बिर्तामोड ।
पछिल्लो समय सामाजिक सञ्जालमा अराजकता बढ्दै गएको छ । नियमनकारी निकायले प्रभावकारी रुपमा नियमन नगर्दा पछिल्लो समय सामाजिक सञ्जालहरुमा मनलाग्दी गतिविधि हुने गरेको हो ।
सामाजिक सञ्जालले सूचना र सञ्चार क्षेत्रलाई जति सहज बनाएको छ, त्यसै अनुरुप अपराधका घटना पनि बढ्दै गइरहेको छ । इन्टरनेटको माध्यमबाट सञ्चालन हुने फेसबुक, ट्वीटर, वाट्सएप, भाइबर, इमो, इन्स्टाग्राम लगायतका सञ्जालको बढ्दो दुरुपयोगले सामाजिक अपराधका घटनामा वृद्धि हुनाका साथै ठगीदेखि मृत्युसम्मकै घटना भइरहेका छन् ।
आफू अनुकूल कार्य नहुँदा सामाजिक सञ्जालबाट चरित्र हत्या गर्नेदेखि मार्ने सम्मका धम्की दिनेहरु पनि बढ्दै गएका छन् । पछिल्लो समय धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्की दिएका छन् । उनले पत्रकार दाहाललाई कुटपिट गर्ने तथा मार्नेसम्मका धम्कीहरु सामाजिक सञ्जालबाट दिएपछि पत्रकार महासंघसहितका विभिन्न संघ–संस्थाले विरोध जनाएका छन् ।
पत्रकार दाहालले खोज पत्रकारिता केन्द्र (खोपके) मा साम्पाङका गतिविधिबारे समाचार लेखेका थिए । उक्त समाचारप्रति असन्तुष्टि जनाउँदै मेयर साम्पाङले धम्कीपूर्ण स्टाट्स लेखेका थिए । समाचारमा चित्त नबुझ्दा त्यस उपर कानूनी प्रक्रिया हुँदाहुँदै मेयर साम्पाङबाट भएको उक्त हर्कत निन्दनीय भएको महासंघको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साम्पाङको हर्कतलाई अराजक र अशोभनीय भन्दै यसले पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउन विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुगेको महासंघको ठहर छ ।
त्यस्तै मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले एक विज्ञप्ति जारी गर्दै पत्रकारलाई धम्की दिने धरानका मेयर साङ्पाङलाई तत्काल कारबाही गर्न माग गरेका छन् । समाचार चित्त नबुझे कानूनी प्रक्रियामा जान सक्ने तर सामाजिक सञ्जालमा धम्की दिने काम तत्काल बन्द हुनुपर्ने मिडिया एक्सन नेपालले जनाएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा पत्रकार सन्तोष देउजामाथि गरेको दुव्र्यवहारको पनि मिडिया एक्सन नेपालले निन्दा गरेको छ ।
सरकारले पछिल्लो समय साइबर अपराधका घटनामा कडाइ गरेको बताए पनि मेयर साङ्पाङले धम्की दिँदा समेत उनलाई हालसम्म कुनै कारबाही भएको छैन् । प्रहरीले समाजिक सञ्जालमा मनपरी लेख्नेहरुलाई साइबर अपराधको मुद्दा समेत चलाएर प्रहरी नियन्त्रणमा लिने अभियान नै चलाइरहेको छ ।
लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका नाममा पछिल्ला दिनहरुमा व्यक्ति र संस्थाको मानमर्दन र प्रतिष्ठामाथि नै आँच पुग्ने गरी सामाजिक सञ्जालमा तल्लोस्तरको तुच्छ अभिव्यक्ति र भद्दा मजाक गर्नेप्रवृत्तिले सामाजिक सञ्जाल विस्तारै असामाजिक सञ्जाल बन्दै गएको विश्लेषण हुन थालेको छ । देशकै कार्यकारी प्रमुखलाई मार्ने, सिध्याउनेदेखि देश छोडसम्मको नारा लगाउने कार्य क्षणिक आवेग र उत्तेजनाका साथै सस्तो लोकप्रियताका लागि गर्ने गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुको भनाइ छ ।
पछिल्लो समय अराजक अभिव्यक्ति र सामाजिक द्वेष फैलाउने कार्य बढेको सीआईबीको भनाइ छ । त्यस्ता कार्य नियन्त्रणका लागि सीआईबीले सशक्त रुपमा नियमन गरिरहेको जनाएको छ । अराजक अभिव्यक्ति र उत्तेजित भाषण गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत मंसीर ३ गते आफ्नै निवासमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियामा ३२ अर्ब लगानी गरेको आरोप लगाएपछि यति बेला उनी प्रहरी हिरासतमा पुगेका छन् । सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण सामाजिक सञ्जाललाई बुझेर मात्र चलाउन सीआईबीले प्रयोगकर्तालाई आग्रह गरेको छ ।
यता झापाको शिवसताक्षी धामका महाराजलाई मार्ने एक व्यक्तिले धम्की दिएका छन् । अनन्त श्री विभूषित बाल सन्त मोहन शरण देवाचार्यजी महाराज र गोलोक गोवद्र्धन गौशालाका अध्यक्ष आचार्य श्री नन्दकिशोरजी महाराजको ज्यान मार्ने धम्की दिइएको हो । सामाजिक सञ्जालमा बालसन्त र नन्दकिशोरको ज्यान लिने धम्की नारायण सिग्देलले दिएका हुन् । उनले आफ्नो सामाजिक सञ्जालको पेजमा बाल सन्त र नन्दकिशोरलाई ज्यान मार्ने धम्की दिएका थिए ।
धम्की दिने ब्यक्तिको पहिचान भइसकेको प्रहरीले जनाएको छ । सवा करोड रुद्राक्ष जडित ५१ फिट अग्लो शिवलिङ्गमा लगाइएको चन्दनका विषयमा विवाद भएको बताइएको छ । यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले सामाजिक सञ्जालमा धम्की दिए लगत्तै महाराजजीले फोन गरेर जानकारी गराएको बताए । उनले यस विषयमा आफूहरु आपसी समझदारीमा विवाद टुङ्ग्याउने बताए पछि कानूनी प्रक्रिया अघि नबढाएको जनाइएको छ । सामाजिक सञ्जालमा धम्की दिने तथा चरित्र हत्या गर्नेहरु पछिल्लो समय बढ्दै गएकाले प्रहरीले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै सामाजिक सञ्जालको प्रयोग गरी प्रलोभनमा पारी ठगी गर्नेहरुको संख्या पनि उत्तिकै छ । ह्वाट्स एप, भाइबर, इमोमार्फत उपहार प¥यो भन्दै सोझासाझा व्यक्तिलाई ठग्ने गिरोह नै सक्रिय रहेको छ । साथै अनलाइनमार्फत सट्टेबाजी हुने गरेको बतााइएको छ ।
त्यस्तै सामाजिक सञ्जालमा यौनजन्य गतिविधि पनि मौलाउँदै गएको छ । चर्चित व्यक्तिहरुकै फेक एकाउन्ट बनाउनेदेखि डीपफेक बनाएर बद्नाम गर्नेसम्मका अपराध बढ्दो क्रममा देखिएको प्रहरीले जनाएको छ ।
केही समयअघि साइबर आक्रमणकारीहरूले करिब एक हप्तासम्म नेपालको राहदानी आवेदन प्रणालीमा प्रवेश गरेर सेवा अवरुद्ध पारेका थिए । नागरिकको व्यक्तिगत विवरण दुरुपयोग हुन सक्ने भन्दै केही दिन सेवा नै बन्द गरिएको थियो । सामाजिक सञ्जालको दुरुपयोगमा विद्युतीय कारोबार ऐन २०६३को दफा ४७ आकर्षित हुने कानूनविद्हरुको भनाइ छ । विद्युतीय स्वरूपमा गैरकानूनी कुरा प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।
सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरुका विषयमा मात्रै छुट्टै कानून नबन्दा विद्युतीय कारोबार ऐन अन्तरगत नै मुद्दा दर्ता गर्नुपर्ने बाध्यता रहेको बताइएको छ ।