नेपालीको सबैभन्दा ठूलो पर्व वडादशैं सकिएसँगै अर्को र दोस्रो ठूलो पर्व तिहारको रमाइलो वातावरण आरम्भ भइसकेको छ । बत्तीको झिलिमिलीका रुपमा समेत मानिने यो पर्व अँध्यारोबिरुद्धको उज्यालो पर्व समेत भनिने तिहारका लागि घरआगन सजाउने, लिपपोत गर्ने र आवश्यक सामग्रीको जोहो गर्ने धमाधम छ यसबेला । त्यसो त तिहारका पाँच दिनका आ–आफ्नै विशेषता छन् । यमपञ्चक समेत भनिने तिहार मूलतः यसमा र यमराजको अपूर्व मिलनको संस्मरण स्वरुप आ–आफ्ना दाजुभाइलाई दिदीबहिनीले विशेष टीका लगाइदिएर मनाइन्छ ।
वैदिक संस्कृतिका आधारमा चेली–माइतीको सम्बन्ध पवित्र र निःस्वार्थ हुन्छ । मृत्युका देवता भनिने यमराजले लामो विछोडपछि बहिनीसँग भेट गर्दा बहिनीले माइतीको स्वागत–सत्कारसहित पूजा गरेको अवसरलाई तिहार भाइटीकाका रुपमा वैदिक सनातनीहरुले मान्दै आएका छन् । त्यही दिनको सन्दर्भमा नेपालीका घरआगनमा यतिबेला सयपत्री, मखमली फूल ढकमक्क हुन्छ । कोठाचोटा सरसफाई गर्ने, फलफूल, दियो, मैनबत्ती, सप्तरंगी टीका सामग्री तथा दाजुभाइका लागि मसलाजन्य वस्तु तथा उपहारको जोहो गर्नु यसबेलाको दैनिकी जस्तै हो । पारिवारिक मिलन हुने तिहारलाई मनोरञ्जनको पर्वका रुपमा मानिन्छ । त्यसैले नाचगान गर्ने, देउसीभैलोको अभ्यास गर्नेदेखि जुवातास खेल्नेहरु पनि तिहारलाई त्यसै अनुसार उपभोग गर्ने गर्छन् ।
हाम्रो विशिष्ट सांस्कृतिक मूल्य, मान्यता र परम्परा हुँदाहुँदै पनि त्यसलाई विकृत तुल्याउने अनुशरणको कु–संस्कार पनि भित्रिएको छ । जुवातास त्यसैभित्रको प्रचलन बलियो भइरहेको छ । यद्यपि जुवाजन्य सामग्री आयात गर्न सरकारले नै अनुमति दिएको छ, प्रत्येक वर्ष करोडौं रुपैयाँको तास आयात हुन्छ । आफैंले अनुमति दिएको तास खेलेको आरोपमा पक्राउ गरिन्छ । सरकारको अनुमति दिने र पक्राउ गर्ने परस्पर विरोधी व्यवहार आफैंमा विरोधभासपूर्ण छ । तथापि जुवातासकै कारण पाण्डवहरुको वनबास भएको कथा हाम्रो संस्कृतिको उदाहरण मात्र होइन चेतावनी पनि हो ।
यही पर्वलाई झिलिमिलिको पर्व बनाउने नाममा पछिल्लो समय प्रज्ज्वलनशील वस्तु पटकाको खोजीमा युवावर्ग लागिसकेका छन् । पटकाले वातावरणीय दुष्प्रभाव मात्र पार्दैन मानव स्वास्थ्यलाई हामी पु¥याउँछ भनेर प्रशासनले प्रत्येक वर्ष सचेत गराउँछ । प्रत्येक वर्ष पटकाजन्य सामग्री जफत गर्छ, खरिदबिक्रीमा कडाइ पनि गर्छ, तर प्रत्येक वर्ष पटका आतंक थपिँदै जान्छ । यसकै आडमा तिहारका बेला आपराधिक गतिविधि बढ्छन् जिउज्यानकै जोखिमका घटना हुन्छन्, तर पनि यसको नियन्त्रण भएको छैन । भारतबाट भित्रिने यस्ता वस्तु आयातमै पूर्ण प्रतिबन्ध नभएसम्म वातावरण र मानव स्वास्थ्यको क्षति रोक्न सकिँदैन । तिहार पर्यावरण, संस्कृति र संस्कारको रक्षा गर्दै मनाउने प्रकाशमय पर्व हो । त्यसैले यसलाई ध्वनि, वायुको विनाशकको प्रतीक बनाउनु हुँदैन । खासगरी बजार, शहर क्षेत्रमा प्रहरी प्रशासनले सक्रियता बढाएर यसको नियन्त्रण गर्नुपर्छ । त्यसका लागि स्थानीय तह, प्रशासन र सुरक्षा सतर्कता बढाउनु पर्छ ।