आज विवाह पञ्चमी । मंसीर महिना शुक्ल पक्षको पञ्चमी तिथिका दिन प्रत्येक वर्ष मिथिलाको राजधानी जनकपुरमा भव्य मेला लाग्ने गरेको छ । वर्तमान संरचना अनुसार मधेश प्रदेशको राजधानी रहेको जनकपुरमा यतिबेला वैदिक सनातनी हिन्दूहरुको व्यापक उपस्थिति रहेको छ । त्रेतायुगका राजा रामको मिथिला राजकुमारी सीतासँग विवाह भएको सम्झनामा त्यही पौराणिक विवाह उत्सवलाई जीवन्त बनाउन हरेक वर्ष महामहोत्सव मनाउने परम्परा रहेको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वका रुपमा मनाइने विवाह पञ्चमीका लागि मिथिलाबासी उत्साहका साथ तयारी र सम्पन्नतामा जुट्ने गरेका छन् । विवाह पञ्चमी मिथिलाको धार्मिक तथा सांस्कृतिक उत्सवका रुपमा रहेको छ । त्यहीकारण मिथिलाबासी सम्पूर्ण आग्रह–पूर्वाग्रह त्यागेर अन्तरहृदयबाट उत्सवको तयारीमा जुट्छन् । अझ भारत उत्तर प्रदेशको अयोध्याबाट आउने पाहुनाहरुको स्वागतसत्कारसँगै खाना र बासको सुप्रबन्ध गर्न मिथिलाबासीलाई हम्मे–हम्मे पर्छ । त्यहीकारण स्थानीय संघ–संस्था, धार्मिक तथा सामाजिक संस्था, स्थानीय र प्रदेश सरकारसँगै स्वयम्सेवी संस्था र तिनका पदाधिकारीसहित जानकी मन्दिर समिति आफैं अहोरात्र खटिएका हुन्छन् ।
हिन्दू धर्मावलम्वीहरुको ग्रन्थ रामायणका प्रमुख पात्र भगवान श्रीराम जनकपुरस्थित राजा जनकको दरबारमा भएको समारोहमा सहभागी हुँदाको घटनासँग विवाह पञ्चमीको कथा जोडिएको छ । भगवान शिवको धनुष जसले उठाउन सक्छ उसैसँग आफ्नी सुन्दर तथा दैवीशक्ति भएकी छोरी सीताको स्वयंम्वर गरिदिने घोषणा अनुसार उक्त धनुष उचालेर तीर भाँचिएको र उनैलाई देवी सीताले स्वयंम्वर गरेको कथा छ । देशदेशावरका राजा, राजकुमार आफूलाई वीर ठान्नेहरु कसैले उठाउन नसकेको धनुष उचाल्ने वीर पुरुष रामलाई वरमाला पहि¥याएर पनि देवी सीताको वैवाहिक जीवन भने दुःखद् रह्यो । तर, पनि उनको पतिभक्ति, सपर्मण, कारुणिकता र वात्सल्य हिन्दू नारीहरुको आदर्शका रुपमा स्थापित छ । त्यही मान्यता, मूल्य, आदर्श र पतिभक्तिको अनुपम उदाहरणलाई जीवन्त राख्ने मिथिलाको महापर्व विवाह पञ्चमी प्राचीनकालदेखिको निरन्तरता हो । जनकपुरका हरेक सागर र तलाउहरुमा रामायण र सीतारामको स्मरण गर्दै आरती गरिन्छ । सीताको महिमा र रामका यशको गायन गरिन्छ ।
सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमीमा विवाह उत्सवमा धनुषयज्ञ, तिलकोत्सव, मटकोरसहित वैदिक विधि अनुसार पूजाआजा गरिन्छ । अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र राम र भूमिपुत्री सीताको सम्बन्धका बारेमा आदर्श जोडी, आदर्श बुहारी, आज्ञाकारी पुत्र, आदर्श भाउजू, पत्नी र प्रजाप्रेमी राजाका रुपमा वर्णन गरिन्छ । वैदिक सनातनी हिन्दू धर्ममा पूजा गरिने भगवान राम र सीताका तिनै आदर्श र सुयशका गाथाहरुको स्मरण गर्दै भावी पुस्तासम्म त्यही आदर्श सञ्चार होस् भन्ने परोक्षभावले मनाइने यो पर्वले देशदेशावरसम्म हिन्दू संस्कृति र परम्पराको विस्तार गरोस् । राजा रामको आदर्श, जनताप्रतिको कर्तव्य, राज्य सञ्चालनका नीति हाम्रा नेताहरुमा पनि प्रवाह होस्, हिन्दू सभ्यता सबैका लागि प्रेरणाको पुञ्ज बनोस् शुभकामना ।