कन्याममा ‘टि टेस्टिङ एण्ड प्रोमोशन सेन्टर’

0
83

इलाम ।

सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको रु. २३ करोड लगानीमा बनेको उक्त सेन्टर यही मंसीर २७ देखि सञ्चालनमा आउन लागेको हो ।

नगरप्रमुख रणबहादुर राईले मंसीर २७ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सेन्टरको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । उद्घाटनमा प्रदेशका अन्य मन्त्रीहरू पनि आउनुहुन्छ– उनले भने– योे मुलुकको पहिलो चिया अनुसन्धान तथा प्रवद्र्धन केन्द्र हो, केन्द्रको पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ ।

अहिले सेन्टरको भौतिक पूर्वाधार तयार भएको भन्दै नगर प्रमुख राईले आवश्यक सम्पूर्ण उपकरण जडान भएको बताए । उनका अनुसार केन्द्रमा चिया चाख्ने (टि टेस्टिङ)को काम हुनेछ भने चिया अनुसन्धानका लागि भौतिक पूर्वाधार तयार भएको छ ।

आवश्यक थप उपकरण व्यवस्थापन गरिँदैछ । इलामका लागि मात्र होइन, यो सेन्टर देशका लागि पनि नमूना हुने विश्वास लिएका छौँ– नगरप्रमुख राईले भने– चियाको स्वाद, गुणस्तर जाँचदेखि चियासम्बन्धी सबै किसिमका अध्ययन यही केन्द्रमा हुनेछ । केन्द्रमा विश्वभरका जोसुकै चिया व्यापारी वा टि–इन्स्पेक्टर (चियाविज्ञ) ले चियाको गुणस्तर जाँच गर्न सक्ने उनले बताए ।

कन्याम घुम्न आउने पर्यटकले थरीथरीका चियाका स्वाद लिन पाउने नगर कार्यालयले जनाएको छ । सेन्टर सञ्चालनका लागि नगरले कार्यविधि तयार गरेको छ । नगरप्रमुख राईले टि टेस्टिङ नगर अन्तर्गत हुने बताउँदै अनुसन्धानको काम भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गर्ने जानकारी दिए ।

चिया रोप्न शुरु भएको करिब एक सय ६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ । चिया किसान मनोज भट्टराईले केन्द्र स्थापनापछि चियामा लाग्ने स–साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए । चिया प्राविधिक समेत गाउँमा उत्पादन गर्न केन्द्रले मद्दत गरेमा किसानलाई थप सहज हुने उनको भनाइ छ ।

यहाँ सामान्यतया चिया प्रशोधन कम हुने, उत्पादन भएको चिया परम्परागत शैलीमा टिप्ने र प्रशोधन हुँदै आएको छ । अनुसन्धान केन्द्र निर्माणले चियामा नयाँ आयाम स्थापना गर्न मद्दत पुग्ने आशा छ– भट्टराईले भने । चियाका लागि प्रख्यात इलामको कन्याम चियाबारीबीचमा निर्मित केन्द्रमा पर्यटक थप आकर्षित हुने विश्वास लिइएको उनले बताए ।
केन्द्र चियाको व्यापार प्रवद्र्धनमा सहयोगी बन्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले बताए । अहिले गुणस्तरीय चिया जाँच गर्ने, यसको व्यापार र गुणस्तर प्रवद्र्धन गर्न किसानलाई समस्या भइरहेको छ– उनले भने– अब कन्याममा मुलुकको नमूनाका रूपमा अनुसन्धान केन्द्र स्थापना भएको छ ।

चिया उत्पादनका हिसाबले इलाम महत्वपूर्ण र उर्वरभूमि मानिन्छ । सूर्योदय नगरपालिकालाई चियाको राजधानीका रूपमा चिनिएको छ । यहाँ अनुसन्धान केन्द्र स्थापना भएपछि नेपाली चिया सम्बन्धी अनुसन्धान गर्न चाहनेलाई सहज हुने जनाइएको छ ।

किसान धीरज अधिकारीले भने– स्वदेश र विदेशमा रहेकाहरु चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्न आउने हुँदा हाम्रो जिल्लामा पर्यटकको संख्यामा समेत वृद्धि हुने अपेक्षा छ । नगरपालिका कोशी प्रदेशको पर्यटकीय नगरी भएकाले पनि केन्द्र स्थापनापछि पर्यटक आगमन बढ्ने उनले दावी गरे ।

केन्द्र निर्माणले समग्र जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवालाहरु बताउँछन् । नगरपालिकामा अन्य ठूला लगानीका आयोजनामध्ये कुनै निर्माणको अन्तिम चरणमा छन् भने कुनै निर्माण भइरहेका नगरप्रमुख राईले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय दातामार्फत केही ठूलो लगानीका आयोजना आउने चरणमा छन् । जिल्लामा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here