दशैं धेरै प्रकारले राम्रो चाड

0
14

दशैं भन्ने बित्तिकै नेपालीहरुको मन त्यसै–त्यसै उमँगले भरिएर आउँछ । एउटा उल्लास र स्फूर्तिको वातावरण छाउँछ । बर्खापछिको शान्त, शितल र रमणीय मौसमले दशैंको रौनक भरिदिन्छ । गाऊँबाट मानिसहरु शहर–बजारमा कृषि र पशुपंक्षीजन्य उत्पादन बेच्न जान्छन् र हाटबजारबाट दशैंका सामलतामल किनेर ल्याउँछन् । दशैंमा यसरी हाटबजार भर्नु कम्ति रमाइलो हुँदैन ।

बजारमा मानिसहरु भिडभाड गर्दै किनमेल गरेका दृष्य देख्ता उधुमै रमाइलो महशुस हुन्छ । दशैंको सामान किनेर ल्याएको ? भनेर दशैंका सामालतामल बोकेर घर फर्किरहेकाहरुलाई बाटामा मानिसहरु सोध्छन् । यस्ता कुराकानी गर्दा पनि कम्ती रमाइलो हुँदैन । दशैं यस्तै–यस्तै मीठा–मीठा सद्भावपूर्ण कुराकानीको चाड हो । दशैं एक प्रकारले रमाइलैको चाड हो । वर्षभरि पिरव्यथामा परेका भए पनि दशैंको पन्ध्र दिन खुशी भइ दुःखदर्द बिर्सने चाड हो ।

दशैं खानपिनको पनि चाड हो । वर्षभरि कामको चापले मिठो–मसिनो बनाएर खान भ्याइएका हुँदैनन् । दशैंको पन्ध्र या कम्तीमा पनि दश दिन त घरमा मिठामिठा परिकार बनाएर खाइन्छ । पाहुनाहरुलाई पनि मिठा खानेकुरा खुवाइन्छ र आफूहरु पनि पाहुना जाँदा मिठै खाना खान पाइन्छ । त्यसैले दशैं मिठा खानेकुरा खान पाइने चाड हो । मिठा खानेकुरा पकाउन बिर्सिए पनि दशैंले मिठा खानेकुरा बनाउने सिप सिकाउँदछ ।

पाहुनाहरुले आहा कति मिठो खानेकुरा पकाउनु भएछ भनेर प्रशंसा गर्दा निकै खुशी लाग्दछ । दशैं एक प्रकारले पोषणको पनि चाड हो । वर्षभरि कामको व्यस्तताले पोषणयुक्त खाना खान नपाइएको हुन सक्छ, तर दशैंमा परिपरिका मिठा, ताजा, पोषिला खाना खाइन्छ । दशैंले मानिसहरुमा शारीरिक शक्ति बढाउँछ ।

दशैंमा आफूलाई मन परेका डिजाइन्, फेशन र स्टाइलका लुगा कपडाहरु लगाउने गरिन्छ । वर्षभरि लुगा कपडा नकिने पनि दशैंमा चाहिँ गच्छे अनुसार नयाँ लुगाकपडा किनेर लगाइन्छ । नयाँ लुगा लगाएर राम्रो देखिन पाइन्छ । त्यसैले दशैं नयाँ लुगा लगाउन पाइने र राम्रो या सुन्दर देखिन पाउने चाड पनि हो ।

दशैं एक–आपसमा भेटघाट हुन पाउने चाड हो । अरुबेला काम विशेषले व्यस्त भएर घरपरिवार र आफन्तबीच पनि भेटघाट हुन पाएका हुन्नन् । दशैंमा खेतीपातीको काम त्यति हुँदैन र स्कूल, कलेज, कारखाना र कार्यालयहरु बिदा हुने भएकाले घर बस्ने समय मिल्दछ । त्यसैले घेटघाटमा मनको धित मर्नेगरी गफगाफ, छलफल, सुख–दुःखका कुराकानी गरी मन हलुका पारिन्छ । चेलीहरु माइत जान्छन् । माइत जानु जस्तो खुशी कुरा अरु केही हुन्नन् । ज्वाइँसाबहरु ससुराली जान्छन् । ससुराली जानु पाउनु जस्तो अर्को रमाइलो सायदै हुन्छ । साना नानीहरु मावला जान पाउँदा यति धेरै खुशी हुन्छन् कि वर्णन गरिसाध्य हुन्न । त्यसैले यो पारिवारिक मिलनको चाड हो । त्यसैगरी टाढा गएका छरछिमेक र इष्टमित्र पनि दशैंमा भेटिन्छन् । गफगाफ चल्दछ । अनुभव साटासाट हुन्छन् । सद्भाव भाइचारा बढ्दछ ।

दशैं आशीर्वादको चाड हो । दशैंमा मान्यजनहरुलाई ढोगभेट गरी सम्मान जनाई आशीर्वाद लिइन्छ । ज्येष्ठहरु या आफूभन्दा ठूलालाई आदर गर्ने एउटा राम्रो संस्कार कायम रहन्छ । दशैं सरसफाई र सफा सुग्घरताको चाड हो । घरआँगन सरसफाई गरिन्छन् । घरमा रंगरोगन समेत गरेर चिटिक्कै पारिन्छ । यसोगर्दा घरमा हानिकारक किटाणुहरु भएमा सबै नष्ट हुन्छन् । दशैंको तयारीका रुपमा कतिपय कुराहरु घरमै तयार गरिन्छन् । ढिकीमा चिउरा कुटिन्छन् । ओखलमा जिरा मसला पिसिन्छन् । अपुग कुराहरु हाटबजारबाट किनेर जोहो गरिन्छ ।

दशैं एक अर्थतन्त्र हो । दशैंका लागि भन्दै सामान किनबेचले धनीदेखि गरीबसम्मलाई केही न केही आम्दानी प्राप्त हुन्छ । दशैंमा सेवाका काम गर्नेहरुले पनि आम्दानी गर्दछन् । जस्तैः यातायात, पसल, होटल आदि सेवा । सेवाबाट राम्रै आम्दानी हुन सक्छ । दशैंमा साना नानीहरु उधुमै रमाउँदछन् । नयाँ नाना लगाएर, मिठो खाना खाएर, ठूलाबडाबाट टीका थापेर आशीर्वाद लिएर नयाँ–नयाँ चाचा नोट दक्षिणा पाएर, लिङ्गेपिङ र रोटेपिङ खेल्न पाएर बालबालिकाहरु हुनसम्मै रमाउँदछन् ।

जसले नानीहरुका मनमा वर्षभरिका लागि पढ्ने ऊर्जा भरिदिन्छ । सबै उमेरका मानिसहरु खुबैसँग रमाउँदछन् । पारिवारिक भेटघाट, कुराकानी, मिठा खानपिन, कोशेली आदानप्रदान, आशीर्वाद आदिका कारण बालबालिका, किशोरकिशोरी, युवा प्रौढ तथा ज्येष्ठ नागरिकहरु समेत मन अघाउने गरी रमाउँदछन् । तर, यसपाली प्राकृतिक प्रकोपले निकै दुःख दिएको छ । मनसुन सकिँनै लाग्दा तथा दशैंको मुखैमा परेको अबिरल वर्षाले देशभर बाढीपहिरोको विपद् सृजना भएकाले दशैं खल्लो–खल्लो भएको छ । जनधनको क्षतिले जनतामा शोक र दुःखको अवस्था छ । बस्ने घर भत्किएका, बगेका छन् । पसलहरु बगेका या पुरिएका छन् । आम्दानी गुमेको छ । खाने अन्न छैन ।

चाड मनाउने पैसा पनि छैन । बाटोघाटो, पुल पुलेसा बाढीले बगाएका कारण यातायात सुचारु नहुँदा कतिपय मानिसहरु बाटैमा थुनिएर दशैंमा आफ्ना घरसम्म पुग्न पनि नपाउने अवस्था देखिएको छ । नेपालीहरुका लागि यो पटक अकल्पनीय विपद्को घटना हुन पुगेको छ । ३७ पछि यति ठूलो मात्रामा पानी परेको छ भनिएको छ । त्यसैले क्षति पनि उस्तै स्तरको भएको हो । रमाइलो दशैं नरमाइलो क्षणमा परिणत भएको छ । सरकारले केही राहतको कुरा सुनाओस् ।

तापनि, गरीबदेखि धनी सबैले दशैंमा धुमधामसँग रमाइलो गर्दछन् । जहाँ गए पनि दशैंको सुगन्ध छाउँछ । जस्तैः दुःखलाई पनि सहन सक्ने शक्ति नेपालीहरुमा छ । दशैंको सांस्कृतिक आयामले मानिसहरुमा शक्ति, उत्साह, साहस, सहयोग र सद्भावको भावना भरिदिन्छ । त्यसैले जो जहाँ भए पनि जस्तो अवस्थामा भए पनि नेपालीहरुले दशैं मनाउँछन् । दशैंको गुण नै यही हो । दशैंमा भरिएको ऊर्जाले मानिसहरु अर्को दशैंसम्मका लागि उत्साह, स्फूर्ति र नयाँ लक्ष्यका साथ कर्ममा निस्कन्छन् । यसरी दशैं नेपालीहरुको एक महŒवपूर्ण चाड या पर्व हो । दशैं धेरै प्रकारले राम्रो चाड हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here