निषेधका लागि नहोस्

0
19

सहकारी ठगी तथा संगठीत अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारी प्रत्यक्ष नजोडिएका पार्टी सभापति तथा पूर्व गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको थियो । पार्टीको केन्द्रीय कार्यालयबाटै पक्राउ परेका उनलाई प्रहरीले सडकमार्गबाट पोखरा पु¥याएको थियो । उनलाई सहकारी ठगी तथा संगठीत अपराध सम्बन्धी मुद्दामा अनुसन्धान हुने बताइएको छ । एमाले सांसद सूर्य थापा नेतत्वको छानविन विशेष समितिले सहकारी ठगीमा प्रत्यक्ष नजोडिएको, तर गोर्खा मिडियामा आएको रकम परिचालनमा लामिछाने जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको थियो ।

छानविन समितिले सहकारी ठगीमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले नेता तथा लेखा समितिका सभापति ऋषिकेश पोखरेल प्रत्यक्ष संलग्न रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धनको सरकारले प्रतिशोध र निषेधका लागि पक्राउ गरेको भन्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले यसलाई राज्यद्वारा गरिएको ‘फ्रेमिङ’ भनेका छन् । उनले लामिछाने पक्राउको घटनालाई सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठ्ने र भावीपुस्ताको भविष्यलाई भ्रुणमै हत्या गर्ने प्रयास भनेर टिप्पणी गरेका छन् ।

प्रतिपक्षी दलहरुको शुक्रबारै बसेको बैठकले पनि रास्वपाका सभापति लामिछाने माथि सरकारले प्रतिशोध साँध्न खोजेको ठहर गरेको छ । बैठकले लामिछाने पक्राउको प्रतिवाद गर्ने निर्णय पनि गरेको छ । सरकार सहकारी ठगीमा प्रत्यक्ष संलग्न नरहेका नयाँ शक्तिका रुपमा उदाएका युवाहरुलाई निषेध र निस्तेज गर्दै विगतका ठूल्ठूला भ्रष्टाचारका मुद्दालाई ओझेलमा पार्ने प्रयासमा लागेको समेत विश्लेषण गर्न थालिएको छ । विगतमा भ्रष्टाचारका मुद्दा त्यत्तिकै हराएका छन् ।

ठूला भ्रष्टाचारका मुद्दामा प्रमुख दलका नेताकै निकटता देखिन्छन् । खोज्दै जाँदा पहरोमै ठोक्किने भएपछि बाटोमै रोकिन्छन् । अहिले पनि ललिता निवास, गिरीबन्धु जग्गा, नक्कली शरणार्थी, सुन तस्करी, ओम्नी, वाइडबडी, टीकापुर, टेलिकम, सेक्युरिटी प्रेस लगायतका भ्रष्टाचारका मुद्दा सामसुम पार्ने प्रयासमा सरकारले लामिछाने पक्राउ गरेको होइन भने विगतका भ्रष्टाचारमा दोषी देखिएकाहरु तत्काल पक्राउ पर्नुपर्छ । होइन भने प्रतिपक्षीले भने जस्तै यसलाई निषेधको उपक्रम ठान्नु स्वभाविक हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here