संयुक्त राष्ट्रसंघले आजको दिन अर्थात् अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउन गरेको घोषणा र आव्हान अनुसार यो दिवस मनाउन थालिएको छ । विश्वमा ज्येष्ठ नागरिकको जनसंख्या १३ प्रतिशतभन्दा माथि छ । ६० बर्षभन्दा माथिको यस्तो संख्या प्रत्येक बर्ष बढ्दै गएको छ । अबको अढाई दशकपछि विश्वमा ज्येष्ठ नागरिक २१ प्रतिशत हुने अनुमान गरिएको छ । पछिल्लो समय स्वास्थ्य सेवामा आएको प्रगतिको कारण विश्वकै औसत आयु पनि बढ्दै गएको विभिन्न अध्ययनहरुले देखाएको छ ।
आफ्नो जीवनकालमा अनेककन उतार–चढाव, सफलता–असफलता र संघर्षपूर्ण जीवन भोगेका ज्येष्ठ नागरिक परिवार, समाज र राष्ट्रका सम्पत्ति हुन् । उनीहरुका जीवन भोगाइबाट प्राप्त ज्ञान, सिप, कुशलता र अनुभवबाट परिवार र समाजले धेरै सिक्न सक्छ । नयाँ पुस्ताले उनीहरुका अनुभव र अनुभूतिबाट आफ्नो जीवनलाई काम लाग्ने सिकाइहरु ग्रहण गर्न सक्छन् । त्यसैले हरेक परिवार, समाज र राष्ट्रले अनुभवले पाकेका ज्येष्ठ नागरिकका ज्ञान, सिप र अनुभव ग्रहण गरेर नयाँ, समुन्नत र समृद्ध समाज निर्माणमा लाग्नुपर्दछ । त्यसका लागि परिवार, समाज र राष्ट्रकै सामुहिक प्रयास आवश्यक हुन्छ । त्यसैले हुनसक्छ हाम्रो दर्शनले पनि मातृदेवो भवः, पितृ देवो भवः भनेर अग्रजहरुप्रति सम्मान र भक्ति गर्न सिकाएको छ । त्यही संस्कारका कारण पूर्वीय परिवारमा संयुक्त पारिवारिक ढाँचाको विकास भएको हुनसक्छ । यस्तो परिवारमा मात्रै नयाँ पुस्ताले अग्रजहरुका ज्ञान, सिप, संस्कार, संस्कृति हस्तान्तरण गर्न सकिन्छ ।
विश्वका विकसित देशहरुमा ज्येष्ठ नागरिकको औसत आयु र संख्या विकासशील देशको तुलनामा बढी छ । परिवार, समाज र राष्ट्रको सम्पत्ति मानिएका ज्येष्ठ नागरिकलाई हामी कहाँ पनि संविधानतः सम्मान गरिएको छ । ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हक सुनिश्चित गरिएको छ । त्यसका लागि ऐन, कानून पनि निर्माण गरिएका छन् । त्यसकै आधारमा ज्येष्ठ नागरिकलाई मासिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै स्वास्थ्य उपचार यातायात लगायतका क्षेत्रमा विशेष सुरक्षा प्रदान गरिएको छ । ज्येष्ठ नागरिक परिवार, समाज र राष्ट्रकाम सम्पत्ति हुनु त्यसैले उनीहरुको क्षमता र सिपलाई समाजको विकासमा उपयोग गर्नुपर्छ ।
तर, अहिले नेपाली समाजकै परम्परागत मूल्य, मान्यता र सभ्यताविरुद्धका गतिविधि हुन थालेका छन् । आफ्ना अग्रजहरुलाई बोझ ठानेर बृद्धाश्रममा जिम्मा लगाउने कुसंस्कार हुर्किँदै गएको छ । प्रत्येक प्राणी जस्तै मानिस पनि एउटा उमेर पार गर्दै जान्छ र उसमा शारीरिक दुर्वलता बढ्छ । अंग प्रत्यंग कमजोर र शिथिल हुँदै जान्छन् । यस्तो अवस्थामा ज्येष्ठ नागरिकलाई विशेष सुरक्षाको खाँचो हुन्छ । तर, बढ्दो भौतिक सुखसुविधाको भोकले ज्येष्ठ नागरिकलाई अपहेलना गर्ने कुसंस्कारले नयाँ पुस्तालाई ग्रस्त बनाउन थालेको छ । यस्तो व्यवहारले एउटा उमेरमा आफैं पनि प्रताडित हुइन्छ भन्ने चेत हरायो भने भोलि आफूले भोग्ने पनि त्यही व्यवहार हो भन्ने विर्सिनु हुँदैन । आफूले आफ्नो अग्रजप्रति गरेको व्यवहारले नयाँ पुस्तालाई निर्देशित गर्छ । आफूले बाबुलाई फाल्नु बोकेको डाको आफ्नो छोराले मलाई पनि मेरो बाबु फ्याल्न चाहिन्छ भनेर फिर्ता नलगोस् । यता तर्फ पनि आजको दिवसले समाजलाई सचेत गराओस् ।