योगेन्द्र योगी
विराटनगर,
धनकुटा र सुनसरीबाट लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका-५ स्थितबाट ना.५ख ६१५७ नम्वरको ट्रकमा लोड भएको अवस्थामा ३८ बोरा (९ सय ४६ किलोग्राम) गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भए संगै ट्रक र ओसार पसारमा संलग्न रहेका चौविसे गाउँपालिका-५ का मनोज लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए ।
यसैगरी बिशेष सुचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी गस्ती टोलीले बर्जु गाँउपालिका-३ स्थितबाट प्र.१-०२-००२ च ५१२६ नम्वरको पिकअप गाडीमा ६ बोरा (१ सय ९९ किलो ३ ग्राम) गाँजा फेला पारे संगै ओसार पसारमा संलग्न चालक धनकुटा नगरपालिका-९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कबिराज राईलाई पक्राउ गरेको प्रवक्ता दाहालले बताए।
गाँजा बोकेको २ वटा सवारी साधन सहित पक्राउ परेका उनीहरुको बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले झापा र मोरङको विभिन्न स्थानबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित प्रहरीले ७ जनलाई पक्राउ गरेको छ ।
बिराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगर इलाका प्रहरी रानीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बिराटनगर-१२ का ४७ वर्षीय अनिश क्षेत्रीलाई ब्राउन सुगर १० ग्राम ५० मिलिग्राम, इटहरी उप-.महानगरपालिका-५ का ३४ वर्षीय दिपेन्द्र राईलाई ५ ग्राम ४७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
सोही दिन इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ बिराटनगर-८ का २० वर्षीय बिष्णु सहनी, मोरङ जहदा-३ का १८ वर्षीय रोहन विश्वकर्मा, पथरिशनिश्चरे-८ का २५ वर्षीय विक्रम विश्वकर्मालाई प्रतिबन्धित औषधी- स्कुफ डीएक्स -७ थान बोतल, चरिस्पस – ६ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
त्यसैगरी झापाको वडा प्रहरी कार्यालय भद्रपुरले पाँचथर फिदिम नगरपालिका-२ का २२ वर्षीय मिलन परियार र फाल्गुनन्द गाँउपालिका-३ का २४ वर्षीय सन्त बहादुर लामालाई २ ग्राम ५ सय ७० मिलिग्राम ब्राउन सुगर र औषधी नाईट्राजापाम-९ टयाब्लेट सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाको हिरासत कक्षमा रहेको आगुऔषध मुद्धाको प्रतिबादी धर्मदेबी नगरपालिका-४ का ५९ बर्षीय गोपाल अधिकारीको घरमा लागुऔषध गाँजा लुकाईछिपाई राखेको छ भन्ने खुल्न आएसगै खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा निजको बाख्राको खोरमा लुकाई छिपाई राखेको तयारी गाँजा ३ किलो ११४ ग्राम फेला बरामद गरेको गरेको जनाएको छ।
कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रहरीले प्रत्येक दिन दर्जन भन्दा बढी लागुऔषध कारोबारीलाई पक्राउ गरिरहेको भएपनि लागुऔषध सेवन तथा ओसारपसार गर्नेको संख्यामा भने कमी आएको छैन। बरु हरेक दिन ओसारपसार गर्नेको संख्या बढिरहेको छ। कोशी प्रहरीले लागुऔषध कारोबारी गर्ने माथि कडाई गरेपछि पछिल्लो समय उनीहरुले बिरामी बोक्ने एम्बुलेन्स,पिकअप गाडी तथा ट्रकलाई लागुऔषध बोक्ने साधनको रुपमा प्रयोग गर्ने क्रम बढेको छ।