पार्थ मण्डल
झापा,
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र फर्काउनेहरू धेरै छटपटाइरहेकोले आफ्नो काल आफैँ निम्त्याउन खोजेको बताएका छन्।
आइतबार बिहान नेपाल विद्यार्थी संघ झापाले भद्रपुरमा आयोजना गरेको दोस्रो जनआन्दोलनका शहीदहरू राजन गिरी र सुरज विश्वासको स्मृति सभामा बोल्दै सिटौलाले यस्तो बताएका हुन्।
‘राजा हुँदा दरबार वरिपरि बसेर गरेको मस्ती अहिले भएन। पानीको माछा बालुवा राखेको जस्तो छटपटाहट अहिले राजवादीहरूमा देखिएको छ। यो संविधानले राजा फर्काउँछ भन्ने कल्पना पनि तपाईँहरूले नगर्नुहोस्। आफ्नो काल आफै निम्त्याउन नखोज्नुहोस्,’ नेता सिटौलाले भने, ‘यही लोकतान्त्रिक गणतन्त्र व्यवस्थाभित्र बसेर जनताको हकअधिकार र प्रगति खोज्नुहोस्।’
ज्ञानेन्द्र शाह पूर्व राजा मात्र नभएर अन्तिम राजा पनि भएको उनले बताए। ज्ञानेन्द्रलाई प्रश्न गर्दै सिटौलाले भने, ‘तपाई उक्साउनेहरूको पछि नलाग्नुहोस्, उक्साउनेहरूले तपाईँलाई खाडलमा लागेर फाल्ने छन्।’
लोकतान्त्रिक गणतन्त्रको व्यवस्था भएको देशमा भत्ता, सत्ता, मन्त्रीलगायत सारा पद लिएका व्यक्ति पनि राजा चाहियो भनेर ढलेको दरबारको चाकडी गर्न पछि नहटेको उनले बताए।
राजाहरूको पालामा अवसर नपाएका समुदायका व्यक्ति पनि अहिले देशको ठूलो ठाउँमा पुग्न सफल भएको उनले बताए।