पहिलैदेखि नै दशनामीहरु दुई बगालमा थिए र छन् पनि । गिरी, पुरी, भारती, वन उपाधि मिलो भनेर अझै पनि हामी माथि सन्यासीको भारी बोकाइरहेका छन् । थर उपाधि दशनामीको मात्र होइन अन्य जातीय समुदायको पनि मिलेको पाइन्छ । उदाहरणको लागि कसैको शाह थर सुन्दा ठकुरीको जात होला भनेर बुझिन्छ । तर, राउटेले पनि शाही र तराईका तेली मधेशी समुदायका मान्छेले पनि शाह लेख्छन् सुन्दा एउटै लागे पनि यर्थाथ त्यस्तो होइन । हाम्रो नेपाली वर्ण व्यवस्था व्याप्त समाजका अन्य थर, जातको पनि म एक दुई वटा कुरा उठाउँछु जस्तैः राना, थापा, रेग्मी मगर र क्षेत्री बाहुन दुबैको थर हुन्छ । नेपालका जनजाति माझीको थर रायमाझी क्षेत्री थरसँग पनि मिल्छ मैले यी जम्मै उदाहरण बहुजातीय, बहुभाषिक नेपाल राज्यको सांस्कृतिक लेनदेनको यर्थाथलाई प्रष्टाउन मात्र प्रस्तुत गरेको हँु ।
नवौं शताब्दीमा दक्षिण भारतका आदि जगतगुरु शंकराचार्यले धार्मिक विजयको यात्रा शुरु गर्दै मानसरोवर कैलाश आउँदा नेपालका आदिमबासी प्रकृति पूजक शैव संस्कृति मान्ने पश्चिम नेपालका रैथाने खसहरुलाई धर्म परिवर्तन गराई बैदिक हिन्दू धर्ममा दीक्षित गराएका थिए । हिमवत खण्ड पहाडी भूगोलमा बसोबास गर्ने नाक मोटो चुच्चो, कसिएका तिघ्रा, ठूला पाखुरा अाँखा, मझौला कद भएका पर्वते खसहरु कलान्तरमा आजसम्म आईपुग्दा कोही क्षेत्री, कोही ब्राह्मण, कोही ठकुरी कोही दशनामी र कोही अझै खसकै रुपमा रहेका छन् ।
शंकराचार्यको शरणमा पुगी दीक्षित भएका दशनामीहरु गुरु जिवित रहँदैको बेलामा नै दश थरको उपाधि लिएर दुई बगालमा छुटिएका थिए । एउटा समूह शंकराचार्यको आश्रममा परलौकिक ज्ञान र जीवन बिताउन सन्यास कर्मको पालना गरी संसारिक बन्धनबाट मुक्त भएर केश मुण्डन, गेरु वस्त्र लगाई विभिन्न मठमा बसेरपछि क्रमशः अन्य धार्मिक तिर्थस्थलमा पनि भौतिक शरीरलाई कैद गरी बसेका हाल पनि हामी देख्छौं जस्तो देवघाट, पाशुपत क्षेत्र, चतरा आश्रम । लौकिक रीतिरिवाज, चालचलन, भेषभुषा, चाडबाड साथै समाज तथा परिवारबाट अलग भएका सन्यासीहरुको नाम पछाडि महाराज, आनन्द जस्ता सन्यास गुरुले दिएका विशेषतः भगवानको नाम जोड्छन् । तर, बहादुर कहिलै जोड्दैनन्, सन्यासीको कुनै जात, गोत्र केही हुँदैन, मृत्यु संस्कार नैै छुट्टै विधिविधानले चल्छ । पितृको तिथि श्राद्ध हुँदैन गर्दैनन्, घरबार नै छाडे पनि कुलपूजा देवाली गर्ने कुरै भएन । धर्मको प्रचार गर्ने तपस्वी हुने यो समूह भनेको साधु–सन्त–महन्त हुन् ।
अर्को समूह भनेको शंकराचार्यको चेला बनेर पुन गृहस्थी जीवनमा फर्केर सनातन धर्म संस्कृति मान्दै मुलुकको विभिन्न भू–भागमा बसोबास गरी बस्ने खस दशनामी हुन् । यिनीहरु बहादुर, राज, प्रसाद, कुमार जस्ता न्वारनबाट ब्राह्मण पण्डितले जुराएको नाम लेख्छन् । अवैदिक देवीदेवता मठ पूजा, धामी–झार्की, गोठधूप, कुलायन पूजा, नेपाली संस्कृतिका चाडपर्व मनाउँछन् । सन्यासी र खस दशनामीको मेलो नै फरक छ । सन्यासी जन्मदैन ऊ बन्छ, तर खस दशनामी जन्मन्छ । यसरी दशनामीको भगाले छुटे पनि नेपाली समाजमा अझै पनि काफी हदसम्म भ्रम र अन्यौल छदैछ । ऊ बेला ठकुरी पनि कुनै एउटा निश्चित जात नभएर मगर, खस, गुरुङ्ग जस्ता राजकुलका शक्तिशाली मान्छेहरुलाई ठकुरी मान्ने गरिन्थ्यिो र भए पनि भन्ने विभिन्न समाजशास्त्रीहरुको तर्क रहेको पाइन्छ ।
नेपाली समाज एउटै सभ्यता र परम्पराको समाज होइन । खस आर्य समुदायमा उच्च जात मानिने बाह्मणभित्र पनि उपाध्याय र जैसी, कुमाई र पूर्वीयाबीच फरक र विभेद छ । त्यस्तै पहाडे समुदायको नजरबाट हेर्दा तराईमा बसोबास गर्ने रातावर्णका सबै मधेशी होला भन्ने भ्रम छ । तर, मधेशमा मैथली ब्राह्मण झा, यादव, थारु, जनजाति राजवंशी, मुस्लिम, दलित बसोबास गर्दछन् र त्यसैगरी बोलिने भाषा, पहिरिने भेषभूषा र अन्य सामाजिक रीतिरिवाज र सामाजिक मान्यताहरु पनि फरक पाइन्छ ।
एउटै जाति समुदायको मानिस भएता पनि बसाई सराईको शिलशिलामा विभिन्न ठाउँमा बसोबास गर्दै जादा केही चलन रिवाजहरुमा भिन्नता देखिएको पाइन्छ । जस्तै बस्नेत थर भएका क्षेत्रीहरु रातघरे र सेताघरे भनेर घरको रङको आधारबाट पनि फरक छुट्टिएका छन् । हिन्दू धर्म मान्ने भएता पनि मुडुला कार्कीहरुले लक्ष्मीपूजामा गाई पुज्दैनन् । त्यस्तै दशनामीमा पनि भारतीको घरमा तुलसाको मठ फाप्दैन भेनर तुलसा नरोपेको पाइन्छ ।
बेदमा खस जातिको चर्चा गरिएको छ । महाभारत युद्धमा समेत यो जातिको प्रसङ आउँछ । त्यतिबेला ऋषि महर्षिहरु आर्य संस्कृति अन्तर्गत बनेका थर नलेखेर नाम मात्र लेख्ने गरेको पनि पाइन्छ कपिल, पतञ्जली, भारद्घवज, व्यास, परासर आदि । आ–आफ्नो वंश परम्परा पूर्खा सम्बन्धी मान्यता एवम् विश्वास र जीवन दृष्टिकोणहरु छन् । थर भनेको वास्तवमा निश्चित व्यक्तिको परिचय पनि हो । हिन्दू धर्मका विभिन्न थरहरुभित्र गोत्र पनि बाडिएका छन् । उनीहरु आफू ऋषिमुनिका सन्तान भएको विश्वास गर्दछन् । गोत्र कुल छुट्याउने एउटा भरपर्दो माध्यम हो । गोत्र शब्दले प्रचिन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ । अझै पनि पावै खसहरुले जनै धारण गरेका छैनन् ।
खसबाट क्षेत्री, बाहुन, ठकुरी बनेकाले पनि सम्वत् ६०० तिर मात्र जनै धारण गरेको हुन् । जनैको बन्दुकले बाह्मण पण्डितले हामी माथि जातिपाति विभेदको गोली हानी रहेका छन् । राष्ट्रिय समावेसी आयोगले समेत कहिले सन्यासी कहिले दशनामी मात्र लेखेर खस दशनामी समाजलाई घरको न घाटको बनाएको पाइन्छ । हेपेको जिस्काएको जस्तो महशुस भएर होला शब्द र उपाधिले समेत कति आत्मसम्मानमा चोट पुग्छ भन्ने कुरा पछिल्लो समय यही मिति २०८१ साल जेठ २१ गते बैतडी जिल्ला प्रशासन कार्यालयमा माल थर भएका क्षेत्रीहरुले थर परिवर्तको लागि सामुहिक निवेदन दिएको उदाहरण हेरौ । यसभन्दा अगाडि पनि थर परिवर्तन नभएका होइनन् हालका मेचे, राजवंशी, सन्थाल, हरिजन, परियार, मिजार, प्रजा, जि.सी आदिको पहिलेको थर उपाधि अर्कै थियो ।
संयुक्त राष्ट्रसंघले समेत मान्यता दिएको जातीय पहिचानका पाँच आधारहरु साझा, भाषा, साझा संस्कृति, साझा उत्पत्ति, (वंश) साझा धर्म र भौगोलिक सम्बन्धको आधारमा विचार गरेर विभिन्न जातीय समूहलाई विभाजन गरिने भएता पनि उम्दा अध्ययेता मानव तथा समाजशास्त्रीहरुले समेत नेपालको सांस्कृतिक विविधताको थान्को लगाउन नसकेको हाम्रो सामाजिक मूल्य–मान्यता परम्पराको सबैले आत्मसमान र सहअस्तिव्को सम्मान र स्वीकार गरौं ।