि अर्को सरकारहरू असफल भएका छन् ।
अधिकारीवादी नेप्रामले भनिन्– विगत ७० वर्षदेखि मणिपुरमा शासन गरिरहेकाहरूको राजनीतिक परिपक्वताको अभावले एकपछि अर्को सरकारहरूको सामूहिक असफलतालाई दर्शाउँछ । मणिपुर भारतमा सामेल भएपछि सहअस्तित्व सुनिश्चित गर्नका लागि राम्रो नीति हुनुपथ्र्यो । बरु त्यस क्षेत्रमा सैन्यीकरण भएको छ । राजनीतिक संवादको साटो मणिपुरमा जे भइरहेको छ, त्यसको पूर्ण जातीयकरण भइरहेको छ । मणिपुरको इतिहासबारे आधारभूत बुझाइ समेत हुन सकेको छैन, जसका कारण नीति–निर्माताहरूले दशकौँसम्म गलत नीति लिएका छन् ।
नाम नबताउने शर्तमा एक मणिपुरी कार्यकर्ताले भने, यसलाई असफल राज्य भन्नु गलत हो, तथापि त्यहाँ न शिक्षा छ, न व्यापार छ, न आधारभूत अस्पताल छ, न मानव जीवनको जवाफदेहिता छ, र उनीहरू सम्पत्तिको सुरक्षा गर्न सक्षम छैनन् । यद्यपि, नेप्रामले मणिपुरको विचार एक वर्षको द्वन्द्वका कारण मर्न नसक्ने बताइन् । उनका अनुसार, पछिल्ला केही दिनमा के भइरहेको छ भने महिला र युवाहरू मणिपुरको विचारको रक्षा गर्न अगाडि आइरहेका छन्, जुन हजारौँ वर्षदेखि बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक राज्यको रूपमा रहेको छ ।
शान्तिको पर्खाइ :
अधिकारवादी समूहहरूले मणिपुरमा गम्भीर शान्ति प्रयासको अभाव रहेको बताएका छन् । धेरैको भनाइ छ कि शान्ति प्रयासको सन्दर्भमा ठोस रूपमा केही भएको पाइएको छैन केवल वार्ताको टेबलमा आउन आव्हान गर्नु बाहेक । द्वन्द्व शुरु भएको वर्ष दिन नाघिसक्यो तापनि शान्ति वार्ता हुन नसक्नु आश्चर्यजनक छ ।
मणिपुरमा कहाँबाट आयो ड्रोन र रकेट ? अधिकारीहरुका अनुसार डूोन र रकेट आक्रमणमा परी कयौँ व्यक्तिको मृत्यु भएको छ । अशान्त राज्यका लागि यस्तो हवाई हतियारको प्रयोग पहिलो हो र सरकारले यसलाई हिंसाको उल्लेखनीय वृद्धि भनेको छ । मणिपुरको प्रहरीले, कुकी समूहले मइतेई बाहुल्य क्षेत्रमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । यद्यपि, कुकी संगठनहरूले उक्त आरोपको खण्डन गर्दै मइतेईहरूले नै ड्रोन प्रयोग गरेको बताएका छन् । तर, यी घातक हतियारहरु कसरी प्राप्त भयो ? कस्ले आपूर्ति ग¥यो ? प्रश्न अनुत्तरित छ ।
धर्मका कारण द्वन्द्व भएको हो ? हिन्दू धर्म बाहुल्य देश भारतमा अधिकांश कुकी समुदायहरु क्रिस्चियन धर्मावलम्बी भएका पाइएका छन् । २०औं शताब्दीदेखि त झन् उनीहरु सबैजसो क्रिस्चियन बनेका पाइएका छन् । उनीहरुलाई विदेशीहरुले पृष्ठपोषण गरिरहेका र समाजमा द्वन्द्व फैलाउन उक्साइरहेका छन् भन्ने हल्लाहरु पनि सुनिने गरिएका छन् । उक्साहटको गर्भमा विभिन्न बाह्य उद्देश्य लुकेका बताइन्छन् । यी हल्ला पूर्णतया असत्य नहोला । त्यहीँ ८३ प्रतिशत बढी मइतेईहरु हिन्दू धर्मावलम्बी रहेका छन् । हिन्दू धर्म समाप्त गर्न क्रिस्चियनहरुलाई उचाल्नेहरु र हिन्दूधर्मलाई अझ बलियो बनाउन जोडबल गर्नेहरुको दृष्य या अदृष्य अभियानका कारण पनि मइतेई र कुकीहरु एकआपसमा भिडन पुगेका हुन् भन्ने पनि सुनिने गरिन्छ ।
कारणहरु धेरै हुन सक्छन्, तर विश्वास निर्माण गर्ने उपायहरू सुनिश्चित गर्नुपर्छ । भारत सरकारले द्वन्द्वलाई दीर्घकालीन शान्तिमा बदल्ने मार्ग पहिल्याईरहेको होला । मणिपुरमा जनधनको क्षति रोकियोस् । त्यहाँ चाँडै शान्ति छाओस् । नेपालमा पनि जातीयता, धर्म र अधिकार आदि विषयलाई लिएर द्वन्द्व फैलाउने चेष्टा भएका पाइन्छन्, तर कतै द्वन्द्वमा नफसौँ, हामी सचेत हुन जरुरी छ । नेपालीहरु मिलेर बसौँ ।
(अन्तर्राष्ट्रिय अनलाईनको सहयोगमा)