राजनीति शक्ति प्राप्तिको माध्यम मात्र होइन, समाजसेवा गर्ने एक पवित्र साधन हो । जब राजनीति स्वच्छ विचार, नैतिक र आध्यात्मिक चिन्तनबाट निर्देशित हुन्छ, तब मात्र त्यो समाज कल्याणका लागि उपयोगी बन्न सक्छ ।
यस्तै सन्देश विभिन्न महान् चिन्तकहरूले दिएका छन्, जसमा चाणक्यका विचारहरू सार्वकालिक छन् । चाणक्य नीतिले स्पष्ट पार्छ कि राजनीति र आध्यात्मबीच कुनै विरोधाभाष छैन । यी परस्पर पूरक हुन् । राजनीतिज्ञहरू नैतिक मूल्यमा दृढ भए भने मात्र राजनीति सबल हुन्छ । आध्यात्मिक गुरु श्री श्री रविशंकर भन्नुहुन्छ– ‘विचारले नै मान्छेको चरित्र, कर्म, र जीवनको दिशा निर्देशित गर्दछ । जसरी बीजबाट वृक्ष उत्पन्न हुन्छ, त्यस्तै शुद्ध र सकारात्मक सोचले नै जीवनलाई दिव्य बनाउँछ ।’ राजनीति पनि यस्तै विचार र नैतिकताको आधारमा सञ्चालित हुनुपर्छ ।
यदि राजनीति लोभ, घृणा, र स्वार्थले भरिएको हुन्छ भने त्यसले समाजलाई विनाशतर्फ लैजान्छ । तर, जब राजनीतिज्ञहरू समाजसेवा, न्याय र सत्यतामा आधारित रहन्छन्, तब उनीहरूका निर्णयले दीर्घकालीन सकारात्मक प्रभाव पार्छ । श्री श्री रविशंकरको दर्शन अनुसार, राजनीतिमा धर्मको मिसावट आवश्यक छैन, तर राजनीतिज्ञहरूले धर्मको मूल सार अर्थात् सत्य, नैतिकता र परोपकारलाई आत्मसात गर्नुपर्छ ।
पूर्वीय राजनीतिक चिन्तनमा चाणक्य नीति एक महŒवपूर्ण मार्गदर्शक हो । चाणक्यले राजनीतिलाई केवल सत्ताको खेलको रूपमा होइन बरु समाज सुधार र सुशासनको माध्यमका रूपमा हेरेका छन् । उनी भन्छन्– कि राजनीति केवल शक्तिशाली हुने साधन होइन, बरु जनताको सेवा गर्ने मार्ग हो । उनले उल्लेख गरेका छन् कि यदि शासक लोभी, विलासी र अनैतिक छ भने राज्य कमजोर हुन्छ, अन्याय बढ्छ र समाज विखण्डनको दिशामा जान्छ । यसको ठीक विपरीत, जब शासकले आध्यात्मिक मूल्य–मान्यताहरू आत्मसात गर्छ, तब राज्य सुव्यवस्थित, समृद्ध र स्थिर रहन्छ ।
राजनीति र आध्यात्मबीचको सन्तुलन कायम गर्न सकियो भने मात्र समाज सुधार सम्भव हुन्छ । राजनीति स्वच्छ, नैतिक र परोपकारी भयो भने मात्रलोकतन्त्र पनि सशक्त हुन्छ । आजको राजनीतिलाई हेर्दा, धेरै स्थानमा नैतिक संकट देखिन्छ । भ्रष्टाचार, सत्ताको दुरुपयोग र असमानताले समाजमा निराशा र अन्याय बढाएको छ । यस्तो अवस्थामा, राजनीतिज्ञहरूले नैतिक, आत्मसंयमी र समाजसेवी बन्नु आवश्यक छ ।
आध्यात्मिक विचारहरूलाई हेर्दा स्पष्ट हुन्छ कि राजनीति केबल शक्ति प्राप्तिको माध्यम मात्र होइन । यो त समाज सुधार र लोककल्याणको मार्ग हो । जब राजनीतिज्ञहरूले नैतिकता, सत्य र परोपकारलाई आफ्नो जीवनको मूल मन्त्र बनाउँछन् । तब मात्र उनीहरू सफल नेतृत्वकर्ता बन्न सक्छन् । सच्चा समाजवादको स्थापनाका लागि पनि यो नै एक मात्र उपाय हो । राजनीति र आध्यात्म विरोधाभासी होइनन्, बरु समाज परिवर्तनका लागि परिपूरक तत्वहरू हुन् ।