अपराध नियन्त्रणमा ध्यान देऊ

0
7

झापाको दमकमा गत मंगलबारका दिन कुटपिटबाट मृत्यु भएका ३७ वर्षीय यमु निरौलाका हत्या आरोपीहरु पक्राउ परेका छैनन् । घटनाको छ दिनसम्ममा पनि पीडित परिवारले दिएको किटानी जाहेरी अनुसार उनीहरुलाई पक्राउ नगरेको भन्दै दिनहुँ प्रदर्शन भइरहेको छ । पीडित परिवारले राजनीतिक संरक्षण गरिएकाले हत्यारा पक्राउ नगरिएको आरोप लगाएका छन् । शनिबार मृतकका परिवार र आफन्त लगायतले इलाका प्रहरी कार्यालयको गेट अगाडि टायर बालेर दिनभरी प्रदर्शन गरेका थिए । जसका कारण दमकको अवस्था पाँच दिनदेखि तनावपूर्ण रहेको छ ।

मृतककी श्रीमती कृष्णमायाले आफ्ना पतिलाई अनाहक मारिएको र जाहेर लिएर जाँदा प्रहरीले दर्ता गर्न नमानेको भन्दै न्याय नपाएको गुनासो गरेकी छन् । हत्यामा संलग्न भनिएका दमकका बुद्धि थापा, नम चेम्जोङ, शेरबहादुर नेम्वाङ (राजु), गणेश दर्जी, मोरङ उर्लाबारीका प्रकाश कार्की र धु्रव गौतम, सुनसरी इटहरीका डेबिड घलेबिरुद्ध जोहेरी परेको थियो । ती मध्ये बुद्धि थापा एमाले प्रदेश सभा सदस्यका राजु र एमाले केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रोमनाथ ओलीका सालो भएको पीडित परिवारको भनाइ छ । त्यसकै आधारमा प्रहरीले जोहेरी लिनै नमानेको र स्थानीय समेतको विरोधपछि जोहेरी दर्ता भएको बताइन्छ ।

अनाहकमा हत्या गरिएका निरौलाकी पत्नी र परिवारलाई न्याय दिलाउन स्थानीयले समेत प्रदर्शन गरिरहेका छन् । तर, उनको शव समेत बुझ्न नमानेका स्थानीय तथा पीडित परिवार न्यायको प्रतिक्षामा आँशु सुकाएर पीडा पचाएर प्रदर्शनमा उत्रिएका छन् । तर, आरोपितहरुलाई कानूनको कठघरामा ल्याउन प्रहरी चुकेको छ । यद्यपि प्रहरीले आरोपितहरु मध्ये दुई जनालाई पक्राउ गरेको छ, तर पीडित परिवार भने हत्याका मुख्य योजनाकारहरु एमाले कार्यकर्ता भएकाले प्रहरीले शक्तिको आडमा उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन् ।

प्रहरी राज्यको सुरक्षा प्रदायक संगठन हो । यसले सार्वजनिक विश्वास, सहयोग, कानून कार्यान्वयन, अपराध नियन्त्रण, शान्ति र सुव्यवस्था प्रहरी संगठनको मूल कर्तव्य हो । उसको प्रभावकारिता र कुशलताको सुनिश्चितता प्रहरी व्यवस्थापन, प्रशासन र आन्तरिक नियन्त्रण लगायतमा निर्भर हुन्छ । यसका लागि प्रहरी राजनीतिबाट तटस्थ हुनुपर्छ र निष्पक्ष भएर कानूनको दायरामा रहेर आफ्नो संगठनात्मक शक्तिको उपयोग गर्नुपर्छ । प्रहरीले कुनै स्वार्थ समूह वा राजनीतिक दलको निर्देशनका आधारमा होइन कानूनका आधारमा कर्तव्य पूरा गर्नुपर्छ । तर, पछिल्लो कालमा प्रहरी संगठन राजनीतिक दल र स्वार्थ समूहको चंगुलमा फसेको आरोप लाग्ने गरेको छ । यसले सत्य, सेवा, सुरक्षणम्को मन्त्र बोकेको संगठनलाई भ्रष्टिकरण गर्दै लगेको छ । त्यसैले आफ्नो गिर्दो साख जोगाउन प्रहरी नेतृत्वले नै अपराधको अन्त्य गर्न इमान्दार प्रयास गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here