इलाममा २४ जना मेलमिलापकर्ता दीक्षित

0
72

विमल दहाल, इलाम ।

सर्वोच्च अदालत मेलमिलाप परिषद् र मानव अधिकार मञ्च नेपालको संयुक्त आयोजना, इलाम जिल्लाका स्थानीय तहहरुसँगको सहकार्यमा मेलमिलाप सम्बन्धि ८ दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम इलाममा बुधवार सम्पन्न भएको छ।

समापन तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई प्रमुख अतिथि उच्च अदालत बिराटनगर इलाम इजलासका मूख्य भइ काम गर्नुहुने माननीय न्यायाधीश विपुल न्यौपानेले परम्परागत मेलमिलाप पद्धतिलाई परिमार्जित गर्दै तथा रोल र टेक्निक प्रयोग गरी मेलमिलाप गर्ने पद्धति रहेकाले यो बिधि उपयोगी रहेको जानकारी दिनुभयो। हाल अदालतमा चार प्रतिशत भन्दा वढी मुद्दा मेलमिलापबाट समाधान हुन नसकेको बताउनुहुँदै आगामी दिनमा वृद्धि हुनेमा विश्वस्त रहेको बताउनुभयो। न्यायाधीश न्यौपानीले कोशी प्रदेशमा रहेका १४ जिल्ला अदालत र उच्च गरी १८ वटा अदालतमा दुई सय मेलमिलापकर्ता सुचिकृत रहेको बताउनुभयो ।

इलाम जिल्ला अदालतका माननीय न्यायाधीश रोशन गजुरेलले पारिवारीक, छिमेकी र समाजमा हुने विवादलाई समाधान गर्ने कार्यमा मेलमिलाप कार्यले भूमिका खेल्ने बताउनुहुदै अदालत रेकर्ड मेलमिलाप उपलब्धिमूलक हुन नसकेको दृष्टान्त प्रस्तुत गर्दै जिल्ला मेलमिलाप केन्द्र स्थापना गरी कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रशिक्षक चुपबहादुर थापाले फाटेका मनहरू सिलाउने डाक्टरका रूपमा २४ जना मेलमिलापकर्ता दीक्षित भएकोमा शुभकामना दिनु भएको थियो। मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेवीको अध्यक्षता र मेलमिलाप परिषद् काठमाडौँका शाखा अधिकृत सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रशिक्षक देवेन्द्र विश्वकर्मा सहभागीको तर्फबाट माई नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अमृत बहादुर मोक्तान, अधिकारकर्मी गायत्री थेगिम लगायतले मन्तव्य राख्नुभएको थियो।

मेलमिलाप परिषद् काठमाण्डौका सदस्य तथा प्रमुख प्रशिक्षक चुप बहादुर थापा, मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वाकर्मा र याम माबोहाङले प्रशिक्षण गर्नुभएको तालिम समापन कार्यक्रममा वरिष्ठ अधिवक्ता जेवी लुङ्गेली, उच्च अदालत बिराटनगर इलाम इजलासका रजिस्ट्रार जगदिश्व भट्टराई, इलाम जिल्ला अदालतका श्रेस्तेदार इन्द्रकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सर्वोच्च अदालतका माननीय न्यायाधीश तथा मेलमिलाप परिषद्का अध्यक्ष कुमार रेग्मीले उद्घाटन गर्नुभएको तालिम वैशाख ३ देखी १० गतेसम्म सञ्चालन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here