कृषि विकास शाखा अर्जुनधाराद्वारा ९० थान स्यालो ट्युववेल वितरण

0
45

अर्जुनधारा, कृषि क्षेत्रमा आवश्यक सिञ्चाईं सुविधालाई सहज बनाउने उद्देश्यले कृषि विकास शाखा अर्जुनधाराले कृषकहरुलाई स्यालो ट्युववेल वितरण गरेको छ ।
शाखाको चालु आर्थिक वर्ष २०८१÷०८२को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अनुसार ९० थान स्यालो ट्युववेल वितरण गरिएको शाखाकी प्रमुख एञ्जिला बेडारीले जानकारी दिइन् । उनका अनुसार कार्यक्रमको लागि जम्मा १४० वटा निवेदन परेकोमा प्राथमिकताको आधारमा वडा कार्यालयहरुको अनुगमन र शाखाका प्राविधिकहरुको मूल्याङ्कनबाट ९० जना कृषक छनौट गरि उक्त सामग्रीहरु वितरण गरिएको हो ।
कृषकहरुलाई वितरण गरिएको सामग्रीहरुमा दुई एचपीको मोटर एक थान, चार इञ्चको पीभीसी पाइप ५० फिटको एक थान, जीआई पाईप एक थान, २२ केजी बराबरको ह्यान्ड पम्प एक थान, १० फिटको एचपीभी फिल्टर एक थान रहेको छ । शाखाकोतर्फबाट ४० हजार बराबरको सामग्रीहरु निःशुल्क प्राप्त गरेको कृषकले जडान शुल्क भने आफै व्योहोर्नु पर्ने बताइएको छ ।
अर्जुनधारा नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीया “अस्मिता”को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाललगायतले उक्त सामग्री कृषकहरुलाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन शाखाका प्राविधिक सन्तोष लामिछानेले गरेका थिए ।
वितरण गरिएको स्यालो ट्युवेलबाट चार सय ५० विगाहा जमिनमा सिञ्चाईं सुविधा विस्तार हुने शाखाको तथ्याङ्क रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here